भारतबाट नेपाल भित्रिनेको लर्को, क्वारेन्टाइन बढाउने र पीसीआर जाँचमा चुनौती

नेपालगञ्ज – बाँकेमा क्वारेन्टाइन र त्यसमा बस्नेको संख्या बढिरहेको छ। एकै दिन पाँच वटा क्वारेन्टाइन बढ्दा त्यसमा बस्ने तीन सयबढी थपिएका छन्। भारतबाट आउनेको लर्को लाग्दा क्वारेन्टाइन बढाउनु पर्ने बाध्यता भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले क्वारेन्टाइनमा बस्ने एक हजार चार सय ५६ जना पुगेको जानकारी दिए। बुधबारको तथ्यांकमा क्वारेन्टाइनमा एक हजार एक सय ५४ जना थिए।

‘भारतबाट आउनेको संख्या बढ्दा क्वारेन्टाइन बढाउनु परेको छ’, फोकलपर्सन श्रेष्ठले भने, ‘अहिले जिल्लामा ४९ वटा क्वारेन्टाइन पुगेको छ।’

नेपालगञ्ज नाकाबाट बुधबार राती र बिहीबार बिहान गरी दुई हजार सात सय ३८ जना थपिएका छन्। त्यसमा बाँकेका चार सय ५४ जना बढी छन्। सबै जना कुन कुन क्वारेन्टाइनमा राखिएका छन्। पूर्ण विवरण आइपुगेको छैन।’

स्थानीय प्रशासनले नाकाबाट भित्र्याउन रोकिसकेको छ। नाका सील भएको केहीबेरमै नाकामा सय बढी नेपाली आइपुगेका छन्। उनीहरु रुपैडिहामै रोकिएका छन्। भारतबाट अझै ठूलो संख्यामा नेपाली भित्रिने आकलन गरिएको छ। भित्रिसकेकाहरुको पीसीआर जाँच अर्को चुनौती रहेको छ।

पहिला नै आएर क्वारेन्टाइनमा बसेका सबैको जाँच गरिसकिएको छैन।अरु थपिरहेका छन्।भेरी अस्पताल, नेपालगञ्जमा पीसीआर जाँचको चाप बढेकाले भ्याइ नभ्याइ भएको छ। भेरीबाट पाँच सय बढीको रिपोर्ट आउन बाँकी छ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्