शून्य समय

सीमा विवादले खोलेको भारतीय आत्मसमीक्षाको स्वागतयोग्य पाटो

यो लेख दुई वटा मान्यता र निकै हदसम्म विश्वासमा आधारित छ। पहिलोः प्राय सबै छिमेकी मुलुकहरुबीच सीमा विवाद उत्पन्न हुनसक्छ, हुन्छ। दोस्रो, समाधान बिनाको समस्या हुँदैन, र त्यो समस्या ठूलो हो कि सानो, हाम्रो चरित्र र नियतको संकिर्णता या मस्तिष्क र हृदयको विशालतामा भर पर्छ। कालापानी तथा त्योसँग जोडिएका क्षेत्रहरु सम्बन्धी विवादको समाधान अपवाद नहोला।

तर यो चरणको सीमा विवादमाथिको ‘पोजिसनिङ’का क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पाटोहरु खुलेका मात्र छैनन्, कहीँ आत्मसमिक्षाको क्रम त सुरु भएको हैन दिल्लीमा? कहीँ नेपालमा भारतीय हस्तक्षेप निम्त्याई नेपालमा सत्तामा बसेका (दिपक ज्ञवालीको शब्द सापट लिएर) ‘लम्पसारवादी’ छट्पटाउने क्रम त सुरु भएको हैन? त्यसका प्रारम्भिक संकेतहरु देखा पर्न थालेका छन्।

यो प्रसंगमा नेपाल र भारतका सम्बन्धमा एक अर्काप्रतिका अविश्वासपूर्ण आशंका या अवधारणा बुझ्नु आवश्यक छ। सबभन्दा बढी दोहोर्‍याइने अवधारणा अनुसार भारत नेपालको कुनै पनि मौजुदा शासन अथवा सत्ता अलोकप्रिय बन्दा त्योसँग अधिकतम फाइदा लिने गर्छ र त्यसको विकल्पमा देखापरेको शक्ति या सत्ताको अभिभावक बन्छ तत्काल।

सन् १९५० को सन्धि (मोहन शमशेरसँग), २०४६ मा राजा वीरेन्द्र र २०६२/०६३ मा राजा ज्ञानेन्द्रसँग भारतीय सुरक्षा छातामा आउन र जलस्रोतमा भारतको प्राथमिक अधिकार स्वीकार गर्न राखेको प्रस्ताव र त्यो नमान्दा पहिला बहुदलको आन्दोलन र पछि माओवादीहरुलाई समर्थन गरेका प्रतिनिधि उदाहरणहरु छन्।

त्यस्तै भारतमा नेपालबारे अक्सर दोहोर्‍याइने अवधारणा होः नेपाली भुमि भारतविरोधि शक्तिहरुका लागि सुरक्षित र उर्वर आश्रय थलो हो। सन् ५० र ६० को दशकमा चीन भारतको प्रतिद्वन्द्वी र ‘शत्रु’ पक्ष बन्यो भने ७० को दशकमा अमेरिका। सन् १९८० को दशकमा पाकिस्तान तथा आइएसआई। अहिलेका दिन, र यता कालापानी–लिपुलेक–लिम्पियाधुरा विवाद चर्कदा चीन भारतीय अवधारणामा उसको प्रतिद्वन्द्वी शक्ति बनेको छ।

अवधारणा र यथार्थमा सामञ्जस्य खोजिएन भने त्यो अवधारणाले समस्यालाई उसको यथार्थ आकारभन्दा धेरै ठूलो बनाउँछ। अहिले सीमा विवाद चर्केपछि नेपालमा भइरहेका विरोध प्रदर्शनमा पूर्णरुपले चीनको हात देख्नुमा भारतको अन्धो अवधारणा त दोषी छैन?

यी अवधारणालाई यन्त्रवत् रुपमा प्रयोग गरी समस्या समाधान गर्न सकिन्न। किनकि त्यसले ‘मेरो गोरुको बाह्रै टक्का’को जडवत् मानसिकतालाई प्रधानता दिन्छ, र ‘गिभ एण्ड टेक’का मध्यमार्गी र व्यवहारिक पक्षलाई ओझेलमा पार्छ। तर पनि यो चरणमा नेपाल–भारत–चीन (तिब्बत)को सीमावर्ती क्षेत्रबारे विवाद उठ्दा भारतमा नीति निर्धारक र ‘थिंक ट्याङ्क’का रुपमा चिनिएका केही व्यक्तिहरुबाट आएका टिप्पणीहरुले सम्बन्ध चिसिनुमा सीमा विवादहरु मात्र हैन, भारतका नीतिगत विचलन पनि जिम्मेवार भएको देखाएको छ।

