बाइडनेले अफ्रिकन अमेरिकनलाई लिएर गरेको टिप्पणीप्रति माफी मागे

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने निश्चित भएका जो बाइडेनले आफ्नो एक टिप्पणीप्रति क्षमायाचना गरेका छन् ।

पूर्व उपराष्ट्रपति बाइडेनले एक अन्तर्वार्ताको क्रममा आउँदो चुनावमा आफूलाई छोडेर डोनाल्ड ट्रम्पलाई मत दिने अफ्रिकन अमेरिकी अर्थात अश्वेतहरु ‘अश्वेत’ नहुने बताएका थिए । उनले सो टिप्पणीका लागि माफी मागेका हुन् ।

रेडियो होस्ट चार्लामाग्ने था गडले अन्तर्वार्ताको क्रममा अश्वेत मतदातासम्म बाइडेनको पहुँचलाई लिएर दबाब सिर्जना गरेपछि उनले यस्तो टिप्पणी गरेका थिए ।

बाइडेनले आफ्नो टिप्पणीप्रति माफी माग्दै कहिल्यै पनि अफ्रिकन अमेरिकन समुदायको समर्थनलाई आफूले हल्का रुपमा नलिएको बताएका छन् ।

बाइडेनका लागि अफ्रिकन अमेरिकन समुदायबाट मिल्दै आएको समर्थन महत्वपूर्ण छ । १८ मिनेट लामो अन्तर्वार्ताको क्रममा ७७ वर्षका बाइडेनले अश्वेत मतदाताको हित र अधिकारका लागि आफूले गर्दै आएको कामको बयान गरेका थिए ।

अन्तर्वार्ताको अन्त्यतिर बाइडेनको चुनावी अभियानका एक सहयोगीले उनलाई समय कम रहेको बताएका थिए । बाइडेनका सहयोगीले अन्तर्वार्ता अन्त्य गर्नका लागि आग्रह गरेपछि अन्तर्वार्ता लिँदै गरेका चार्लामाग्नेले विरोध जताउँदै भने, ‘तपाईँले अश्वेत सञ्चारमाध्यमलाई यस्तो गर्न पाउनु हुन्नँ ।’

त्यसको जवाफमा बाइडेनले भने, ‘मैले श्वेत र अश्वेत दुवै मिडियालाई यस्तो गर्ने गरेको छु । मेरी श्रीमती ६ बजे अर्को अन्तर्वार्तामा जानु पर्ने छ ।’ घरमा रहेको ब्रोडकास्ट स्टूडियो श्रीमती जिल बाइडेनले प्रयोग गर्नु पर्ने बाइडेनले बताएका हुन् ।

चार्लामाग्नेले आफूसँग अझै प्रश्नहरु भएकाले अर्को अन्तर्वार्ताका लागि समय मिलाउन भने । त्यसको जवाफमा बाइडेनले, ‘यदी तपाईँलाई मलाई वा ट्रम्पलाई समर्थन गर्ने भन्नेमा कुरामा समस्या भइरहेको छ भने तपाईँ अश्वेत होइन ।’

चार्लामाग्नेले भने, ‘मलाई ट्रम्पसँग केही गर्नु छैन । मात्रै मेरो समुदायका लागि केही गर्न चाहन्छु ।’

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्