सुदूरपश्‍चिम प्रदेश सभाको छैठौं अधिवेशन सञ्‍चालनको तयारी

धनगढी-सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशन सञ्‍चालनको तयारी अघि बढेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण अनिश्चिततामा परेको छैठौ अधिवेशन यहि जेठ १३ गतेदेखि सञ्‍चालन गरिने भएको छ।

प्रदेश सभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्डहरु प्रदेश सभा सचिवालयले तयारी गरिरहेको जनाएको छ। प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रदेशको बजेट ल्याउन पूर्वबजेट, बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रमलगायतका एजेण्डाहरू छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर बैंठक सञ्चालन गर्ने तयारी भइरहेको बताए।

प्रदेशसभा बैंठक संचालनका गर्नुअघि प्रदेशसभा सदस्यहरूको स्वास्थ्य परीक्षण, सवारीसधानमा डिसइन्फेक्टेन्ट छर्किने, प्रदेशसभा हलबाहिर सेनिटाइजरको व्यवस्थापन गर्ने, बैठकमा सहभागी हुने प्रदेश सभा सदस्यका लागि मास्कको व्यवस्था गर्ने लगायतको काम अघि बढाइने प्रदेश सभा सचिवालयले जनाएको छ।

सचिवालयले बिहिबार सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको स्वाव संकलन गरेको छ। सचिवालयका सचिव रामसिंह धामीले भने –‘बिहिबार कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका एक सय १२ जनाको स्वाव संकलन गरिएको छ।’

उनले बिहिबार संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट शुक्रबार आउने बताए। उनले भने –‘बिहिबार हामीले कुनै पनि प्रदेश सभा सदस्य, मन्त्री, मुख्यमन्त्रीको स्वाव सकलन गरेका छैनौं,शुक्रबार प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य र उनीहरुसंग खटिएका सुरक्षाकर्मीहरुको स्वाव संकलन गरिने छ।

उनले भने –‘हामीलाई दुई सय ५० किट उपलब्ध गराइएको छ,त्यही अनुसार स्वाब संकलन गरिने छ। उनले मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्यसंग आवद्ध सुरक्षाकर्मीको स्वाव संकलन गरिने भएपनि उनीहरुसंगै रहेका स्वकिय सचिवहरुको भने स्वाव संकलन नगरिने बताए।

प्रदेश सभा संचालनका लागि वैठक कक्षमा भौतिक दुरी कायम गरिएको उनले बताए।उनले भने –‘वैठक कक्षमा अहिले छ फिटका पाँच वटा टेवल थप गरिएको छ।’

सचिवालयका सचिव रामसिंह धामीले बैठक संचालनका लागि मास्क, स्यानेटाइजर, ग्लोभ्स लगायतको व्यवस्था गरिएको जानकारी दिए। यसअघि सुदूरपश्चिम प्रदेश सभाको पाँच बैठक फागुन ७ गते सम्पन्न भएको थियो। प्रदेश सभाको पाँच अधिवेशनका क्रममा १२ पटक बैठक सञ्चालन भएको थियो।

फागुन ११ गतेपछि प्रदेश सभाको बैठक सञ्चालन नहु“दा सामाजिक विकास मन्त्रालयले टेबुल गरेको प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एफ.एम, रेडियो तथा टेलिभिजन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पाँचं अधिवेशनबाट पास हुन सकेको थिएन।

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपालीका कांग्रेसले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने सम्बन्धमा प्रदेश सभा सचिवालयमा माघ २२ गते दर्ता गराएको संकल्प प्रस्ताव र महालेखा प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनको समेत प्रदेश सभाको पाँचौ अधिवेशनमा स्थान पाएको थिएन।

अबका प्रदेश सभाबाट हिउदे अधिवेशनले बाकी रहेका विधेयकहरू पास गर्नुका साथै संकल्प प्रस्ताव र प्रतिवेदनहरूमा समेत छलफल हुने आशा गरिएको छ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्