सीमा विवादकै प्रसंगमा भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल गगनदीप वक्सीले एक भारतीय टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा एकातिर उनले नेपालमा चीन अत्यन्त प्रभावकारी ढंगले प्रवेश गरेकोमा आपत्ति जनाए भने अर्कोतिर भारतको कांग्रेस नेतृत्वको सरकारले नेपालमा माओवादीलाई सत्तामा पुर्‍याउनु, हिन्दु राज्यलाई ढाल्नु जस्ता काम गरेर भारतले आत्मघाती गोल गरेको बताए।

अवधारणा र यथार्थका सामञ्जस्य खोजिएन भने त्यो अवधारणाले समस्यालाई उसको यथार्थ आकारभन्दा धेरै ठूलो बनाउँछ। अहिले सीमा विवाद चर्केपछि नेपालमा भइरहेका विरोध प्रदर्शनमा पूर्णरुपले चीनको हात देख्नुमा भारतको अन्धो अवधारणा त दोषी छैन?

छत्तीसगढमा आतंककारी भनेर लडेका शक्तिलाई नै नेपालमा सत्तामा पुर्‍याउनुको परिणाम अहिले नेपालमा भारतले भोगिरहेको निष्कर्ष भारतीय सत्ताको एउटा उपल्लो तहको अवकाश प्राप्त अधिकृतले गर्छ भने त्यो विषयलाई सम्भवतः भारत सरकारले गम्भीरताका साथ लिइरहेको हुनुपर्छ। अहिलेको प्रसंगमा यो एक्लो आत्मसमीक्षाको उदाहरण हैन भारतमा।

मनीषा कोइरालाले केही विलक्षण उपलब्धि हासिल गरेकी छन् प्रतिस्पर्धायुक्त भारतीय सिने जगतमा। क्यान्सरविरुद्धको युद्धमा जीवित निस्केपछि दम्भभन्दा बढी उनले त्यसबाट आक्रान्तहरुको रक्षा अभियानमा एउटा स्वयंसेवीका रुपमा समर्पित भूमिका निर्वाह गर्दै आएकी छन्।

बीपी कोइरालाको राजनीतिक आस्था र दर्शनको प्रतिनिधि बन्दा प्रजातन्त्र र राष्ट्रियताको सन्तुलित बचाउमा उभिनुपर्छ, खतरा मोलेर भएपनि, उनले बुझेकी छन्। बुझ्नु पर्याप्त हुँदैन कहिलेकाहीँ उदाहरण बन्न सक्नु पर्छ।

सीमा विवादबारे मनीषाले ट्वीटमार्फत एउटा टिप्पणी गरिन्, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमार्फत ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै सात प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषद् को निर्णय भएको र आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने’ जानकारी दिएपछि।

अंग्रेजीमा लेखिएको ट्वीटमा कोइरालाले भनिन्, ‘धन्यवाद्, हामी सानो राष्ट्रको मर्यादाको पक्षमा कदम उठाए वापत… हामी सबै तीन महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको प्रतिक्षामा छौँ।’

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा उनीविरुद्ध अपमानजनक टिप्पणीहरुको वर्षा भएको छ भने केही भारतीय सञ्चारमाध्यमहरुले घृणाका ती शब्दहरुको अनुमोदन हुनेगरी आफ्ना कार्यक्रममा त्यसलाई महत्वपूर्ण स्थान दिएका छन्। तर, सञ्चार र भारतीय आवादीको त्यो एउटा सुक्ष्मतम हिस्सा हो, र भारतको महानता स्वीकार गर्नेले त्यसलाई भारतीय धारणा मान्ने छैनन्।

‘साना’ राष्ट्रहरुको सबभन्दा महत्वपूर्ण पुँजी र चाहना उनीहरुको मर्यादा र आत्मसम्मान हो। सार्वभौम हैसियतको मौलिक सिद्धान्त र जग पनि हो त्यो। यो अभिव्यक्ति दिँदा भारतमा उनीविरुद्ध खनिएकाहरुले भन्दा मनीषा कोइरालाले बुझ्नुपर्ने तथ्य के हो भने उनका हजुरबुवा बीपी कोइराला लगायतले भारतीय स्वतन्त्रता तथा प्रजातन्त्रको आन्दोलनमा सामेल भई जेल पर्दा एउटा कुरामा उनी पक्कै स्पष्ट थिए, त्यो संलग्नता, वाक र प्रकाशनसँगै नागरिकहको विविध स्वतन्त्रताका लागि थियो, निजी स्वार्थका लागि थिएन। आलोचनाको अधिकारको रक्षामा पनि थियो त्यो।

