कालीमाटीमा तरकारी ग्राहकको भीड ह्वात्तै घट्यो

फाइल तस्बिर

काठमाडौँ–गत साता कालीमाटी बजारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणका लागि शिविर आयोजना गर्यो ।

उक्त शिविरमा भएको परीक्षणमा दुई जनामा आरडिटी पोजेटिभ आयो तर पछि पीसीआर विधिबाट गरिएको परीक्षणमा भने कोरोना नेगेटिभ देखियो । जसकाकारण कालिमाटी बजारमा सर्वसाधारणको भीड पातलिँदै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले जानकारी दिए।

उनले आयातमा कमी नआएपनि खरिदकर्ताको संख्यामा भने निकै कमी आएको बताए । उनले भने, ‘कालीमाटी बजारमा भएको कोरोना परीक्षणपछि मानिसहरु अलि कम भएका छन्। केही दिन आयात पनि कम भएको थियो। तर अहिले भने आयात भइरहेको छ।’

उनले लकडाउनको अवधिमा दैनिक साढे सार सय देखि पाँच सय मेट्रिक टन तरकारी आयात भइरहेको बताए। ‘कोरोना परीक्षणको प्रभावले केहि दिन आयातमा आधा कमी आएको थियो’, उनले भने, ‘तर अहिले ५०० मेट्रिक टन आइरहेको छ।’

सामान्य दिनमा दैनिक औषत नौ सय मेट्रिक टन तरकारी आयात हुने गरेको उनले बताए। उक्त परीक्षणमा कसैमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि ग्राहकहरु घट्दा बिक्रिमा गिरावट आएको उनको भनाइ छ। त्यसमा पनि तरकारी बजार नजिकै रहेको प्रहरी वृत्तमा कार्यरत दुई जना प्रहरीलाई कोरोना पुष्टि भएपछि सन्त्रास झनै बढेको छ।

‘पहिले जस्तो विक्रि भएको छैन। अहिले बढी खपत हुने क्षेत्र होटल, रेष्टुरेन्ट लगायत बन्द छन्। यस्तो अवस्थामा स्वभाविक रुपमा तरकारीको खपत कम हुन्छ। कालीमाटीमा गरिएको कोरोना परीक्षणपछि बिक्री झनै घटेको छ’, श्रेष्ठले भने ।

समितिले यस संकटको सुरक्षाका लागि र लम्बिँदै गएको लकडाउनका कारण डिजिटल कृषि बजार सञ्चालन गर्ने योजना अगाडि बढाएको छ।

श्रेष्ठका अनुसार सरकारले अन्य कुरामा लकडाउन गरे पनि अत्यावश्यक वस्तुमा रोक नलगाएकाले तरकारी तथा फलफूल लगायतका उपभोग्य वस्तु आयात भइरहेको छ भने भारतबाट तरकारी आउने क्रम जारी नै छ।

पछिल्लो समय कालीमाटीमा बढि भिडभाड हुने भएकाले कोरोनाको जोखिम हुने भनेर काठमाडाैँ महानगरपालिकाको पहलमा राजधानीका विभिन्न स्थानमा थोक बजारको विस्तार गरिएको थियो। जसको असर कालिमाटी बजारमा परेको श्रेठको धारणा छ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू