लकडाउनले विदेशमा शव रोकिएका नेपाली श्रमिकको दाहसंस्कार गर्न धमाधम परिवारको सहमति

फाइल तस्बिर।

काठमाडौँ-  वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएर लकडाउनका कारण स्वदेश ल्याउन नसकिएका नेपाली श्रमिकको दाहसंस्कारका लागि परिवारलाई धमाधम सहमति दिन थालेका छन्।

रोजगारदाता देशमा दाहसंस्कार गर्न मृतकका परिवारको सहमति चाहिन्छ। निरन्तरतको लकडाउनका कारण शव ल्याउन नसकिएपछि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारलाई विदेशमै दाहसंस्कारका लागि सहमति दिन बारम्बार आग्रह गर्दै आएको थियो।

एक साताअघि मन्त्रिपरिषद् बैठकले विदेशमा दाहसंस्कार गर्न सहमती दिने परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेपछि  वातावरण सहज बनेको हो। त्यसयता ३५ भन्दा बढी मृतकका परिवारले सहमती दिएका छन्।

लकडाउन सुरुभएयता ५८ परिवारले रोजगादारदाता देशमा दाहसंस्कारका लागि सहमती दिएको र अझै एक सय ४९ वटा शव दाहसंस्कारका लागि परिवारको सहमती कुरिरहेको बोर्डले जनाएको छ।

बोर्डका कार्यकारी प्रमुख राजन श्रेष्ठका अनुसार लकडाउनयता युएईमा ज्यान गुमाएका ४ महिला र ४२ पुरुषसहित ४६ नेपाली श्रमिकमध्ये ३२ परिवारले दाहसंस्कारका लागि सहमति दिएका छन्।

साउदी अरबमा रहेको एक महिला र ४८ पुरुषको शवमध्ये ७ जनाको मात्र दाहसंस्कारका लागि परिवारले सहमती दिएका छन्। साउदी अरबमा अझै ४२ वटा नेपाली श्रमिकको शव परिवारको सहमती नभएपछि अलपत्र अवस्थामा छन्।

मलेसियामा ज्यान गुमाएका ४२ मध्ये २ जनाका परिवारले मात्र सहमती दिएका छन्। कतारमा ज्यान गुमाएका एक महिला र ४० पुरुषसहित ४२ जनामध्ये २ जनाका परिवारले मात्र दाहसंस्कारका लागि सहमती दिएका छन्। कुवेतमा रहेका पाँच महिला र ६ पुरुषको शवमध्ये कसैको पनि परिवारले दाहसंस्कारका लागि सहमती दिएका छैनन्।

बहराइनमा रहेका ३ शवमध्ये एक जनाका लागि सहमती प्राप्त भएको बोर्डले जनाएको छ। दक्षिण कोरियामा तीन जनाको शव रहेकोमा सबैका लागि सहमती प्राप्त भएको छ। जोर्डन र  सिसेल्समा रहेका एक एक शवको दाहसंस्कारका लागि पनि परिवारले सहमती दिएका छन्।

टर्की र ओमानमा रहेका एक एक शवका लागि परिवारले सहमती नदिएका कारण दाहसंस्कार हुन सकेको छैन। यसैगरि वैदेशिक रोजगारीमा पुगेका अन्य विभिन्न देशमा ज्यान गुमाएका ६ मध्ये ५ जनाको दाहसंस्कारका लागि परिवारले सहमती दिएको जनाइएको छ।

बोर्डले वैदेशिक रोजगारीमा पुगेकामध्ये कोरोना भाइरसले हालसम्म १० नेपाली श्रमिकको ज्यान गएको जनाएको छ।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्