रचनागर्भ

अम्बर गुरुङको त्यो ऐतिहासिक सिर्जना- सुगौली सन्धि हामीले बिर्सेको छैन भनिदेऊ

स्वर्गीय संगीतकार अम्बर गुरुङ २०७३ साल जेठ २५ मा यो संसारबाट बिदा भए। त्यसकै भोलिपल्ट रेडियो सगरमाथाको कार्यक्रम खुल्लामञ्चमा रेडियो सगरमाथाकै तत्कालीन निर्देशक रघु मैनालीको अन्तर्वार्तासहित अम्बर गुरुङकै स्वरमा एउटा गीत बज्यो,

‘सुगौलि सन्धि हामीले बिर्सेको छैन भनिदेऊ,
किल्ला काँगडा हामीले बिर्सेको छैन भनिदेऊ!

सञ्चारकर्मी मैनाली भन्छन्, ‘हामीले धेरै आग्रहमा उहाँलाई यो गीत गाउँन लगाएका हौँ। युट्युबमा विभिन्न च्यानलमा भेटिने यो गीत २० वर्षभन्दा अगाडि रेकर्ड भएको हो।’

मैनाली भन्छन्, ‘त्यो स्टुडियो रेकर्ड हैन, सगरमाथा अम्बर गुरुङ साँझ कार्यक्रम आयोजना गरेर त्यो गीत रेकर्ड गरिएको हो।’

मैनालीका अनुसार कार्यक्रम आयोजना नै त्यही गीत रेकर्ड गराउनको लागि गरिएको थियो। कुरा विसं २०५४ असार ६ गतेको हो, डिल्लीबजारको फ्रान्सेली साँस्कृतिक केन्द्रमा सरगमाथा अम्बर साँझ, आयोजना भएको थियो।

रघु मैनाली।

१००० भन्दा धेरै गीतमा संगीतकार गुरुङको नाम जोडिएको छ, उनी द्वारा संगीतबद्ध धेरै गीत राष्ट्रिय भावका छन्। संगीतका लागि समर्पण गरेका गुरुङले अहिलेको राष्ट्रिय गीत ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली’ मा पनि संगीत भरे तर जुगौँ अगाडि लेखेर संगीत भरेको, टोल टोलमा गाउँदै क्रान्ति निकालेको यो गीतलाई आफू मरेपछिमात्र विद्युतिय माध्यमबाट प्रशारण गर्न भने।

जब जब नेपालको सीमामा खिचातानीको विवाद निस्किन्छ, हरेक नेपालीको मन चिसो हुन्छ। सन् १८१५ को डिसेम्बर २ मा भएको ‘सुगौलि सन्धि’ को चिस्याहट समयसँगै नेपालीको मनमा अझै गाढा बन्छ, बन्दैछ।

भारतलाई उपनिवेश बनाई शासन गरिरहेको बेलायतले नेपालबाट धेरै भूमि आफ्नो स्वामित्वमा लियो । सन् १९४७ मा भारत बेलायतको उपनिवेशबाट पूर्ण स्वतन्त्र भयो तर नेपालले आफ्नो भूमि फिर्ता पाएन। उल्टो सन्धिमार्फत भारतसँग गाभिएको नेपाली भूमिका बासिन्दा र नेपाली सँस्कृतिमाथि आक्रमण हुन थाल्यो।

त्यही समय थियो, संगीतकार अम्बर गुरुङ र अगमसिंह गिरी लगायतका युवा यो आक्रमणको विरोधमा उत्रिए, गीत संगीतमार्फत। हिन्दुस्तान रेकर्ड, कलकत्तामा गीत रेकर्ड भयो, ‘नौलाख तारा उदाए धर्तीको तारा हाँसेछ।’

यो गीतलाई अल इन्डिया रेडियोले प्रशारणमा प्रतिबन्ध लगाइदियो। अगमसिंहसँग उनको सहकार्य जारी नै थियो। यही समयमा लेखिएको गीत हो, ‘सुगौलि सन्धि हामीले बिर्सेको छैनौ भनिदेऊ।’

तर यो गीत कहिले पनि रेकर्ड भएन। नेपाली भाषा र सँस्कृतिको पक्षमा उनको लडाइँ चलिरहेकै थियो, गीति अभियानद्वारा उनले शसक्तिकरण छोडेका थिएनन्। त्यसपछि उनी तत्कालीन राजा श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको बोलावटमा नेपाल आए र दार्जिलिङ फिरेनन्।

