संक्रमितको संख्या बढ्दै गए जटिल लक्षण देखिएकालाई मात्र अस्पतालमा, बाँकी घरमै

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ। यो संख्या बढ्दो छ। यीमध्ये ७० जना निको भएर घर फर्किसकेका छन् भने संक्रमणकै कारण ३ जनाको मृत्यु भइसकेको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। अहिलेसम्म संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य भए पनि विभिन्न जिल्लाका विभिन्न संक्रमितहरुलाई अस्पतालको आइसोलेसन वार्डमै भर्ना गरिएको छ।

संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा पछिल्लो समय अस्पतालमा संक्रमितलाई भर्ना गर्नका लागि बेडको अभाव हुन थालेको छ। यसका कारण लामो यात्रा गराएर एक जिल्लाका संक्रमितलाई अर्को जिल्लामा पुर्‍याउने काम समेत भइरहेको छ।

संक्रमितको संख्या बढ्दै जाँदा अब सामान्य संक्रमितलाई अस्पतालमा राख्न नसकिने मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले बताए।

उनले भने, ‘संक्रमितको संख्या यसरी नै बढ्दै गएको खण्डमा सामान्य संक्रमितलाई घरमै वा क्वारेन्टिनमा राख्ने छौँ। अहिले संक्रमितको संख्या कम भएर सबैलाई अस्पतालमा राख्न सम्भव भएको छ। संख्या बढ्दै जाँदा जटिल खालका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्नु पर्ने हुन्छ।’

कोरोना भाइरसको संक्रमितको संख्या दैनिक रुपमा बढ्दै जाँदा सरकार यस्तो तयारीमा जुटेको हो। अहिलेसम्म संक्रमित भएका विरामीमा जटिल प्रकृतिको संक्रमण नदेखिए पनि उक्त व्यक्तिबाट अरुमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उनीहरुलाई अस्पतालमा राखी उपचार गराइरहेको सह–प्रवक्ता डा. अधिकारीले बताए।

उनले भने, ‘अरुमा संक्रमण नफैदियोस् भनेर मात्रै संक्रमित जति सबैलाई अस्पतालमा राखिएको हो, हाम्रो देशमा जसरी संक्रमितहरुलाई अन्य देशमा अस्पतालमै राखेर उपचार गर्ने गरेका छैनन्। उनीहरुलाई घरमै वा क्वारेन्टाइनमा राख्ने गरिएको छ।’

उनका अनुसार संक्रमितको संख्या बढ्यो भने बिरामीको अवस्था हेरेर जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल लगिने उनले बताए। पछिल्लो समय नेपालमा संक्रमित भएका सबैलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिने गरिएको छ भने सम्भावित व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।

कोरोना भाइरसको ग्लोवल साइन अनुसार विश्व स्वस्थ्य संगठनले भन्ने गरेको छ, ‘एक सय जनालाई कोरोना भाइरस भए पनि ९७ प्रतिशतलाई माइल्ड सिम्टम्स (सामान्य लक्षण) देखिने गर्छ, भने ३ प्रतिशतलाई मात्रै अस्पताल नै राख्नु पर्ने वा चिकित्सकको सहयोग चाहिने खालका हुन्छन्।’

चिकित्सकका अनुसार संक्रमित भएका ८० प्रतिशतलाई कुनै उपचार चाहिँदैन। बाँकी २० प्रतिशतमा पनि १७ प्रतिशतलाई सामान्य रुघाखोकी, ज्वरो आएर सिटामोल खानु पर्ने भएपनि अस्पताल नै भर्ना गर्नु स्थिति छैन र तीन प्रतिशतलाई अस्पतालमा राख्नु पर्ने, भर्ना गरी आइसियू वा भेन्टिलेटर राखि उपचार गर्नु पर्ने हुन्छ।

तर, नेपालमा केही केस बाहेक संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने अवस्था छैन।

सरकारले पनि त्यसैलाई आधार बनाएर योजना अगाडि बढाएको र अहिले तत्काल ३ करोड जनसंख्यालाई धान्न सक्ने अस्पताल बनाउन सम्भव नभएको डा. अकिारीले बताए। उनले भने, ‘त्यसैले संक्रमितहरुलाई जसरी हुन्छ, त्यसरी नै व्यवस्थित गरिने छ। अस्पताल बाहेक क्वारेन्टिनमा पनि अक्सिजन, भेन्टिलेटर जडान गरी उनीहरुको उपचार गर्नु पर्ने पनि हुन सक्छ।’

यस्तै मन्त्रालयले कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ जसमा कोरोना भाइरस संक्रमितको उपचारका लागि २५ वटा हब अस्पताल तोकिएको छ भने १ सय २७ वटा अस्पतलमा क्लिनिक सञ्चालन गरिएको छ। योसँगै कोभिडका अस्पताललाई तीन तहमा विभाजन गरिएको छ। पहिलो तहमा १३ वटा, दोस्रो तहमा १२ र तेस्रो तहमा ३ बटा अस्पताल तोकिएका छन्।

पहिलो तहका १३ वटा अस्पताल
– प्रदेश १ मा अस्थायी कोरोना विशेष अस्पताल (विराटनगर) पहिलो तहका लागि तोकिएको छ।
– प्रदेश २ मा जानकी अस्पताल रहेको छ।
– बागमती प्रदेशमा आयूर्वेदिक अनुसन्धान तथा तालिम केन्द्र अस्पताल (काठमाडौँ), मेडिकल कलेज (दुवाकोट), अस्थाई कोरोना विशेष अस्पताल (भरतपुर अस्पताल चितवन) गरी तीन वटा अस्पताल तोकिएका छन्।
– गण्डकी प्रदेशमा बाग्लुङ अस्पताल, अस्थाई कोरोना विशेष अस्पताल (पोखरा), पहिलो तहका अस्पताल हुन्।
– प्रदेश ५ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल (केन्द्रिय आयूर्वेदिक विद्यापीठ, बेलझुण्डी), अस्थाई कोरोना विशेष अस्पातल (बुटवल), भिम अस्पातल (भैरहवा)
– कर्णाली प्रदेशमा अस्थाई कोरोना विशेष अस्पताल (सुर्खेत) तोकिएको छ।
– सुदूरपश्चिम प्रदेशमा अछाम अस्पताल पहिलो तहका लागि तोकिएको छ।

दोस्रो तहका १२ वटा अस्पताल
– प्रदेश १ मा कोशी अस्पताल रहेको छ।
– प्रदेश २ मा नारायणी अस्पताल, जनकपुर अस्पताल रहेका छन्।
– बागमती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल ससस्त्र प्रहरी बल अस्पताल (एपीएफ), भरतपुर अस्पताललाई दोस्रो तहका अस्पताल तोकिएको छ।
– गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ।
– प्रदेश ५ मा लुम्बिनी अस्पताल रहेको छ।
– कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान, सुर्खेत अस्पताल गरी दुई वटा आस्पताल रहेको छन्।
– सुदूरपश्चिम प्रदेशमा सेती अस्पताललाई तोकिएको छ।

तेस्रो तहका ३ वटा अस्पताल
बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), त्रि.वि. शिक्षण अस्पताल (काडमाडौँ), नेपालगञ्ज मेडिकल कलेज (कोहलपुर) गरी देशभरबाट तीन वाट अस्पताललाई तेस्रो तहका अस्पताल तोकिएको छ।

तीन तहका अस्पतालमा संक्रमितको उपचार कसरी गरिन्छ?

कम कम्पिलिकेसन भएका अर्थात सामान्य अवस्थाका संक्रमितलाई पहिलो तहका अस्पतालमा राखिने सहप्रवक्ता डा. अधिकारीले बताए।

त्यस्तै डा. अधिकारीका अनुसार सामान्य अवस्था भन्दा अलि जटिल समस्या देखिएका संक्रमितहरुलाई दोस्रो तहमा राखि उपचार गरिने छ गम्भीर प्रकृतिका संक्रमितलाई तेस्रो तहका अस्पतालमा उपचार गरिन्छ।

‘गम्भीर अवस्थाका विरामीका विरामीलाई अक्सिजन, भेन्टिलेटरको आवश्यक पर्ने भइका कारण उनीहरुलाई तेस्रो तहको अस्पतालमा उचार गरिन्छ’, डा. अधिकारीले भने।

हब अस्पतालहरु

– प्रदेश १ मा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल र मेची अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि हब अस्पतालका रुपमा तोकिएको छ।

– प्रदेश २ का गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल, जनकपुर अस्पताल र नारायणी अस्पताल हब अस्पताल तोकिएको छ।

– बागमती प्रदेशमा सबैभन्दा धेरै ८ वटा हब अस्पताल तोकिएका छन्। त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरेन्द्र अस्पताल, भरतपुर अस्पताल र धुलिखेल अस्पताल छन्।

– गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल तोकिएका छन्।

– प्रदेश ५ मा ४ वटा हब अस्पताल तोकिएका छन्। भेरी अस्पताल, लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती अञ्चल अस्पताल रहेका छन्।

– कर्णाली प्रदेशमा प्रदेशीय अस्पताल सुर्खेत र कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान हब अस्पताल हुन्।

– प्रदेश ७ मा डडेलधुरा अस्पताल, महाकाली अस्पताल र सेती अस्पताल गरी तीन वटा हब अस्पताल हरेका छन्।

कति छन् बेड?
सरकारले तोकेका निजी तथा सरकारी सबै अस्पतालको बेड संख्या २६ हजार ९ सय ३० बेड रहेको छ। योसँगै ३ हजार ७६ आइसोलेसन बेड छन्। यस्तै देशभरका अस्पतालमा १ हजार ५ सय ९५ आईसीयू बेड छन् भने ८ सय ४० भेन्टिलेटर छन्।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्