भारतीय वेबसिरिज ‘पाताललोक’मा नेपालीको अपमान- किन हुन्छ सधैँ यस्तो?

निकै चर्चामा रहेको अनुष्का शर्मा निर्मित नयाँ वेब सिरिज “पाताल लोक” मा प्रहरीले गिरफ्तार गरेका अभियुक्तहरूमध्ये महिलालाई केरकार गर्ने क्रममा महिला प्रहरीले नै “साली नेपाली रण्डी” भन्ने अपशब्द प्रयोग गर्छिन्। प्रस्तुत शब्दावलीले नेपाल र विश्वभर बस्ने नेपाली भाषीको अपमान भयो भनेर अनुश्का शर्मा विरुद्ध अरुणाचल प्रदेशमा गोर्खा युथ वालफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको छ। दिल्लीमा पनि उन्का विरुद्ध साइबर क्राइम शाखामा निवेदन परेको छ।

यसले नेपालीहरूको आत्मसम्मानमा गम्भीर ठेस पुर्‍याएको छ। यो गालीमा नेपाली शब्द जोडिएकाले सबैको ध्यान केन्द्रित हुनु स्वभाविकै हो। अझ भारतले नेपालको सिमाना अतिक्रमण गरेर लिपुलेक हुँदै मानसरोवर पुग्ने बाटो एकलौटी उद्घाटन गरेको समय हो यो। भारतले नेपालको सिमाना अतिक्रमण गरेर राष्ट्रियता सङ्कटमा परेको बेला यस्ता घटनाले अनावश्यक विवाद र उत्तेजना सिर्जना गर्न सक्छ।

के यो गाली सामान्य निर्देशकीय कमजोरी हो या नियतबस प्रस्तुत गरिएको हो ? यो प्रश्नको सान्दर्भिकता समयले पुष्टि गर्नेछ तर हिन्दी सिनेमामा नेपाल र नेपालीलाई अपमान र गलत चित्रण गरिएको संवाद र दृश्य भने यो पहिलो हैन।

भारतका कलाकार र निर्देशकहरूको अल्पज्ञानका कारण नेपालमा कहिले आन्दोलन त कहिले चर्का विवाद भइरहन्छन्। भारतीय चर्चित अभिनेता ‘धर्मेन्द्रले १९७० मा नेपाल भारतकै एक हिस्सा हो’ भनी नेपाल विरुद्ध दिएको अभिव्यक्तिले उनको चलचित्रलाई नेपालमा प्रतिबन्ध लगाइयो। अर्की अभिनेत्री माधुरी दीक्षितलाई नेपाल एक सम्प्रभुता सम्पन्न, स्वतन्त्र राष्ट्र हो भन्ने पनि थाहा थिएन। नेपालमै सन १९९८ मा एक कार्यक्रमबिच माधुरीले नेपाल भारतकै एक हिस्सा हो भने पछि चर्को विवादमा फसिन र माफ माग्नु पर्यो।

पछिल्लो समय भारतका चर्चित हास्य कलाकार कपिल शर्माले अस्ट्रेलियाको एक कार्यक्रमबिच सगरमाथा भारतको भूमिमा पर्छ भन्न भ्याए। कपिल शर्मा एउटा कार्यक्रमको सिलसिलामा काठमाडौँ आउँदा नेपाली दर्शकको चर्को विरोधको सामना गर्नु पर्यो र आफ्नो गल्ती सच्याउदै माफी मागेर नेपाल र नेपाली प्रति सम्मान प्रकट गरे। भारतीय सिनेकर्मीका यस्ता अरू दर्जन भन्दा बढी घटना छन् जसले नेपाल र नेपालीको अपमान र गलत चित्रण गरेको छ।

एक पटक सन २००० को स्मरण गरौँ। एउटा टेलिभिजन अन्तरवार्तामा भारतीय अभिनेता ऋतिक रोशनले ‘म नेपाल र नेपालीलाई घृणा गर्छु’ भन्ने अभिव्यक्ति दिए। परिणाम स्वरूप काठमाडौँका सडकमा विरोधको आगो बल्यो। अवस्था निमन्त्रण बाहिर गयो जसले ४ जनाको ज्यान लियो। पछि ऋतिक रोशनले नेपाल प्रतिको धारणा सच्याएपछि आन्दोलन त रोकियो तर नेपाल र नेपालीको मनमा एउटा नमेटिने दाग छाडेर गयो। नेपालमा त्यसपछि एउटा मान्यता स्थापित भयो जुन नेपाली माझ पहिले देखिनै प्रचलित थियो। नेपालीलाई भारतको फिल्म मन पर्छ, भारतको क्रिकेट मन पर्छ, भारतका उत्पादनहरू बलिया र टिकाउ हुन्छन् भारतका रमणीय ठाउँहरू मन पर्छ तर भारतीयहरू बिलकुलै मन पर्दैन।

