प्रदेश ५ को प्रदेशसभा बैठक शुरु, प्रदेशसभा सदस्य मास्क लगाएर बैठकमा

बुटवल– कोरोना भाइरसको महामारीका बीच प्रदेश ५ को प्रदेशसभाको छैठौं अधिवेशन शुरु भएको छ। प्रदेश सभामा बजेट पेश गर्नुअघि पूर्व बजेट छलफलका लागि शुरु भएको बैठकमा उपस्थित प्रदेश सभा सदस्यलाई दूरी कायम गरेर बस्ने व्यवस्था मिलाइएको थियो।

बैठकमा उपस्थित मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदहरुले मास्क लगाएका थिए। प्रदेश सभाको छैठौं अधिवेशनको बैठक सामान्य औपचारिकतामै सकिएको छ। बैठकमा दलगत प्रतिनिधित्व गर्दै प्रतिपक्षी दलका सांसदहरुले धारणा राखेका छन्।

उनीहरुले प्रदेश ५ मा कोरोना भाइरस तीब्र रुपमा फैलिइरहेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि भूमिका बढाउन प्रदेश सरकारलाई आग्रह गरेका छन्। सांसदहरुले संक्रमित क्षेत्रमै रोग परीक्षण, उद्धार र व्यवस्थापन फितलो भएकोले बेलैमा ध्यान नदिए अवस्था भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराए।

संक्रमण फैलिएका भारतका सहरबाट आउने नेपाली नागरिकको संख्या बढ्दै गएकाले उनीहरुलाई सुरक्षित तरिकाले उद्धार गर्न, क्वारेन्टाइनमा राख्न र पीसीआर परीक्षण गर्न उनीहरुको माग छ।

कांग्रेसका सांसद वीरेन्द्र कनौडियाले भारतबाट आउने नेपाली नागरिकलाई सीमावर्ती स्थानीय तहले मात्रै क्वारेन्टाइनमा राख्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।

संघीय समाजवादी फोरमका सहषराम यादवले कोरोना संक्रमण बढी फैलिएको क्षेत्रमै स्वास्थ्य परीक्षण गर्ने किट अभाव भएकाले समुदायसम्म फैलिएको कोरोना पहिचान हुन नसकेको गुनासो गरे।

संघीय समाजवादीकै सन्तोषकुमार पाण्डेले कोरोना भाइरसको महामारी तत्काल रोकिने अवस्था नभएकाले अब सामाजिक दूरी कायम राखेर आर्थिक गतिविधि सुरु गर्न आग्रह गरे।

राष्ट्रिय जनमोर्चाकी तारा जीसीले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनमा प्रदेशको भूमिका प्रभावकारी नदेखिएकाले नागरिकले प्रदेशको आवश्यकता नभएको बताइरहेको दाबी गरिन्।

राष्ट्रिय जनता पार्टीकी कल्पना पाण्डेले सरकार प्रवासी नेपालीलाई सुरक्षित रुपले भित्राउने, संक्रमण आशंकाका व्यक्ति र संक्रमितको उपचारमा बेवास्ता भएको बताइन्।

शुक्रबारको बैठकमा बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले सदनमा प्रस्तुत गरे। यस्तै सडक निर्माण, मर्मत तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफलका लागि प्रस्तुत भएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रस्तुत गरेको उक्त विधेयक छलफलका लागि समितिमा पठाइएको छ।

शनिबार बस्ने बैठकमा प्रदेश ५ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ।

पछिल्लो पटक प्रदेशसभाको अन्तिम बैठक गत चैत ५ गते बसेको थियो । त्यस बैठकमा चैत १५ गते अर्को बैठक बस्ने सूचना जारी गरिएपनि कोरोनाको कारण मुलुक नै लकडाउन भएपछि सूचना जारी गर्दै बैठक स्थगित भएको थियो।

त्यसपछि वैशाख १० मा प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए। त्यसको जानकारी प्रदेशसभा सचिवालयले सूचना टासेर जानकारी गराएको थियो।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्