विराटनगर महानगरपालिकाभित्रका वित्तिय संस्थाहरु दैनिक ४ घण्टा खुल्‍ने

मोरङ-विराटनगर महानगरपालिकाभित्र वित्तिय संस्थाहरु पुनः सञ्चालनमा आउने सहमति भएको छ।

लकडाउनका कारण वित्तिय संस्थाहरु समेत फरकदिन गरि सञ्चालनमा आउदै गरेकोमा महानगरको पहलमा ४ घण्टा दैनिक सञ्चालनमा आउने भएको हो।

विहीबार महानगर, वित्तिय संस्था पदाधिकारीबीच भएको छलफलका क्रममा सो निर्णय भएको महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए।

लकडाउनका कारण आर्थिक क्षेत्रमा पर्ने समस्या समाधानका लागि विकल्पसहित उचित व्‍यवस्थापन गर्न सहमतिमा खुला गरिने भएको महानगर प्रमुख पराजुलीले बताए। सहमति अनुसार महानगरभित्र रहेका वित्तिय संस्थाहरु दैनिक विहान १० देखि २ बजे सम्म सञ्चालनमा आउने भएका छन्।

यसक्रममा सेवा प्रवाह, तथा व्यवस्थापनको जिम्मा नेपाल राष्ट्र बैंक, विराटनगर प्रमुख रोशन सिग्देल, बैंकर्स एशोसिएसन विराटनगर संयोजक निश्चल अधिकारी र महानगर विपद् ब्यवस्थापन सम्पर्क ब्यक्ति राजेन्द्र प्रधानलाई दिइएको बताइएको छ।

समितिले धेरैं बैंक तथा वित्तिय संस्था एकैक्षेत्रमा रहेकोले आलोपालो प्रणली प्रयोग गर्ने, कोभिड १९ बाट जोगिन न्यूनयम उपायसंगै सामाजिक दुरी कायम राख्ने गरि बैंकहरु सञ्चालनमा आउने जनाएको छ।

सो समितिले वित्तिय संस्था खुल्ने समय र व्‍यवस्थापनको तालिका बनाउने छ। महानगरभित्र २७ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स कम्पनी र १० वटा विकास बैंकका शाखा सञ्चालनमा छन्।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्