फोटो फिचर

मुस्कुराउँदै घर हिँडे कोरोना विजेताहरु (तस्बिरहरु)

नेपालगञ्ज – बैशाख १९ गते एकाएक नेपालगञ्ज तरंगित भयो । भुइँचालोमा घर हल्लिएको जसरी यहाँका बासिन्दाको मन हल्लियो ।

विश्वमै आतंक मच्याएको कोरोनाका संक्रमित भेटिएपछि नेपालगञ्जमा तरंग आउनु स्वभाविक नै थियो । ६० वर्षीय पुरुषमा कोरोना देखिँदा नेपालगञ्ज मात्रै हो र ? छिमेकीहरु पनि हल्लिए ।

संक्रमितलाई आइसोलेसनमा लगियो । रातारात उनको भेटघाट, आवतजावत ‘ट्रेसिङ’ गरियो । उनको भेटघाट, आवतजावत नेपालगञ्जको वडा नं. ८ जोलाहनपुरुवामा हुने रहेछ । त्यहाँका ९० जनाको ‘ट्रेसिङ’ भयो । फटाफट स्याम्पल लिएर जाँच्दा २२ जना कोरोना संक्रमित पुष्टि भयो ।

त्यसपछि अरुको ‘ट्रेसिङ’ गर्दा एकजना थपिए । टाँगा स्टेशनमा स्वाव लिएका अर्का पनि कोरोनाको भीडमा मिसिए । नेपालगञ्जका सबै २५ जनालाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा लगियो । शुरुमा जान नमानेका उनीहरु समाजका अगुवाले सम्झाएपछि गएका थिए । कोही २२ दिन त कोही २१ दिन खजुरामा बसे ।

खजुरामा जाँदा रिसाएका उनीहरुको अनुहारमा आज घर फर्किँदा मुस्कान देखिएको छ । युद्ध जितेको सिपाही जसरी हँसिलो, चम्किलो अनुहार र खुशीले गदगद भएका छन् । नहोस् पनि किन, जसले कोरोनालाई जितेर घर फर्किएका छन् ।

शुरुमा कोरोना देखिएका ६० वर्षीय र पछि कोरोना देखिएका २० जना गरी २१ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिइएको छ ।

६० वर्षीयलाई चार पटक टेष्ट गरियो । शुरुमा पोजिटिभ देखिए । सात दिन पछि पनि पोजिटिभ देखिए । १४ दिनमा जाँच्दा नेगेटिभ रिपोर्ट आयो । त्यसको २४ घण्टापछि जाँच्दा फेरि नेगेटिभ रिपोर्ट आयो । त्यसरी अरु २० जनाको तीन पटक टेष्ट भयो । शुरुमा पोजिटिभ देखिएका उनीहरुको सात दिन पछिको रिपोर्ट नेगेटिभ आयो ।

त्यसको २४ घण्टापछि जाँच्दा फेरि नेगेटिभ रिपोर्ट आयो । फोकलपर्सन श्रेष्ठका अनुसार, लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएमा कोरोना निको भएको मानिन्छ । र, घरमा पठाइन्छ ।

बाँकेमा एक सय एक जनामा कोरोना देखिएको छ । त्यसमध्येमा एकजनाको मृत्यु भइसकेको छ । सय जना विभिन्न आइसोलेसन अस्पताल र सेन्टरमा छन् । अझ क्वारेन्टाइनमा ठूलो संख्या छ । उनीहरुको जाँच भइसकेको छैन ।

२१ जनाले कोरोना जितेर फर्किँदा नेपालगञ्जमात्रै होइन, देशले नै खुशी मनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोरोना जितेका २१ जनालाई फूलमाला, खादा ओढाएर बिदाई गरेको बताए ।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्