सन् २००९ मा बनेको अक्षय कुमार र दीपिका अभिनीत चलचित्र ‘चाँदनी चोक टु चाइना’लाई बुद्धको जन्म स्थल लुम्बिनी भारतमा पर्छ भनेर चित्रण गरे पछि नेपालमा प्रतिबन्ध लगाइएको थियो। डेभिड धवन निर्देशित, अनिल कपूर र रबिना टन्डन अभिनीत चलचित्र ‘घर वाली बहार वाली’ (१९९८) ले नेपालको गलत संकृती र परम्पराको प्रस्तुति गरेका कारण नेपालमा रहेको भारतीय दूतावास अगाडि नारा जुलुस भएको थियो।

यो प्रवृत्तिको लामो इतिहास केलाउँदै जाँदा भारतीय बहुचर्चित अभिनेता दिलीप कुमार पनि अछुता छैनन्। १९८९ मा सुभाष घई निर्देशित चलचित्र ‘कर्मा’ मा देखाइको एउटा दृश्यमा पुरै नेपाल भारतको एउटा हिस्सा रहेको पाइन्छ। नेपालमा भारतीय चलचित्रहरू अत्यधिक मन पराइन्छन्। अझ भनौ याहाँ नेपाली कलाकारहरू भन्दा भारतीय कलाकारहरू बढी चर्चित छन् र रुचाइन्छन् यद्यपी भारतीय कलाकार र निर्देशकबाट पटक पटक हिन्दी सिनेमामा हुने नेपाल र नेपालीको अपमान र आत्मसम्मानमा पुग्ने चोटलाई संयोग मात्र मान्न सकिँदैन। भारतले असल छिमेकीको मर्यादा पालन गर्न चुकेको र हेपाहा चरित्र प्रस्तुत गरेको भनी विश्लेषण गर्दा अत्युक्ति हुँदैन।

हिन्दी सिनेमामा नेपाल र नेपालीको गलत चित्रणको क्षुद्र रूप नेपालीलाई गोर्खा र बहादुरको रूपमा प्रस्तुत गर्नु पनि हो। थुप्रै सिनेमाले नेपाली भनेकै ढोकामा बस्ने द्वारपाल हो भन्ने मानसिकताबाट अभिप्रेरित भएर चित्रण गरेको पाइन्छ।

हिन्दी सिनेमाले नेपालको सन्दर्भमा प्रस्तुत गर्ने क्षुद्र विश्लेषणले नेपालको छवि धमिल्याउने काम त गरेको छ नै, दुई देशबिचको बिग्रँदो सम्बन्धलाई झन् कमजोर बनाउँदै लगेको छ। भारत यो क्षेत्रको धनी र शक्तिशाली राष्ट्र हो। उसलाइ यो कुराको दम्भ छ। लामो समय ब्रिटिस समराज्यको दासत्व भोगेको भारतका नागरिकले त्यो पिडा अरू कमजोर राष्ट्रलाई शोषण गरेर प्रतिबिम्बित गरिरहेका छन्।

सयौँ टि भि सिरियल देखि सिनेमासम्मले अप्ठ्यारोसँग हिन्दी बोल्ने नेपाली पात्रहरू प्रस्तुत गर्छन् जो दमीत र अपमानित हुन्छन्। मेघना गुल्जार निर्देशित २०१५ को चलचित्र ‘तलवार’ (जुन नोएडामा भएको बहुचर्चित हेमराज – आरुषी हत्या काण्डमा आधारित छ) मा नेपाली मूलको घरेलु कामदार हेमराजलाई हत्यारा हुन सक्ने अनुमानित चित्रण गरिएको छ जबकि उक्त रहस्यमय घटनाको यथार्थ फरक छ। संगिथ सिभन निर्देशित चलचित्र ‘आफ्ना सपना मनि मनि’ मा मूर्ख र बहादुर नेपालीको रूपमा चंकि पाण्डेलाई प्रस्तुत गरिएको छ जो खुकुरी बोकेर आफ्नो पैसा नतिर्ने मान्छेलाई खोजी रहन्छ।

