कराँची विमान दुर्घटना : विमान सम्पर्क बाहिर जानुअघि क्याप्टेनको भनाई, ‘ल्यान्डिङ गियरमा समस्या आयो’

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान। फाइल तस्विर

लाहोर – लाहोरबाट कराँची फर्किरहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान अवतरण गर्न लाग्दा दुर्घटना भएर बस्तीमा खसेपछि ठुलो संख्यामा मानवीय क्षती भएको अनुमान गरिएको छ।

जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभन्दा एक मिनेटअघि विमान बस्तीमा खसेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल सत्तर कोखारको भनाई उदृत  गर्दै समाचार संस्था एपीले एयरबस ए ३० मा ९९ यात्रु र ८ जना क्रु मेम्बर रहेको उल्लेख गरेको छ।

पीआईएको विमान दुर्घटना हुँदा लाहोरबाट आइरहेको पीके-३०३ विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तयारीमा थियो। पाकिस्तानको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमान दुर्घटनापछि लाहोरका सबै अस्पताललाई ‘इमर्जेन्सी’ घोषणा गरेको छ।

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका प्रवक्ताले भनेका छन्- अवतरण गर्न लाग्दा विमानका क्याप्टेनले एयर ट्राफिक कन्ट्रोललाई ल्यान्डिङ गियरमा समस्या आइरहेको बताएका थिए, त्यसपछि विमान कन्ट्रोलको सम्पर्कबाहिर गयो।

विमान दुर्घटना भएको स्थानका केही घर र सवारी साधन क्षतिग्रस्त भएको जनाइएको छ। हालसम्म चार जनाको शव निकालिएको र केहीलाई अस्पताल पुर्‍याइएको सन्चार माध्यमहरुले उल्लेख गरेकाा छन्। प्रत्यक्षदर्शीहरुले विमान झरिरहेका बेला पखेेँटाबाट आगो निस्किरहेको र घरको छतमा आएर बजारिएको बताएका छन्।

पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान चार वर्षपछि पहिलोपटक दुर्घटना भएको हो। एटिआर ४२ विमान दुर्घटना भएको एक सातापछि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका तत्कालिन प्रमुखले राजिनामा दिएका थिए। त्यस दुर्घटनामा ४७ जनाको ज्यान गएको थियो।

निरन्तरको लकडाउनपछि पाकिस्तानमा केही दिनअघि मात्र सिमित घरेलु हवाई उडान खुला गरिएको थियो।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्