१६ वर्षे चोरको लत : चार दिनको अन्तरमा पार्किङबाटै दुई वटा गाडी गायब

काठमाडौँ – पार्किङ गरिरहेको स्थानबाट सवारी साधन चोरी गरेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालीका- ५ न्युरोड टोलका १६ वर्षीय नबिन सार्की रहेका छन्। उनी परिवारसहित  कैलालीको धनगढी उपमहानगरपालिका-१ बसन्त टोलमा बस्दै आएका थिए।

प्रहरीका अनुसार जेठ २ गते नबिनले धनगढी उपमहानगरपालीका-४ उतरबेहडी बस्ने राजेन्द्र बहादुर मल्लले आफ्नो घर अगाडि सडकमा पार्किङ गरी राखेको  बा.८ च.२१०० नम्बरको कार चोरेका थिए। त्यसको चार दिनपछि उनले  सोही ठाउँमा डेरा गरि बस्ने रबिन्द्र देव भट्टले घरबाहिर राखेको होन्डाई कम्पनीको बा. १४ च. ४७८१ नम्बरको गाडि चोरेको प्रहरीको दाबी छ।

प्रहरीले नबिनको साथबाट दुवै गाडी बरामद गरेको जनाएकाे छ।

नबिन यसअघि पनि अपराधिक घटनामा संलग्न भएको प्रहरीले जनाएको छ। २०७६ वैशाखमा नबिनसहित दुई जनाले राजधानीमा दुई वटा क्रस फायर मोटरसाइकल चोरेर फरार भएको प्रहरीको दाबी छ।

यसैगरि सोही वर्षको भदौमा दाङमा एक व्यक्तिले  पार्किङ गरी राखेको  लु १ च२६०३ नम्बरको सुजुकी कार पनि नबिनले चोरेको प्रहरीको भनाई छ। त्यसको एक महिनाअघि दाङमै भएको एक मोटरसाइकल चोरीमा पनि नबिन संलग्न रहेको प्रहरीले जनाएको छ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्