फिल्ड रिपोर्ट

परीक्षण प्रक्रियामा चरम लापरबाही, संक्रमण झन् भयावह हुने खतरा

आफूहरुको रिपोर्टमा नाम र फोन नम्बर गलत भएपछि दोधारमा परेका रघुनाथ र रोशनी श्रेष्ठ । तस्बीरहरु/ दीपा दाहाल

काठमाडौँ- चर्को दबाबपछि कोरोना भाइरस संक्रमणको परीक्षण दायरा विस्तार गर्न बाध्य भएको सरकार परीक्षण प्रक्रियालाई चुस्त, सुरक्षित र विश्वासिलो बनाउनबाट चुक्दा संक्रमण अझै भयाभह हुने खतरा उत्पन्न भएको छ।

शंकास्पद व्यक्तिको थ्रोट स्वाब संकलनको जिम्मेवारीमा रहेका अस्पतालहरुले कोरोना भाइरस संक्रमण परीक्षणका लागि पुगेका व्यक्तिको सामाजिक दूरीको व्यवस्थापन, वास्तविक ठेगाना, नाम र फोन नम्बरको अभिलेख गलत राख्दा संक्रमण भयाभह खतरा बढेको हो।

यस्तै कोरोना भाइरस संक्रमण भए/नभएको पुष्टिका लागि २४ देखि ४८ घण्टामा थ्रोट स्वाब परीक्षण गर्दै आएका प्रयोगशालाहरुले भार थपिएको भन्दै रिपोर्ट दिन ७ दिनसम्म लगाउन थालेका छन्।

तोकिएको समयमा परीक्षण रिपोर्ट हात नपर्दा सम्बन्धित व्यक्ति तनाबग्रस्त बन्ने गरेका छन्। साथै डेरामा छिर्न, यात्रा गर्न, नियमित काममा फर्कन मुस्किल परेको छ उनीहरुलाई।

तर यी सबै समस्यामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा मुख्य जिम्मेवारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने रमिते बनेको छ।

मन्त्रालयले बैठकहरुको संख्या बढाउने तर सेवा प्रदायक संस्थाको अवस्थाबारे अध्ययन, अत्यावश्यक जनशक्ति र साधनस्रोतको व्यवस्थानमा पर्याप्त ध्यान दिन सकेको छैन।

परीक्षणमा भइरहेको लापरबाहीको तथ्य प्रस्तुत गर्न धेरै टाढा जान पर्दैन।

काठमाडौँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिने कहालीलाग्दो दृश्य अध्ययन गर्दा अस्पताल, सँगै रहेको स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रत्तिभर गम्भीर छैन भन्ने पुष्टी हुन्छ।

नाम नमिल्दा सास्ती


संक्रमणको उच्च जोखिममा रहेको काठमाडौँ नागार्जुन ९ मा डेरामा बस्ने २७ वर्षीय युवती आमा बिरामी भएपछि आफ्नो जन्मथलो उदयपुर पुगिन् लकडाउनको बीचमा। तर आफ्नो कार्यालयले बोलाएपछि उनीले गाउँमै ‘आरडिटी’ परीक्षण गरिन्।

परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि काठमाडौँका लागि यात्रा तय गरेकी उनलाई बाटोमै घर धनीबाट ‘पीसीआर’ परीक्षणको रिपोर्ट नल्याएसम्म डेरामा छिर्न नदिने धम्की आयो। त्यसपछि उनी सिधै परीक्षणका लागि टेकु अस्पताल पुगिन्।

तर त्यहाँ परीक्षणका लागि जम्मा भएको भीड देखेर उनको झण्डै सातो गएन। कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक र भौतिक दूरी अपनाउनु पर्ने सुन्दै आएकी उनले भीडमा गएर जोखिम उठाउन चाहेकी थिइनन्।

तर ‘पिसिआर’ परीक्षणको रिपोर्ट घरधनीलाई हात नपारे बास नपाउने निश्चित थियो उनका लागि। त्यसपछि उनी भीडमा कोच्चिएर पालो कुर्न तयार भइन्।

ज्वरो नापेर कुपन लिने, टिकट किन्ने, छाप लगाउने र अभिलेख राख्ने सबै प्रक्रिया पूरा गरेर थ्रोट स्वाब दिँदा झण्डै पाँच घण्टा खर्चिएकी उनलाई चिकित्सकले ३ दिनपछि रिपोर्टको सन्देश मोबाइलमा आउने बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस संक्रमण परीक्षणको रिपोर्टका लागि प्रतिरक्षारत सेवाग्राही।

त्यसपछि उनले बासका लागि साथीको सहारा लिइन्। तर चिकित्सकले तोकेको समयमा मोबाइलमा सन्देश आएन। उनको अर्को तीन दिनकाे प्रतिक्षा खेर गयो।

