कोभिड–१९ का कारण एक दिने शिशुको मृत्यु, संक्रमित झण्डै ५२ लाख!

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५२ लाख पुगेको छ । अहिलेसम्म ५१ लाख ८९ हजार भन्दा धेरै मानिसहरु कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् ।

यसका साथै कोभिड–१९ का कारण मृत्यु हुनेहरुको संख्या ३ लाख ३४ हजार नाघेको छ । हालसम्म सबैभन्दा धेरै अमेरिकामा ९६ हजार २९५ मानिसको मृत्यु भएको छ ।

विश्वभर उपचारपछि निको भएका संक्रमितको संख्या २० लाख ७८ हजार भन्दा धेरै छ । अहिले झण्डै २८ लाख मानिसहरुको उपचार भइरहेको छ । ती मध्ये झण्डै ४६ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण एक दिने नवजात शिशुको पनि मृत्यु भएको छ । उनी कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने विश्वकै कान्छा व्यक्ति मानिएका छन् ।

नेपालमा हालसम्म ४५७ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ भने तीनजनाको मृत्यु भएको छ । ४९ जना उपचारपछि निको भएका छन् ।

 

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्