पाकिस्तानमा ९० बढी यात्रु बोकेको विमान अवतरण गर्न लाग्दा दुर्घटना

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान। फाइल तस्विर

लाहोर – लाहोरबाट कराँची फर्किरहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान अवतरण गर्न लाग्दा दुर्घटना भएको पाकिस्तानी सन्चार माध्यमहरुले जनाएका छन्।

विमानमा ९० भन्दा बढी मानिस सवार रहेको जनाइएको छ। जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै विमान दुर्घटना भएको हो। मानवीय क्षतीबारे केही खुलाइएको छैन।

अवतरण गर्न लाग्दा धावनमार्गभन्दा बाहिर रहेको मैदानमा दुर्घटना भएको बताइएको छ। पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल सत्तर कोखारको भनाई उदृत गर्दै एयरबस ए ३० मा ९९ यात्रु र ८ जना क्रु मेम्बर रहेको उल्लेख गरेको छ।

पीआईएको विमान दुर्घटना हुँदा लाहोरबाट आइरहेको पीके-३०३ विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तयारीमा थियो। पाकिस्तानको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमान दुर्घटनापछि लाहोरका सबै अस्पताललाई ‘इमर्जेन्सी’ घोषणा गरेको छ।

पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान चार वर्षपछि पहिलोपटक दुर्घटना भएको हो। एटिआर ४२ विमान दुर्घटना भएको एक सातापछि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका तत्कालिन प्रमुखले राजिनामा दिएका थिए। त्यस दुर्घटनामा ४७ जनाको ज्यान गएको थियो।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्