आत्तिएर पुन: सोही अस्पताल पुगेकी उनलाई चिकित्सकले भने, ‘हामीलाई थाहा हुन्न, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जानुहोस्।’

करिब आधा घण्टा प्रतिक्षापछि उनको पालो आयो। तर प्रयोगशालाका कर्मचारीले उनको रिपोर्ट भेटाएनन्। लापरवाही भएको भन्दै उनी आक्रोशित भइन्। कर्मचारीले फेरि कम्युटरमा रिपोर्ट खोज्न थाले।

फोन नम्बरका आधारमा रिपोर्ट पत्ता लाग्यो। तर रिपोर्टमा नाम गलत थियो। उनले आफ्नो नाम सच्याउन माग गरिन्। कर्मचारीले नाम सच्याउन ‘एक वर्ष लाग्छ’ भन्दै पन्छिए। चुपचाप उनी डेरातर्फ गइन्।

तर घर धनी उनको रिपोर्ट नेगेटिभ भएकोमा खुसी त देखिए तर नाम नमिलेको भन्दै डेरामा छिर्न निषेध गर्न थाले। तर उनले आफ्नो नाम अस्पतालले नै गलत राखेको भन्दै बल्लबल्ल डेरा प्रवेशका लागि घरधनीलाई मनाइन्।

‘अस्पतालको लापरवाही र रिपोर्ट ढिलोगरी आउँदा ठूलो तनाबाट गुज्रिनु पर्‍यो। सरकारले हामीलाई सेवा दिएको हो की दुःख बुझ्न सकिन,’ उनले भनिन्।

उनकाअनुसार उनले आफ्नो विवरण दिने बेला अस्पतालका कर्मचारीलाई स्पष्टरुपमा नाम बताएकी थिइन्। तर लापरबाही भयो।

फोन नम्बर पनि गलत


भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा आफ्नी दिदीको उपचार गरेर १० दिनअघि आफ्नो घर भक्तपुर गठ्ठाघर फर्किएका रघुनाथ श्रेष्ठको परिवार पनि अस्पतालका कर्मचारीबाट भएको लापरवाहीको साक्षी बनेका छन्।

चार हजार पाँच सय भारतीय रुपैयाँ तिरेर निजी प्रयोगशालामा कोरोना भाइरस संक्रमणको परीक्षण गरेपछि नेपाल छिरेका रघुनाथ, उनकी छोरी रोशनी र बिरामी दिदीले यही जेठ पाँच गते टेकु अस्पतालमा ती युवतिले जस्तै भिडमा करिब पाँच घण्टा कुरेर थ्रोट स्वाब दिएका थिए। उनलाई पनि भनिए अनुसार मोबाइलमा रिपोर्टबारे जानकारी आएन।

आत्तिएर शुक्रबार उनीहरु टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला आइपुगेका थिए। तर धेरैबेर कुर्दा पनि उनीहरुको रिपोर्ट भेटिएन। रिपोर्ट शाखाका कर्मचारीलाई पटकपटक ताकेता गरेपछि उनीहरुको हातमा रिपोर्ट पर्‍यो।

तर रिपोर्टमा न नाम मिल्छ नत फोन नम्बर। रिपोर्टमा रोशनीको नाम रोशन थियो। रघुनाथको दिदीको फोन नम्बर गलत थियो।

फोन नम्बर गलत भएकाले रिपोर्टबारे जानकारी नआएको हुन सक्ने त्यहाँ खटिएका एक कर्मचारीले बताए।

रोशनलीले सोधिन्, ‘त्यसो भए अन्त्यै गयो त रिपोर्टको जानकारी? यदी रिपोर्ट पोजेटिभ आएको भए?’, यसको जबाफ कर्मचारीले दिन सकेनन्।

रघुनाथ र रोशनी धेरैबेर अन्यौलमा परे। नाम र फोन नम्बर सच्याउन कर्मचारी तयार नभएपछि उनीहरु आफ्नो बाटो लागे।

‘यस्तो बेला परीक्षण लामो समयसम्म सेवा नदिने, परीक्षण गरेकाहरुको व्यक्तिगत विवरण गलत राख्ने, रिपोर्ट ढिलो दिनाले हामीलाई निकै दुःख भएको छ,’ रघुनाथले भने।

टेकु अस्पतालमा हाल ११ बजेदेखि ३ बजेसम्म मात्रै थ्रोट स्वाब संकलन भइरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा साढे ८ बजेदेखि ३ बजेसम्म मात्रै रिपोर्ट उपलब्ध हुन्छ।

पहिले बिरामीलाई रिपोर्ट लिन जान निषेध गरिएको प्रयोगशाला परिसरमा अहिले बिरामी लामबद्ध देखिन्छन्। रिपोर्टको प्रतिक्षा गर्दा उनीहरुले दूरी ‘मेन्टेन’ गरेको देखिन्न।

रोशनीले भनिन्,‘ परीक्षणका बेला भीडमा यता र उता गर्दा गर्दै हामी संक्रमणको जोखिममा परेका थियौँ। रिपोर्ट पनि आफै लिन आउनु परेको छ।’

अन्य अस्पतालले बिरामीलाई रिपोर्टका लागि सकेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका छैनन्। तर टेकु अस्पतालले भने बिरामीलाई सिधै प्रयोगशाला पठाउने गरेको छ।

ठेगानामा लापरवाही, खोजपड्ताल जटिल


परीक्षणका क्रममा टिकट दिँदा टेकु अस्पतालका कर्मचारीले अर्को ठूलो लापरवाही गरेका छन्। भार बढी भएको बाहनामा सम्बन्धित व्यक्तिलाई सोधपुछ नै नगरी टिकटमा आफूखुसी ठेगाना राखिदिने गरेका छन्।

त्यसबाट सम्बन्धित व्यक्तिमा अन्यौल बढ्नु स्वाभाविक हो। वास्तवमै उनीहरुलाई संक्रमण पुष्टि भएमा सरकारले कसरी खोज्ला संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई?

अस्पतालका कर्मचारीबाट चरम लापरवाही भएको भन्दै कलंकीका २५ वर्षीया गोपाल महतले आक्रोश पोखे।

टिकट काट्दा उनलाई कर्मचारीले नाम सोधे। तर ठेगाना सोधेनन्। उनले आफ्नो घर कंलकी भन्नु भन्दा पहिल्यै कालामाटी लेखिदिए।

उनले भने, ‘हामीलाई नसोधी आफूखुसी ठेगाना राख्नुको कारण के हो? दोहोर्‍याए सोध्न खोज्दा उनीहरुले सुनेको नसुने गरे।’

एकअर्कालाई दोषी बनाउने प्रवृति उस्तै


कयौँ व्यक्ति यतिबेला जन्मथलोबाट नियमित काम सम्महाल्न सहर फर्किन थालेका छन्। तर उनीहरुका लागि कोरोना भाइरस परीक्षण अनिवार्य सर्त बनेको छ डेरा प्रवेशका लागि। कोही संक्रमति पुष्टि भएमा उनीहरुको सम्पर्कमा आएकाहरुको खोज गर्न सहज हुन्छ स्थायी ठेगाना भएमा।

थ्रोट स्वाब संकलनका बेला अस्पतालले गलत व्यत्तिगत विवरण राख्दा आफूहरुका लागि खोजपड्ताल जटिल बनिरहेको सवास्थ्य सेवा विभाग, महामारी तथा राग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए।

उनले भने, ‘संक्रमितको कतै मोबाइल नम्बर मिल्दैन, कतै नाम मिल्दैन, कतै ठेगाना मिल्दैन। अर्कोतिर संक्रमित भएकाले यसैपनि आफ्नाबारे सूचना लुकाउन खोज्छन्। त्यसबाट हामीलाई खोजपड्ताल गर्न समस्या भइरहेको छ। खोजपड्ताल राम्ररी नभए जोखिम बढ्नु स्वाभाविक हो।’

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा पनि गलत विवरणका कारण आफूहरुलाई समयमै रिपोर्ट दिन समस्या भइरहेको सुनाउँछिन्।

परीक्षणको दायरा बढाएपछि रिपोर्ट ढिलो आउनु स्वाभाविक भएको तर गलत नाम, ठेगाना र फोन नम्बरले रिपोर्ट दिन झन् समस्या परेको उनको भनाइ छ।

थ्रोट स्वाब संकलन गरेर पठाउँदा सबैभन्दा धेरै लापरवाही टेकु अस्पतालबाट हुने गरेको उनको आरोप छ।

तर टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने आफूसँग जनशक्तिको कमी भएकाले बढ्दो भार थेग्न कठिन भइरहेको बताए।

उनीले भने, ‘हामीसँग सिमित चिकित्सक र कर्मचारी छन्। परीक्षण गर्न र संक्रमति भएर आउनेको संख्या बढिरहेको छ। जति सकिन्छ राम्रो गर्ने प्रयास गरेका छौँ।’

परीक्षणका लागि अस्पताल पुग्ने शंकास्पद व्यक्तिहरुको नाम र ठेगानाको स्पष्ट विवरण राख्न राष्ट्रिय सूचना आयोगले समेत निर्देशन दिइसकेको छ।

अस्पतालमा सेवाग्राहीमाथि भइरहेको लापरवाही मात्रै होइन अस्पताल आफैले ब्यहोरेको समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएको डा. भण्डारी बताउँछन्। तर यसबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने अनविज्ञता प्रकट गरे।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा टेकु अस्पतालमा ‘लोड’ बढी हुँदा यस्ता समस्या देखिएको स्वीकार गर्छन् तर समस्याका समाधानका लागि उनीसँग पनि तत्कालका लागि उपाय छैन।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू