दाङमा पीसीआर परीक्षण सुस्त हुँदा भारतबाट आएकाहरुको व्यवस्थापनमा कठिनाइ

फाइल तस्बिर

दाङ– कोरोना परीक्षणका लागी संकलन गरिएका नमुना जाँचमा ढिलाइ भएको छ। तीन दिनअघि संकलन गरिएको पिसिआर नमुनाको रिपोर्ट आउन नसक्दा समस्या थपिएको छ।

भारतबाट मानिसहरु धमाधम आइरहे पनि परीक्षण निकै सुस्त हुँदा मानिसहरुको व्यवस्थापन गर्न कठिनाइ भएको छ।

‘क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरेर पठाइएको हो। अझै रिपोर्ट आएको छैन’, लमही क्वारेन्टाइनमा खटिएकामध्ये एक स्वास्थ्यकर्मीले भने, ‘मानिसहरु आउने क्रम बढेको छ। तर नमुना संकलन र जाँच गर्ने क्रम ढिलाई हुँदा मानिसको व्यवस्थापन गर्न चुनौती थपिएको छ।’

दाङ गढवाका दुई जना र दाङ घर भएपनि हाल काठमाडौँ बस्दै आएका दुई जना गरी चार जनामा कोरोना पोजेटिभ देखिएपपछि परीक्षणको दायरा बढाउनुपर्ने भएपनि जाँच प्रकृयामा ढिलाई भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिस्टार कैलाशप्रसाद देवले भने कोरोना जाँच भइरहेको र रिपोर्टहरु सार्वजनिक गर्ने कार्य भइरहेको बताए। ‘ढिलाइ भएको छैन। नेपालगञ्जबाट पनि नमुना आएको छ’, उनले भने, ‘जाँच सकियो भने सार्वजनिक हुन्छ।’

यसैबीच बाँकेबाट २ सय २३ नमुना परीक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। बिहीबार बाँकेबाट २ सय २३ नमुना परीक्षणको लागि दाङ ल्याइएको हो।

बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालमा चाप बढिरहेको तथा दाङको प्रतिष्ठानमा चाप कम रहेको भन्दै छिटो सेवाको लागि दाङ पठाइएको जानकारी दिए।

नेपालगञ्जको भेरी अस्पतालमा पनि पिसिआर विधिवाट परीक्षण हुँदै आएको छ। भेरीमा बर्दिया र बाँकेको गरी बिहीबारसम्म ३ सय जति नमुना परीक्षण गर्न बाँकी रहेको श्रेष्ठले जानकारी दिए।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्