नेपाल चित्रणको अर्को विकृत रूप १९७१ मा देव आनन्द द्वारा लिखित, निर्देशित र अभिनीत चलचित्र ‘हरे कृष्ण हरे राम’ मा देख्न सकिन्छ। यस चलचित्रमा नेपालको हिप्पी इमेज जोडदार रूपमा प्रस्तुत गरिएको छ। नेपालीहरू मोज मस्ती मन पराउने, गाँजा, रक्सी र लागु पदार्थ सेवन गर्ने, दुनियाँको परवाह नगरी आफैमा रमाउने लहडे स्वभावका हुन्छन् भन्ने असामाजिक पहिचान स्थापित गर्ने प्रयास गरिएको छ। हरे कृष्ण हरे रामका अधिकांश दृश्यहरू काठमाडौँको वसन्तपुरमा छायाङ्कन गरिएका थिए। राजा महेन्द्रको समेत साथ पाएको चलचित्रले नेपालको छवि धमिलो बनाइपछि व्यापक आलोचनाको सामना गर्नु परेको थियो।

हिन्दी सिनेमामा नेपालको प्रस्तुतीकरणको विषयमा अनेकन् भाषिक अपमान र विरोधाभासका दृष्टान्त केलाउन सकिन्छ। माथि उल्लेखित अनुष्का शर्मा निर्मित वेब सिरिजको भाषिक त्रुटि यसैको उदाहरण हो। २०१७ मा राहुल बोस द्वारा निर्देशित “पूर्णा” भन्ने सिनेमामा नेपालका हिमालहरू जोखिम पूर्ण छन् भन्ने भाषिक त्रुटिले लाखौँ दर्शक माझ गलत सन्देश प्रवाह भई समग्र नेपालको हिमाली पर्यटनमा असर गर्न सक्छ भन्ने हेक्का राख्न सकेन। २०१५ मा बनेको नीरज धेवान निर्देशित चलचित्र “मसान” मा जातीय चक्रव्यूहमा फसेको नायक र आधुनिक समाजको प्रतिनिधित्व गर्ने नायिकालाई प्रहरीले एक होटेलमा यौन सम्बन्ध राख्दै गर्दा रेड गरी पक्रिए पछि नायिकालाई अपमान गर्दै “रण्डी नेपाल बाट अएकि होस?’ भनी प्रश्न गर्छ। यसले समग्र नेपाललाई यौन कर्मी उत्पादन गर्ने र यौन व्यापारको हबको रूपमा चित्रण गर्ने प्रयत्न गरेको छ।

हिन्दी सिनेमामाले नेपालको सन्दर्भमा प्रस्तुत गर्ने क्षुद्र विश्लेषणले नेपालको छवि धमिलाउने काम त गरेको छ नै दुई देश बिचको बिग्रँदो सम्बन्धलाई झन् कमजोर बनाउँदै लगेको छ। भारत यो क्षेत्रको धनी र शक्तिशाली राष्ट्र हो। उसलाइ यो कुराको दम्भ छ। लामो समय ब्रिटिस समराज्यको दासत्व भोगेको भारतका नागरिकले त्यो पिडा अरू कमजोर राष्ट्र लाई शोषण गरेर प्रतिबिम्बित गरिरहेका छन्।

यो राजनैतिक पिडा बिस्तारै भारतको संस्कार बन्दै गएको छ। पाकिस्तान, नेपाल, बङ्गलादेश, चिन, मालदिभ्स, श्रीलङ्का र अफगानिस्तान जस्ता यो क्षेत्रका लगभग सबै देशसँग भारतको तिक्ततापूर्ण सम्बन्ध छ। भारतीय चलचित्रले यस क्षेत्रका हरेक जसो राष्ट्रको समप्रभूता र आत्मसम्मानलाई चोट पुर्या्एको छ। उसले आफ्नो क्षुद्र व्यवहारका कारण बलिउडको विशाल बजारलाई सङ्कुचित गर्दै लगेको छ। यस्तो दुर्व्यवहारको जवाफ विवादमा उत्रिएर वा अफुलाई नोक्सानी पुर्याएर दिन जरुरी छैन तर चुपचाप सहनु पर्छ भन्ने पनि हैन। यस विषयमा सरोकार बालाहरूले भारतका सिनेकर्मीहरूसँग टेबलमा बसेर बौद्धिक चर्चा सुरु गर्न चाहिँ ढिला भइसकेको छ।

यो विषयमा सार्क राष्ट्रहरूसँग सामूहिक संवाद गरी सिनेमाले ठेस पुर्यााउने आत्मसम्मानको रक्षा गर्न साझा धारणा बनाउन सकिन्छ। अनुष्का शर्माको “पाताल लोक” राम्रो सिरिज होला तर हरेक नेपालीले कमसेकम आजको दिन नेपाली चेलीहरूको आत्मसम्मान र अस्मिताको रक्षार्थ विरोधको आवाज बुलन्द रूपमा उठाउनु पर्छ ता कि यस्ता गल्ती फेरि नदोहोरिउन्।

(पोखरा विश्वविद्यालयका अंग्रेजी साहित्यमा एमफिल गरेका उप्रेती नेपाल फिल्म क्याम्पसका प्रिन्सिपल हुन्।)

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्