पिसिआर रिपोर्ट आउन किन पाँच दिन?

केस एक

मंगलबार मैतीदेवीमा बसोबास गरिरहेका अस्थाई घर रामेछाप भएका २८ वर्षका युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भयो।

लकडाउन खुकुलो होला भन्ने आशले जुम्ल्याहा दाजुभाइ वैशाख ३० गते रामेछापस्थित घरबाट काठमाडौँ फर्किएका थिए। घरबेटीले उपत्यका बाहिरबाट आएकाले परीक्षण गर्न भनेपछि दाजुभाइले जेठ २ गते टेकुस्थित अस्पतालमा पीसीआर परीक्षणका लागि थ्रोट स्वाब दिएका थिए। नमुना संकलन गरिएको पाँच दिनसम्म उनीहरुलाई कुनै खबर आएन। पाँच दिनसम्म पनि कुनै खबर नआएपछि रिपोर्ट नेगेटिभ आएको हुन सक्ने भन्दै दाजुभाइ ढुक्क भएर बसे। तर जेठ ६ गते साँझ युवकले आफू संक्रमित भएको जानकारी पाए।

तर युवकलाई अस्पताल लिनका लागि बुधबार बिहान मात्र एम्बुलेन्स मैतीदेवीमा पुगेको थियो।

केस दुई

मंगलबार प्रेस ब्रिफिङमा लमजुङका तीन वर्षीय बालक कोरोना भाइरस संक्रमित भएको उल्लेख गरियो। जेठ २ गते बालक, बालककी आमा, मामा र सानीहजुरआमा लगायत ४ जनाले स्वाब परीक्षणका लागि दिएका थिए। रिपोर्टका लागि मोबाइलमा म्यासेज आउने प्रयोगशालाका कर्मचारीले उनीहरुलाई जनाएका थिए। तर मंगलबार उनीहरुको मोबाइलमा कुनै म्यासेज आएन।

मंगलबार लमजुङका १ जना संक्रमित भन्ने समाचारसँगै लमजुङका प्रमुख जिल्ला अधिकारीले खोजेर ३ वर्षीय बालकलाई कोरोना संक्रमण भएको पत्ता लगाएर खबर गरिदिए।

बुधबार बिहानसम्म केही खबर नआएपछि उनीहरु टेकु गए। उनीहरू ४ जनामध्ये ३ जनाको रिपोर्ट नेगेटिभ भएको र बालकको रिपोर्ट पोजेटिभ देखिएकाले पुनः परीक्षण गर्न स्वाब निकालियो।

माथि उल्लेखित गरिएका केही प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो समय परीक्षणको नतिजाका लामो समय कुर्नुपर्ने अवस्था छ। सुरुसुरुमा रिपोर्ट आउन २४ देखि ४८ घण्टा लाग्ने गरे पनि केही समय अगाडि २४ घण्टामा रिपोर्ट सर्वजनिक हुने गरेको थियो। तर अहिले त्यही समय लम्बिएर चारदेखि ६ दिन लाग्ने गरेको छ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले पहिला केस थोरै आउने भएका कारण छिटो हुने भए पनि अहिले केसहरु बढ्दै जाँदा अहिले आफूहरुलाई भ्याई नभ्याई भइरहेको बताइन्।

‘पहिला केस थारै थिए, हामीले पहिला पनि रिपोर्ट २४ देखि ७२ घण्टामा दिने गरेका थियौँ। २४ घण्टा भनेको मोलिक्यूलरका लागि एकदमै छिटो हो। अरु ल्यावले हेर्‍याे भने स्याम्पल नै लिँदैन। पहिला हामी बिहान ९ बजेसम्म स्याम्पल लिइसक्थ्यौँ। त्यसपछि मात्र काम थाल्थ्यौँ। र त्यही दिन रिपोर्ट दिन्थ्यौँ। किनकी त्यो समयमा थोरै हुन्थ्यो’, निर्देशक झाले भनिन्,‘तर अहिले धेरै स्याम्पल आउने भएका कारण हामीलाई ल्याव बाहिरै प्रोसेसिङ र बिल गर्न समय लाग्छ। जसका कारण अहिले हामीले रिपोर्ट २४ घण्टामा दिन सकिरहेका छैनौँ।’

देशभरका विभिन्न जिल्लाहरुमा संक्रमिणको संख्या दिन प्रदिन बढ्दै गइरहेका कारण पछिल्लो समय प्रयोगशालामा अत्याधिक मात्रामा नमुना आउने गरेकाले रिपोर्ट आउन समय लाग्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले बताए। उनले भने,‘अहिले दैनिक ७/८ हजार नमुना आउने गरेका छन्। रिपोर्ट आउन चारदेखि ६ दिन लाग्ने गरेको छ। यो बिचमा कसैको चाँडो पनि आउन सक्छ।’

रिपोर्ट ढिलो आउन भएपछि धेरै जसोले नेगेटिभ आएको हुन सक्छ भन्दै ढुक्क भएर बस्न थालेका छन्। तर रिपोर्ट आउने बित्तिकै सम्बन्धित व्यक्तिलाई म्यासेज पाठाउने गरेको प्रवक्ता गुप्ताले बताए।

उनले भने, ‘रिपोर्ट आउने बित्तिकै एसएमएस जान्छ। जसमा पासवर्ड र प्यासेन्ट आइडी हुन्छ। हाम्रो वेबसाइटमा गएर पासवर्ड र प्यासेन्ट आइडी हान्यो भने रिपोर्ट देखिन्छ।’

प्रयोगशालाले यसो गरिरहँदा धेरै मानिस अल्मलमा परेका छन्। कतिलाई म्यासेज आएको थाहा हुँदैन। कति कोमा म्यासेज नै आउँदैन। आए पनि कसरी हेर्ने र कहाँ हेर्ने भनेर धेरैलाई थाहा छैन। न त उनीहरुलाई रिपोर्टका लागि म्यासेज आएपछि यसरी हेर्नु भनेर सिकाइएको हुन्छ।

विवरण संकलन गर्दै फारम भरिरहेका व्यक्तिले सम्बन्धित व्यक्तिलाई फारम हातमा थमाउँदै भन्छन्,‘बाहिर टाँसिएको नम्बरमा फोन गर्नु होला।’

तर उक्त व्यक्तिले फोन गर्नु भनेको नम्बरमा फोन गर्ने हो भने उक्त नम्बर मुस्किलले उठ्छ। उठिहाले पनि रिपोर्ट आयो भने उनीहरु पहिलो प्रश्न यही हुन्छ,‘तपाईको मोबाइलमा म्यासेज आयो। आएको छैन भने तपाईको रिपोर्ट आउन बाँकी छ भन्दै फोन राखिदिन्छन्।’

अन्य ठाउँको नभएर टेकु अस्पतालमा गरिएको नमुना संकलनका लागि मात्र प्रयोगशालाले एसएमएस पठाउने गरेको निर्देशक डा. झाले बताइन्।

‘यो रिपोर्ट स्वयं विरामीलाई नै दिने होइन। टेकु अस्पताल बाहेब अन्य ठाउँका लागि हामीले अस्पतालका सम्बन्धित डाक्टर वा रेस्पोन्सिबल व्यक्तिलाई रिपोर्ट दिने गरेका छौँ। त्यसैले विरामीको नम्बरमा रिपोर्ट जाँदैन। सिधै अस्पतालका सम्बन्धित व्यक्तिलाई जान्छ’, निर्देशक डा. झाले भनिन्, ‘तर टेुकका डाक्टरको नम्बर राख्दा विरामीको रिपोर्ट पाएनन्। उनीहरुले हामीलाई किचकिच गर्न थाले। त्यसैले टेकु अस्पताल आउने विरामीहरुका लागि मात्रै म्यासेज गरिदिने व्यवस्था गरेका हौँ। अहिले पनि हामीले जति सक्यो चाडो रिपार्ट दिने प्रयास गरिरहेका छौँ।’

तर म्यासेजको साटो रिपोर्ट पोजेटिभ आएका जतिलाई फोन गरेर जानकारी दिनु उत्तम हुने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले बताए।

उनले भने,‘पोजेटिभ रिपोर्ट आएकालाई फोन गरेर तापाईको रिपोर्ट पोजेटिभ आएको छ। तपाई उपचारका लागि यस्तो अस्पतालमा जानुस् भनेर नाम भनिदिने वा हामी तपाईलाई लिन आउँदै छौँ भनेर जानकारी गराउनु पर्छ। कतिपयलाई पोजेटिभ र नेगेटिभको अर्थ पनि थाहा नहुन सक्छ।’

उनका अनुसार सबै व्यक्ति पढेलेखेका हुँदैनन्। म्यासेजमै पोजेटिभ र नेगेटिभ भनिने भएपनि बुझ्न सजिलो हुन्थ्यो होला। तर वेइव साइटमा गएर लगइन गरेर हुर्ने पर्ने भने सबैलाई यसो गर्न गाह्रो हुने उनले बताए।

उनले भने,‘पासवर्ड हानेर लगइन गर्नु पर्ने भयो भने धेरैलाई नआउन सक्छ। सामान्य मानिसका लागि यो कम्पिकेटेड हुन सक्छ। अरुलाई भन्नु पर्ने पनि हुन सक्छ। यसो हुँदा गोप्नियताको पनि कुरा आउँछ।’

उनका अनुसार संक्रमित व्यक्तिले सूचना पाउँदा संक्रमण अन्य व्यक्तिमा फैलन सक्ने सम्भावना बढी हुन्छ। तर लक्षण नदेखिएका संक्रमितहरुबाट भने अन्य व्यक्तिमा संक्रमण फैलिने सम्भावना कम हुने उनले बताए।

उनले भने, ‘कुनै व्यक्ति संक्रमित भएको छ। तर उसमा कुनै लक्षण छैन भने संक्रमन कम फैलिन सक्छ। किनभने उनले खोक्दैन, हाछ्यिू गर्दैन अरुमा छिट्टा पर्ने सम्भावना कम हुन्छ। ज्वारो, रुघा–खोकी लागेकोलाई एक्टिभ केस भनिन्छ।’

तर रिपोर्टको आधारमा संक्रमितहरुलाई जानकारी गराएर उनीहरु बसेको ठाउँमा लिन जानु पर्ने उनले बताए।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्