किन हुन्छ पूर्वी नेपालका सीमा सुरक्षा पोस्टमा पटक-पटक आक्रमण?

झापा –  झापाको दक्षिणी स्थानीय तह कचनकवल गाउँपालिकामा भारतीय नागरिकले सीमा सुरक्षामा बसेको प्रहरीमाथि शुक्रबार बिहान चौथो पटक आक्रमणको प्रयास गरे।

जिल्लाका सुरक्षा निकाय तथा जनप्रतिनिधिहरुको टोलीले पटक-पटक उक्त समस्याको समाधान गर्ने प्रयास गरेको हो। तर, ती प्रयासका बाबजुद भारतीय नागरिकले सीमा सुरक्षामा रहेका प्रहरीमाथिको आक्रमण रोकेका छैनन्।

नेपाली भूमिमा लगाएको खेती थन्काउने बाहानामा समूहमा आउने गरेका भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका हुन्।

नेपाली भूमिमा प्रवेश गर्न खोजेका भारतीय नागरिकले शुक्रबार सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरीमाथि आक्रमण गरे।

कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आक्रमण गरेका हुन्।

सीमा क्षेत्रको नेपाली भूमिमा घाँस काट्ने बाहानामा छिर्न खोजेका भारतीयलाई सशस्त्रको टोलीले रोकेको थियो।

किन आउन खोज्छन् बन्दाबन्दीमा पनि भारतीय नागरिक 

झापाको कचनकवल तथा झापा गाउँपालिकाका करिब ५ सय बिघा जमिनमा भारतीय नागरिकले खेती गर्दै आएका छन्।

अहिले उनीहरुले मकै खेती लगाएका छन्। सोही खेती उठाउन तथा हेरचाह गर्न आउन पाउनुपर्ने माग गर्दै बन्दाबन्दीका बेलामा पनि नेपाल आउन चाहन्छन्। तर सीमामा रहेका सशस्त्र तथा नेपाल प्रहरीले उनीहरुलाई नेपाल आउन दिँदैनन्।

सीमा क्षेत्रमा आफ्ना चौपाया चराउन नदिएकाले केही दिन अघि सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए।

नेपालमा जमिन भाडामा लिएर खेती गर्न दिनहुँ नेपाल आउन खोज्ने भारतीय नागरिकहरुका कारण बन्दाबन्दीका बेला सीमा सुरक्षामा चुनौति थपिएको सुरक्षा अधिकारीहरु बताउँछन्।

पूर्वदेखि पश्चिम तराईसम्मका नेपालका सीमावर्ती क्षेत्र नजिकका जमिनमा भारतीय नागरिकले खेती गर्दै आएका छन्।

उनीहरु भारतबाटै दिनहुँ नेपाल आएर खेती गर्ने गरेको प्रदेशका कृषि मन्त्रालयहरुले जनाएका छन्।

करिब तीन साताअघि पनि झापाको कचनकवल गाउँपालिकाको सीमावर्ती क्षेत्रमा नेपालमा खेती गर्न आउन खोज्ने भारतीय नागरिक नेपाल छिर्न नपाएपछि सीमामा विवाद उत्पन्न भएको थियो।

केही दिन अघि कचनकवलकै सीमा क्षेत्रमा भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक्न खोज्दा सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकले आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नु परेको थियो।

त्यस अघि झापा गाउँपालिकाको सीमामा पनि भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू