कारागारमा कोरोनाको त्रास, क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा संक्रमणको जोखिम

नेपालगञ्ज– बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ।

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चुनौती बढेको हो।

मानवबस्तीको मध्य भागमा रहेका कारागारका कारण बस्ती क्षेत्रका नागरिकमा पनि कोरोनो सङ्क्रमणको जोखिम बढेको जेलर देवेन्द्र श्रेष्ठले बताए।

उनले तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५०, पुरुष ७ सय ४८ र दुई आश्रित बालकसहित आठ सय कैदीबन्दी राखिएको जानकारी दिए। चारैतिर बलिया पर्खाल नरहेको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौतीसमेत थपिएको उनको भनाइ छ।

उनका अनुसार कारागारका कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगाउन विशेष प्रबन्ध अहिलेसम्म नभएका कारण जोखिमको सम्भावना बढेको छ। कैदीबन्दी बिरामी परेमा स्यानिटाइज गरेर स्थानीय भेरी अस्पताल लैजाने गरिएको छ। अस्पताल लैजाँदा सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा जिल्लाका सरोकारवाला निकाय पनि यस विषयमा अहिलेसम्म मौन देखिएका छन्।

नेपालगञ्ज–१० स्थित सो कारागारको भौतिक अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको छ। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन्। कारागारमा कैदीबन्दीको सङ्ख्या बढदै गएको, वरपर अत्यन्तै फोहर र ढल निकासको पर्याप्त व्यवस्था नरहेको बताइएको छ। फोहरकै कारण सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ। यी सबै समस्याबीच अहिले कारागार प्रशासनलाई कोभिड–१९ सङ्क्रमणको त्राससमेत बढेको छ।

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ।

कारागारमा कैदीलाई भेट्नका लागि १०ः०० देखि ४ः०० बजेसम्म कारागार खुल्ला रहन्छ। त्यो समयमा कैदीलाई तिनका परिवार र आफन्तले भेट्न सक्छन्। कैदीबन्दीलाई भेट्न आउनेलाई सेनिटाइज गरेरमात्र भेट्न दिने गरिएको जेलर श्रेष्ठको भनाइ छ।

उनले भने, ‘क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुको कारण महामारी रोकथामको चुनौती बढेको हो।’

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्