आंशिक प्राध्यापकको गुनासो – गुजारा गर्नै गाह्रो भो

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका दैनिक ज्यालादारी आंशिक प्राध्यापकहरुले निरन्तरको लकडाउनका कारण दैनिक कष्टकर बनिरहेको र सरोकारवाला निकायले समेत उपेक्षा गरेको गुनासो गरेका छन्।

नियुक्ति नदिएको र अनलाइन कक्षाहरुमा समेत आफुहरुलाई सहभागी नगराइएको उनीहरुको गुनासो छ।  लकडाउनभन्दा महिनौँ अघिदेखिको पारिश्रमिक पनि नपाएको अवस्थामा आफुहरु चरम आर्थिक संकटमा परिरहेको उनिहरुको गुनासो छ।

उनिहरुले आफ्ना समस्याको तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरेका छन्।

सङ्घले विज्ञप्ति निकालेर केही क्याम्पसले अनलाइन कक्षा सुरु गरे पनि आंशिक प्राध्यापकलाई कक्षा नदिइएको, केहीमा कक्षा दिइए पनि पारिश्रमिक नपाएकोजस्ता समस्या रहेकाेले लकडाउनभरिको राहत दिने प्याकेज ल्याउन पनि माग गरेको छ । समस्या सम्बोधन नभए आफुहरु विश्वविद्यालयका सबै शैक्षिक तथा प्राज्ञिक गतिविधिबाट आफूहरुलाई अलग रहनुपर्न सक्ने उनिहरुको चेतावनी छ।

मन्त्रिपरिषद् बैठकले २०७४ साल मंसिर ८ गते  त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि कार्यरत आंशिक शिक्षकलाई करार गर्ने निर्णय गरेपनि कार्यान्वयन नभएको उनिहरुको गुनासो छ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्