कोरोना परीक्षणलाई तीब्रता दिन जनकपुरधाम र राजविराजमा पीसीआर मेसिन

जनकपुरधाम– कोरोना भाइरसको जाँचलाई तिब्रता दिन प्रदेश सरकारले प्रदेश २ मा थप दुर्ई वटा पिसिआर मेसिन खरिद गरेर ल्याएको छ।

सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज र प्रादेशिक अस्पताल जनकपुरको लागि २ वटा पिसिआर मेसिन खरिद गरेर ल्याएको छ।

प्रदेश सरकारको मन्त्रिपरिषदले जनकपुरधाम, वीरगंज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरे अनुसार जनकपुरधाम र राजविराजको लागि आरटी पिसिआर मेसिन खरिद गरेर ल्याइएको हो।

जनकपुरधामस्थित पशुरोग अन्वेशन प्रयोगशालामा आरटि पिसिआर मेसिन संचालनमा ल्याइने छ भने राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याव संचालन गरिने भएको छ।

दुबै ठाँउको लागि मेसिन ल्याई जडानको काम समेत शुरु भइसकेको छ। जनकपुरधाम र सप्तरीको लागि ल्याइएको पिसिआरमा ४ घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने बताइएको छ।

यसभन्दा पहिले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पिसिआर जडान भएर सञ्चालनमा आइसकेको छ।

प्रदेश सरकारले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधी एवं अन्य सामग्री खरिदका लागि ५० लाख र वीरगंजको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख निकासा गरेको छ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्