एक बहुरुपी ठग: कहिले डीएसपी बन्थे त कहिले पीए बनेर कैदी छुटाउन सीडिओ र कारागारलाई दबाब दिन्थे

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता महत्वपूर्ण पदमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका-३ बालाजुका ४५ वर्षीय राजकुमार चापागाईले पीडितमध्ये एक जनालाई खरिदार पदको नक्कली परिचय पत्रसमेत दिएको महाशाखाले दावी गरेको छ।

उनले दुई व्यक्तिबाट एक लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ। अनुसन्धानमा यसअघि उनी दुई व्यक्तिलाई ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा नख्खु कारागारमा चार वर्ष कैद बसेको खुलेको छ।

विभिन्न समयमा उनले आफूलाई विभिन्न उच्चपदस्थ अधिकारीहरुको पिए हुँ भनि कारागार तथा जिल्ला प्रशासन कार्यालयहरुमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिने गरेको पनि प्रहरीले दावी गरेको छ।

आफूलाई प्रहरीको उच्च अधिकृत हुँ भनी विभिन्न व्यक्तिहरुलाई धम्क्याउने गरेको, खोटाङको ऐसेलुखर्क- बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटक-पटक गरी दुई लाख रुपैयाँ लिएको, आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने गरेको र  विभिन्न व्यक्तिहरुसँग सवारी चालक अनुमती पत्र बनाइदिन्छु भनी रकम ठग्ने गरेको पनि चापागाईमाथि आरोप छ।

प्रहरीका अनुसार उनी जग्गासम्बन्धी कारोबार पनि गर्छन्।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्