मैनाली भन्छन्, ‘भारतमा धेरै दुख पाउनुभएको र नेपाल आउनुभएको उहाँलाई नेपालको राजनीतिक नेतृत्व राष्ट्रियताप्रति सजग नभएकाले उहाँले ‘पहिला पनि दु:ख भोगिसकेँ, मैले मात्र भनेर के गर्ने’ भन्नुहुन्थ्यो, अलि फ्रस्टेट हुनुहुन्थ्यो।’

मैनालीका अनुसार धेरै आग्रहमामात्र गुरुङले यो गीत रेकर्ड गराएका थिए। यो इतिहास हो, यसलाई रेकर्डमा राखौँ भनी राजी गराई रेकर्ड गरिएको थियो।

त्यो पनि दुई सर्तमा,

१. ‘म जीवित हुँदासम्म नबजाउने,
२. गीतको बीचमा मैले केही बोल्ने’

गीतको शब्द यस्तो छ,

सुगौली सन्धि हामीले बिर्सेको छैन भनिदेऊ,
किल्ला काँगडा हामीले बिर्सेको छैन भनिदेऊ

हामीलाई यस्सै गिज्याई बेलाले केही भन्दैछ,
जलेका लाख मुटुलाई काँडाले यहाँ उन्दैछ
सुनेर केही बुझ्यौ कि पीरले छाती पगाली
धिक्कारी देला युगले दुर्बल सम्झी नेपाली
सुगौली सन्धि हामीले

देउरालीबाट कुर्लेर पहाड पाखा थर्काऊ
पीरले त्यसै बगेका हजार मानव फर्काऊ
छातीमा पीर मिचेर, आँखामा आँशु लिपेर
मनको घाउ सुक्दैन हाँसोले बिचै थिचेर
सुगौली सन्धि हामीले

लडेर मर्न हामीले भुलेका छैनौँ भनन
रगतको गोला मुटुमा सुकेको छैन भनन
आलै छ रगत माटोमा कलुङगा कहाँ बिर्सन्छौँ ?
नेपाली गौरव उचाल्छौ बलभद्र कहाँ बिर्सन्छौँ?
सुगौली सन्धि हामीले,

२०५४ सालमा ५० जनाको बिचमा बजेको गीत, २० वर्षपछि रेडियोमार्फत प्रशारण भयो । मैनालीले आफ्नो बाचा पूरा गरे। हुन त पहिलोपल्ट गुरुङले कार्यक्रममा गाएका भने पक्कै हैनन्। मैनालीका अनुसार यो गीत ‘नौ लाख तारा उदाए’ सँगै सिर्जना भएको हो, दार्जिलिङका बस्तीमा यो गीत धेरै गुञ्जिसकेको थियो, कीर्तिपुरमा भएको एक कार्यक्रम माझ उनले यो गीत गाएका थिए।

तर, किन चाहँदैन थिए अम्बर यो गीत आफू जिउँदो हुँदै बजाउन?

अहिले पाइने रेकर्डेड गीतको बिचमा सुनिन्छ, ‘खै के बुझ्यौ?’ सायद अम्बरलाई लाग्थ्यो, यो गीतको भाव नेताहरुले बुझ्दैनन्। प्रवासी हुनुको पीडा, आफ्नै भूमिमा पराइको व्यवहार खेप्नुको पीडा, आफ्नो सँस्कृति र भाषा अर्कैले हडप्न खोज्दाको पीडा।

‘अम्बर गुरुङ एउटा सजग सर्जक हो, उहाँ राष्ट्रियता, समाज अनि कलाप्रति अत्यन्तै सजग हुनुहुन्थ्यो। उहाँका गीतमा राष्ट्रप्रेम छर्लङ्ग थियो,’ मैनाली भन्छन्, ‘उहाँ यस्तो हुनुमा ऐतिहासिक कारण छ, प्रवासी पीडामा रहनुभयो, राष्ट्रियताको अभाव अनुभूत भइरह्यो। उहाँले जति देशभक्ति भावका सिर्जना नेपालभित्रका अरु सर्जकले गरेका छैनन् र गर्न सक्दैनन् पनि ।’

मैनालीका अनुसार गोपाल योञ्जन र अम्बर गुरुङले राष्ट्रप्रतिका गीतहरु हुन्छन् र यी पनि लोकप्रिय हुन्छन् भनेर स्थापित गरेका हुन्। उनीहरुले राष्ट्रभावका गीत नेपालीको मन मनमा बसाए।

