दुई लाख रुपैयाँसहित जनकपुरधामबाट पाँच जना जुवाडे पक्राउ

जनकपुरधाम– लकडाउनको समयमा गेष्ट हाउसभित्र तास खेल्ने पाँच जनालाई दुई लाख रुपैयाँसहित जनकपुरधामबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रवार दिउँसो करिब २ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ पिडारी चोकस्थित रहेको जानकी वाटिका गेष्टहाउसभित्र तास खेलिरहेका पाँच जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका वडा नं. ७ का ५३ वर्षीय किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का ५५ वर्षीय बिल्टु बरही, वडा नं. १३ का ३५ वर्षीय मोसतकिंग राईन, ४७ वर्षीय जसिन कवाडि र ३४ वर्षीय रमेश साहु रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

पाँचै जनालाई गोप्य सूचनाको आधारमा २ लाख ७ हजार ५ सय ८५ रुपैयाँसहित तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्