धान खेतीको पूर्व तयारीमा किसान, ‘झराली’बाट कुलो सफाई

दाङ–अब पानी परेमा किसानले धानको बिउ छर्ने छन् र खेतीको तयारी गर्ने छन् । कुलो पानी चल्ने ठाउँमा धान खेती सुरु भैसकेको छ । सहज रुपमा कुलो पानी नचल्ने र ढिलो खेती सुरु हुने ठाउँमा धान खेतीको तयारी थालिएको छ ।

किसानहरु कुलो सफा गर्ने अभियानमा जुटेका छन् । परम्परागत रुपमा कुलो सफा गर्न झराली लाग्ने प्रचलन छ । यस वर्ष पनि झराली मार्फत कुलो सफा गरिएको छ ।

लकडाउनको बेलामा समेत किसानलाई खेतीकै चिन्ताले सताएको छ । त्यही भएर उनीहरु धान खेतीको तयारीमा जुटेका हुन् । ‘पुर्खाले जसरी कुलो खन्थे । नहर सफा गर्थे । हामी पनि अहिले त्यसैगरी काम गरिरहेका छौं’लमही नगरपालिका वडा नं. ६ खैरी निवासी शरद चौधरीले भने–‘घर घरबाट मानिस आएर आफै श्रम गरेर कुलो सफा गर्ने प्रचलन धेरै पुरानो हो । अहिले पनि यो प्रचलन कायमै छ ।’

सामूहिक रुपमा कुलो सफा गर्दा सजिलैसँग काम सकिन्छ । जटिल र गाह्रो काम पनि समूहमा गर्दा सकिने भएकाले यस प्रकारको कामलाई अहिले पनि जारी राखिएको हो । थारु समुदाय भित्र रहेको झराली परम्परा अझै कायम छ । सार्वजनिक काम गर्दा यसैगरी श्रमदान गर्ने चलन रहेको छ । जसलाई थारु भाषामा‘झराली’ भनेर चिन्ने गरिन्छ ।

लकडाउन कारण मानिसहरु घर बाहिर खासै ननिस्के पनि किसानलाई भने धान खेतीको लागी चाहिने मल बिउको चटारो छ । अहिले एग्रोभेट पसलमा किसान धानको बिउ किन्न पुग्ने गरेका छन् । जसले गर्दा पसलमा भिडभाड हुने गरेको छ । पर्याप्त मात्रामा धानको बिउ आएको छैन ।

 

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्