तर गुरुङलाई यस्ता क्रान्तिकारी गीत बनाएर पनि नेपाली नेतृत्वको राष्ट्रप्रतिको समर्पणभाव कम लाग्थ्यो, उनमा नैराश्य छाएको थियो।

संगीतकर्मी आभास भन्छन्, ‘नेपालमा बसेका भन्दा नेपालभन्दा बाहिरबाट आउनेहरुको राष्ट्रभाव छुट्टै थियो। भइरहेको राष्ट्रियता गुमाएर, भूमि गुमाएर दुख खेपेको समाजबाट आउनुभएको थियो। गोपाल योञ्जनका सिर्जनामा पनि त्यो भाव पाउन सकिन्छ।’

भूमि गुमाए पनि आफ्नो देश भनेर अम्बर नेपाल आएका थिए। आभास भन्छन्, ‘सन्धि नेपालले मानिसकेपछि यो गीतको के मतलब भन्ने पनि भयो होला तर सार्वजनिक समारोहमा गाइरहने गीत रेडियोमा किन नबजाऊ

आभास।

भन्नुभयो थाहा छैन।’

अहिले हामीले युट्युबमा सुन्न पाउने यो रेकर्डेड गीत अम्बरले गाउँदा आभासले पनि मञ्च साझा गरेका थिए। गीतारमा प्रविन गुरुङ थिए, तबलामा अच्युतराम भण्डारी थिए।

दार्जिलिङका बासिन्दा ‘टेक्निकल्ली’ भारतीय हुन् तर इतिहासमा नेपाली थिए। लिपुलेक, कालापानी मुद्दाले अहिले नेपाल कत्रो थियो र नेपालको भूभाग कुन कुन थिए भनेर खोतल्दै छ। आभास भन्छन्, ‘नयाँ पुस्तामा काँगडादेखि टिस्टासम्म नेपाल थियो भनेर कमैलाई थाहा छ। जसले त्यो भूमि गुमाए उनीहरु भावनात्मक रुपमा जोडिएका छन्, उनीहरुसँग भाषा र सँस्कृति नै मिल्दो छ।’

किशोर गुरुङ।

यहाँ आएपछि अम्बरले आफ्नो भावना कला मार्फत पोखेका हुन्। कलाको काम पनि त्यही हो। ‘राष्ट्रिय गानमा अम्बर गुरुङ र गोपाल योञ्जनको नाम किन आउँछ भने, उहाँहरुले त्यो राष्ट्र गुम्दाको पीडाको इतिहास बुझ्नुभएको छ।’ आभास भन्छन्, ‘नेपालको इतिहास र दार्जिलिङको मनोभावलाई बुझेर विश्लेषण गर्नुपर्छ।’

उनको अनुसार पछिल्लो केही समयदेखि कलाकारहरु विवादित विषयबाट पन्छिने चलन पनि देखिएको छ। पञ्चायत कालमा काम गरेका कलाकारहरु विषेशगरी राजनीतिबाट अलि टाढा नै बस्ने स्वाभाव पनि थियो।

नेपालका प्रधानमन्त्री मरिचमानसिंह हुँदा नेपाललाई भारतले नाकाबन्दी गर्दा नातिकाजी र अम्बर गुरुङले कमिटी बनाएर देशभरी नै नेपाली गीत गाउन प्ररित गरेका थिए। अहिले पनि अम्बर रहिरहेको भए केही रचना अझै बन्थे होला।

अम्बर गुरुङका छोरा किशोर गुरुङ अम्बरलाई ‘यो राजनीतिक विषय हो, दुई देशको विचमा सम्बन्ध नबिग्रियोस्’ भन्ने लागेको हुनसक्ने बताउँछन्। गुरुङ भन्छन्, ‘दार्जलिङमा भारतबाट अलग पहिचानको लागि बेलाबेलामा आन्दोलन हुन्छ, पहिला पहिला हामीले केही समस्या पनि झेल्नु परेको थियो। उहाँले यो गीतको माध्यमले दुई देश बिच बैमनश्य पैदा नहोस् भन्नु भएको थियो।’

पाचन प्रणालीको समस्या भएर २०७३ जेठ २५ गते ७९ वर्षको उमेर अमरको निधन भएको थियो। उनी दार्जिलिङमा जन्मिएका गुरुङको पुख्यौली गाउँ गोर्खा जिल्लाको रिसिङ हो। वि सं २०२६ सालमा उनी दार्जिलिङबाट नेपाल आएका थिए।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू