हतियार नियन्त्रण सम्बन्धी महत्वपूर्ण सन्धिबाट अमेरिका बाहिरिने

हतियार नियन्त्रण सम्बन्धी महत्वपूर्ण सन्धिबाट अमेरिका बाहिरिने भएको छ । अमेरिकाले ओपन स्काइज् ट्रिटी (खुला आकाश सन्धि) बाट बाहिरिने घोषणा गरेको हो ।

यो सन्धि सन् २००२ को जनवरीदेखि कार्यान्वयमा आएको थियो । गोपनियता वृद्धि तथा कुनै पनि खालका आक्रमणविरुद्धको आश्वाशन बढाउने उद्देश्यसहित यो सन्धि भएको हो ।

यसलाई विश्वका रुस, क्यानडा, बेलायतसहित ३५ देशले अनुमोदन गरेका थिए । सो सन्धिबाट अमेरिका बाहिरिने घोषणा गरेको हो ।

रुसले सन्धिका शर्तहरुको लगातार उल्लंघन गरेको आरोप अमेरिकाका उच्च अधिकारीले लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग नयाँ सहमति वा सम्झौतामा पुग्ने सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले बिहीबार भनेका छन्, ‘मलाई लाग्छ रुससँग हाम्रो राम्रो सम्बन्ध छ, तर रुसले सन्धिको पालना गरेन । उसले सन्धिको पूर्ण पालना नगरेसम्म हामी यसबाट बाहिर रहने छौँ ।’

उच्च अधिकारीहरुका अनुसार अमेरिका यो सन्धिबाट ६ महिनाभित्र औपचारिक रुपमा बाहिरिने छ ।

एक अधिकारीले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘सन्धि पालना भए नभएको रिभ्यू गर्दा अमेरिका यसको पक्ष राष्ट्र बनिरहनुको कुनै अर्थ देखिएन ।’

रुसको विदेश मन्त्रालयले आफ्नो तर्फबाट सन्धि उल्लंघन नभएको र अमेरिका यसबाट बाहिरिनु अति खेदजनक रहेको बताएको छ । डोनाल्ड ट्रम्प प्रशासन हतियार नियन्त्रण सम्बन्धी सबै सहमतिबाट अमेरिकालाई बाहिर राख्ने प्रयासमा रहेको आरोप रुसले लगाएको छ ।

प्राविधिक समस्याहरुलाई अमेरिकाले सन्धिको उल्लंघनका रुपमा परिभाषित गरेर सन्धिको आधारभूत संरचनामै परिवर्तन गर्ने खेलमा लागेको आरोप रुसको छ ।

प्राविधिक समस्या समाधानका विषयामा वार्ताका लागि तयार रहे पनि सन्धिको मर्म परिवर्तन गर्न भने नदिने रुसका उपविदेश मन्त्री एलेक्साडर ग्रुस्खोले सरकारी समाचार संस्थासँग भनेका छन् ।

हतियार नियन्त्रणका सम्पूर्ण संरचनाहरु कोल्याप्स भएका बेला अमेरिकाले अर्को महत्वपूर्ण सन्धिबाट बाहिरिने घोषणा गरेको हो ।

ओपन स्काइज् ट्रिटीले पक्ष राष्ट्रहरुमा भएको सैन्य परिचालन, सम्भावित आतंककारी गतिविधि, सैन्य सुविधा तथा हतियारसहितको विशेष निरीक्षण गर्ने अनुमति प्रदान गर्छ ।

यसले छोटो समयकै सूचनामा हतियार बिहीन तर विशेष उपकरण युक्त सैन्य निरीक्षण विमानको उडान सन्धिको पक्ष राष्ट्र रहेको कुनै देशको पूर्ण भूभागमा गर्न पाउने व्यवस्था गरेको छ ।

पछिल्ला वर्षमा यसमा केही समस्या देखिएको थियो । रुसले केही अमेरिकी निरीक्षण विमानहरुलाई आफ्ना केही क्षेत्रमा उडान गर्न दिएको थिएन । रुसले यस्तो हुनुको कारण प्राविधिक रहेको बताउँदै आएको छ भने अमेरिकाले यसलाई सन्धिको उल्लंघन भन्दै आएको छ ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू