कोशी अस्पतालमा कोरोना संक्रमितलाई सघाउँदै स्वास्थ्यकर्मी

मोरङ-विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा हाल ५० जना संक्रमित उपचाररत रहेका छन्।

केन्द्रमा उपचाररत दैनिक संक्रमितको संख्या बढ्दै गर्दा सबैको स्वास्थ्य परिक्षणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत समयसमयमा गाह्रो हुँदै आएको छ।

सुरुआतमा सीमित संख्यामा संक्रमित उपचाररत भर्ना हुदाँ चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीलाई हेरचाह गर्न सहज रहेको भएपनि संक्रमित थपिदै जादाँ समस्या हुने गरेको हो।

यसैबीच, हाल धनकुटाबाट ४ जना स्वास्थ्यकर्मी समेत संक्रमित भएर केन्द्रमा भर्ना भएपछि अन्य विरामीको उपचारमा सहयोग हुदै आएको केन्द्रको भनाइ छ। केन्द्रका अनुसार सामान्य अवस्थामा रहेका स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई कोरोनाका बारेमा सचेतना र डिस्चार्ज पछि गर्नुपर्ने कामका बारेमा पनि बताउने गरेका छन् ।

केन्द्रमा फ्रन्टलाइनमा कार्यरत फिजिसियन डा. डेनप्रसाद आचार्यका अनुसार धनकुटाबाट आएका ४ जना स्वास्थ्यकर्मीले अन्य संक्रमितहरुको उपचारमा समेत सघाउँदै आएका छन्।

चारजना स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य भएको हुदाँ अन्य ४६ जना संक्रमितलाई कोभिड १९ बारेमा विभिन्न जानकारी गराउदैं उपचार कार्यमा सघाउदै आएको डा. आचार्यको भनाई छ।

उनका अनुसार संक्रमित स्वास्थ्यकर्मीहरुले उपचारका लागि अपनाउनुपर्ने विधी र डिस्चार्जपछि सचेत रहने कार्यबारे परामर्श दिने गरेकाछन्। जसले अन्य संक्रमितमा समेत सकारात्मक प्रभाव पर्दै गएको छ।

हाल कोभिड १९ उपचार केन्द्रमा उपचारत एक संक्रमितलाई निमोनिया भएको छ। ‘निमोनियाँ भएका संक्रमितको उपचारमा स्वास्थ्यकर्मीले सहयोग गर्नुभएको छ’ डा. आचार्यले भने। कोभिड अस्पतालमा चिकित्सक सहित २५ जना स्वास्थ्यकर्मीहरु उपचारमा खटिएका छन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ७ दिन कोभिड अस्पतालमा रहेका संक्रमितको उपचारमा संलग्न रहन्छन्। ७ दिनको अस्पताल बसाईपछि १४ दिन क्वारेन्टाईनमा बस्ने गरेका छन्।

प्रदेश एकमा हालसम्म कोरोना संक्रमितको संख्या ८४ पुगेको छ। जसमा २६ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन्।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू