गौरिफन्टा र गड्डाचौकी नाकाबाट एकै दिनमा दुई हजारभन्दा बढी नेपालीको उद्दार

धनगढी-भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट बुधबार एकै दिनमा दुई हजार भन्दा बढी नेपालीको उद्दार गरिएको छ। उद्दार कार्य अहिले पनि जारी राखिएको छ।

कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा गौरिफन्टा नाका र जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरको समन्वयमा गड्डाचौकी नाकाबाट उद्दारको काम भइरहेको हो।

गौरीफन्टा नाकाबाट ६ बजेसम्म एक हजार पाँच सय ३७ जनालाई भित्र्याईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार उद्दारको क्रम जारी रहेको छ।

‘भारतका विभिन्न क्षेत्रबाट ३४ वटा गाडीमा नेपालीहरु नाकासम्म पुगेका थिए। उनीहरुको र्‍यापिड टेस्ट गर्दै भित्र्याउने काम भईरहेको उनले बताए ।
यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो।

बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा आज भने सीमानाकामै र्‍यापिड टेस्ट भईरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै र्‍यापिड टेस्ट गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यसैगरी कञ्‍चनपुरको गड्डाचौकी नाकाबाट बिहीबार मात्र ५ सय भन्दा बढीको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरले जनाएको छ। अझै उद्दार कार्य जारी रहेको बताइएको छ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्