यति मात्र हो, स्वतन्त्र भारतको ‘ट्रोल’ले हैन, व्यापक नागरिक समाजले कति मर्यादित तरिकाबाट आफ्नो आक्रोश र आलोचना व्यक्त गर्छन्, अरुलाई कसरी सम्मान गरिन्छ, त्यसले आफूले पाउने सम्मान निर्धारित हुन्छ।

मनीषा कोइरालाको अपमानसँगै मेजर जनरल वक्सीले जसरी नै भारतीय नीति निर्धारक तहको अर्को पक्षले नेपालमा भारतद्वारा गरिएको षडयन्त्रपूर्ण हस्तक्षपको अर्को पाटो बाहिर ल्याएका छन्। भारतको उत्तरपश्चिमी राज्य मिजोरम मा राज्यपाल रहिसकेका स्वराज कौशलको आफ्नो राजनीतिक र सामाजिक पृष्ठभूमि छ।

राजनीतिक रुपमा उनी समाजवादी आन्दोलन र दलहरुसँग संलग्न भए। अटल बिहारी वाजपेयी सरकारमा रक्षामन्त्री बनेका जर्ज फर्नान्डिजसँग उनको र उनकी पत्नी सुष्मा स्वराजको राजनीतिक निकटता रह्यो, यद्यपि सुष्मा स्वराज सन् १९९० को दशकमा भारतीय जनता पार्टीमा प्रवेश गरी नेतृत्व तहमा उक्लिइन्। स्वराज कौशल र सुष्मा स्वराज दुवै वीपी कोइरालालाई आफ्नो आदर्श मान्ने गर्थे।

मनीषाले तीन ‘महान’ मुलुकहरुबीच ‘सम्मानजनक’ र शान्तिपूर्ण वार्ताको पक्षमा लेखेपछि स्वराज कौशलले एउटा भावुक पत्र लेखे छोरी जस्ती मनीषालाई, वीपी, मनीषाका बा, आमा र मनिषा स्वयंसँगको निकट पारिवारिक सम्बन्धको विस्तार स्मरणसहित। तर, सीमा समाधानमा चीनको संलग्नता खोजेकोमा असहमति र आपत्ति व्यक्त गरेका छन्, ‘भारतको शिकायत होला नेपालसँग या नेपालको भारतसँग, त्यो नेपाल भारतबीचको कुरा हो। तर, तिमीले चीनलाई किन घुसाउँदै छौ? त्यो हाम्रा लागि र नेपालका लागि पनि राम्रो हुने छैन।’

विवादित क्षेत्रमा भारत र चीनले सन् २०१५ मे मा दुई पक्षीय सम्झौतामार्फत व्यापार तथा पर्यटनका लागि नेपाललाई थाहै नदिई सडक निर्माणको निर्णय नगरेको भए पक्कै पनि त्रिपक्षीय वार्ता सान्दर्भिक हुने थिएन। नेपाल र भारतबीच अहिले विवाद चर्केपछि चीनले यो दुई पक्षीय मामिला भएकाले र नेपाल तथा भारतले संयम र शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने अडान लिएता पनि सन् २०१५ को नरेन्द्र मोदी र चिनियाँ समकक्षी ली कछ्याङबीचको लिखित सहमति त्यसमा बाधक बन्नु हुँदैन।

यो विषय पूर्वगभर्नर ‘कौशल’ र ‘छोरी’ मनीषा कोइरालाबीचको संवादमा सिमित नरहेर नीतिगत विचलन र सुधारका रुपमा प्रस्तुत भएमा त्यसले नेपाल–भारत सम्बन्धमा एउटा तितो अनुभवबाट सिकेको र सुधारिएको कुटनीतिको रुप लिनेछ। आफ्नो त्रुटी सच्याउने मुलुकले नेपालमा मात्र हैन सर्वत्र स्वागत र सम्मान पाउने छ।

चीनको संलग्नताप्रति आपत्ति जनाउँदा जनाउँदै भारतले २०६२–०६३ मा अख्तियार गरेको नेपाल नीतिमा षड्यन्त्रको पाटो भएको अभिव्यक्ति कौशलले दिएका छन्, मनीषा कोइरालालाई लेखेको पत्रमा। ‘भारतीयहरुले थाहा पाउनुपर्छ कि विश्वको एउटा मात्र हिन्दु राष्ट्रलाई समाप्त पार्ने षड्यन्त्र भयो। उनीहरुले माओवादीसँग सहकार्य गरे। प्रचण्ड र बाबुरामलाई सुरक्षित आतिथ्य प्रदान गरे। एक्लो हिन्दु राष्ट्रलाई धराशायी बनाए। उनीहरुको लक्ष्य पूरा भयो’, कौशलले यो समग्र प्रकरणमा को अपराधी भनेर नाम किटान नगरेपनि तत्कालीन (२०६२–०६३) भारत सरकार र भारतीय कूटनीतिको चिनिने श्याम सरणको अनुहार त्यो ट्वीटमा झल्किन्छ।

त्यही ‘षड्यन्त्र’को परिणामका रुपमा कम्युनिष्टहरुले चीनलाई भारतविरुद्ध, र चीनले कम्युनिष्टहरुलाई भारतविरुद्ध प्रयोग गरेको उनको ठहर छ। तर भारतीय नेतृत्वको कारण यदि यो षड्यन्त्र सफल भई चीनको हैसियत बढेको हो भने दोषी को? जवाफदेही को? पूर्वराज्यपाल कौशलले केही भनेका छैनन्।

कौशल र मेजर जनरल वक्सीका अभिव्यक्तिमा अर्को एउटा समानता छ। नेपालमा उत्पन्न परिस्थिति र भारत विरोधी संगठित या असंगठित भावनालाई आफ्नो पक्षमा प्रयोग गर्ने कोशिस चीनले नगर्ला भन्न सकिन्न। तर भारत र नेपालबीचका सबै सम्बन्ध चीन सापेक्ष भएको ठहर यदि भारतको हो भने ऊ झन् नेपालमा असान्दर्भिक नबन्ला र? नेपाल–भारत सम्बन्धका आफ्नै आयाम र पक्ष छन्, तर अक्सर नेपालको आन्तरिक मामिलामा बढी हस्तक्षेप र कौशल तथा जनरल वक्सीले यता आएर संकेत गरेजस्तो षड्यन्त्रपूर्ण कूटनीतिका कारण ऊ अलोकप्रिय बनेको हो। ती षड्यन्त्रले नेपालमा भारतको विरोधको लागि वैधानिकता दिन्छ र त्यसलाई तेस्रो पक्ष चीनको उक्साहटमात्र भन्नु सही हुनेछैन।

हो, विगत १५ वर्षमा नेपालको राजनीति तहसनहस भएको छ। आन्तरिक राजनीति जहिले पनि जनताको हातमा हुन्छ स्वतन्त्र र सार्वभौम मुलुकमा। तर भारतले जसरी शान्ति र १२ बुँदेका नाममा नेपालको राजनीति परिचालित गर्न थाल्यो, त्यसले हिन्दु राष्ट्रको हैसियत मात्र हैन, त्यही षड्यन्त्रपूर्ण शैलीमा गणतन्त्र र संघीयता पनि स्थापित गर्‍यो।

बाबुराम, प्रचण्ड या त्यो षड्यन्त्रमा सामेल नेपाली नेताहरु अहिलेसम्म नेपाली जनताप्रति जवाफदेही भएका छैनन्, हुनु आवश्यक पनि छैन। किनकि उनीहरु विदेशी शक्तिलाई रिझाएर आफूलाई फाइदा पुग्ने राजनीति सृजना गर्न सफल भएका छन्। तर, के मेजर जनरल वक्सी या कौशलले आफ्नै सरकारबाट नेपालमाथि भएको त्यो षड्यन्त्रको पात्रहरुलाई जवाफदेही बनाउन सक्लान्?

यो षड्यन्त्रका कारण नै भारतीय कुटनीतिका सहयात्री, युरोपेली मुलुक र अमेरिका धर्म परिवर्तन र धर्म निरपेक्षतालाई एउटै सिक्काका दुई पाटाका रुपमा नेपालको राष्ट्रिय एजेन्डा बनाउन सफल भए। उनीहरुको उपस्थितिका कारण त्यसको प्रतिक्रियामा चीनले नेपालमा उपस्थिति र लगानी बढाउनुका साथै राजनीतिक हैसियत हासिल गरेको हो।

यो विषय पूर्वगभर्नर कौशल र ‘छोरी’ मनीषा कोइरालाबीचको संवादमा सीमित नरहेर भारतले आफ्नो नीतिगत विचलनलाई स्वीकार गर्दै त्यसको सुधारमा अघि बढेमा त्यसले नेपाल–भारत सम्बन्धमा एउटा तितो अनुभवबाट सिकेको र सुधारिएको कुटनीतिको रुप लिनेछ। आफ्नो त्रुटी सच्याउने मुलुकले नेपालमा मात्र हैन सर्वत्र स्वागत र सम्मान पाउने छ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्