महानगरका दुई वडासहित १२० जना कर्मचारीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

मोरङ-विराटनगर महानगरपालिकामा कार्यरत सरसफाई कर्मचारी तथा महानगरका दुई वडामा गरिएको १ सय २० जनाको स्वाब नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

महानगर प्रमुख भीम पराजुलीका अनुसार केहीदिन देखि जारी स्वाब संकलनका क्रममा सबैजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे। केहीदिन विराटनगर १५ मिल्स एरियामा बस्दै आएका ३५ वर्षीय एक सरसफाई कर्मचारीमा कोरोनाभाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको थियो।

सोही क्रममा महानगरले मातहतका सबै सरसफाई कर्मचारीको स्वाब परिक्षण गरेको हो। त्यसैगरि, महानगरको वडा नम्बर ६ मा समेत एक महिलामा कोभिड १९ पुष्टि भएको थियो।

महानगरले उनीहरु बसोबास गरेको वडा १५ र ६ मा सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिंगका आधारमा परिक्षण गरिएको हो। महानगरमा पोजेटिभ रिपोर्ट आएका दुवैजना भारत बसाईपछि लकडाउनकैबीच लुकीछिपी घर पसेका थिए। महानगरका सफाई कर्मचारी भने एकमहिनाअघि देखि नै काममा नखटिएको महानगरले जनाएको छ।

महानगरले केहीदिन यता थ्रोट स्वाब संकलनलाई बृद्धि गर्दै लगेको छ। केहीदिन अघिमा मात्र पीसीआरका लागि आवश्यक १ हजार २ सय थान भाइरस कलेक्शन किट(भीटीएम) महानगरले खरिद गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले जानकारी दिए।

यससँगै महानगरले स्वाब संकलनलाई तीव्रता दिएको छ। प्रशासकीय अधिकृत पोखरेलका अनुसार हाल एकदिनको अन्तर आलोपालोमा महानगरको विभिन्न वडामा एकपटकमा ५० वटा स्वाब संकलन कार्य सुरु गरिएको छ। यसअघि महानगरले आरडिटी परिक्षणलाई अघि बढाएको थियो।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्