वीरगञ्जका वडाअध्यक्ष नै राजश्व छलीमा संलग्न

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका- १६ का वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियासहित ३ जना विरुद्ध राजस्व छली सम्बन्धी अभियोगपत्र दर्ता गरेको छ। ।

जग्गा खरिद बिक्री हुँदा राजस्वमा हानी पु‍र्‍याउने, गलत लिखत तयार गर्ने, गैरकानुनी लाभ हानी पु‍र्‍याउनेसहितको भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा वडाध्यक्ष चौरसियासहित जग्गा खरिदकर्ता र बिक्रीकर्ता विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको हो ।

वडाध्यक्ष चौरसियासहित जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता ग्यान्ती देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

वडाअध्यक्ष चौरसियाले धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा वडा नम्बर १६ साबिक इनर्वाभाठा (वी) वडा नम्बर ५ को जग्गाधनी धुनियाको जग्गामा २८ फीटको पीच बाटो देखिएको र मालपोत कार्यालय, पर्साको आर्थिक वर्ष २०७४/०७५ को जग्गाको न्यूनतम मूल्याङ्कन पुस्तिका बमोजिम उक्त जग्गाको न्यूनतम मूल्याङ्कन प्रतिकठ्ठा ६० लाख देखिएको भएपनि धुनियाँले ग्यान्ती देवीलाई ११ धुर जग्गा बिक्री गर्दा ३३ लाख न्युनतम मुल्यांकन हुनुपर्नेमा २५ लाख ३० हजार मात्रै थैली रकम राखेका थिए ।

यसरी कम थैली रकम राख्दा जग्गा किनबेच गर्दा प्राप्त हुने रजिष्ट्रेशन दस्तुर ९४ हजार ८ सय ७५ र पुँजीगत लाभकर ८२ हजार ५ सय गरी १ लाख ७७ हजार ३ सय ७५ कम हुने गरी राजशव दाखिला गरी राजस्व हानी पुयाएको आरोपमा वडाध्यक्ष चौरसियासहित तीनैजनाविरुद्ध आरोप पत्र दायर गरिएको कोईरालाले बताए ।

वडाध्यक्ष चौरसियाले जग्गा खरिद बिक्री हुने बेला घरबाटो सिफारिस गर्दा २८ फीटको पीच बाटो भएको सिफारिस पत्र नराखी १५ फीटको ग्राबेल बाटो भनी गलत लिखत तयार गरी घरबाटो सिफारिस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

वडाध्यक्ष चौरसियाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो रु १ लाख ७७ हजार ३ सय ७५ कायम गरी सजायको माग दाबी लिइएको छ । जग्गा बिक्रीकर्ता जहराती मिया धुनियाविरुद्ध बिगो रु ८२ हजार ५ सय कायम गरि बिगो रकम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

यस्तै जग्गा खरिदकर्ता ग्यान्ती देवीविरुद्ध बिगो स्वरुप रु ९४ हजार ८ सय ७५ कायम गरी बिगो रकम असुल गरी जफत हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्