विकासको प्रभाव, अभाव र दबाब

कोरोनापछि ‘अझै राम्रो समाज उदाउन सक्छ’ भन्ने शिर्षक दिएर १५ अप्रिलका दिन फ़ाईनान्सियल टाईम्सले कल्याणकारी दर्शनका ज्ञाता अमरत्य सेनको विचार प्रकाशित गरेको थियो । दोश्रो विश्व युद्धताका भेरा लिनले गाएको गीत ‘हामी फेरि भेट्नेछौँ’ को स्मरण गर्दै कोरोना (कोभिड १९) पछि राम्रा विचारको आगमनसहित भेट हुनेमा सेन विस्वस्त देखिन्छन् ।

त्यसका लागि विश्वले अझै सुधार गर्नु पर्ने उनको विचार छ । साथै मानिसले मानिसमाथि गरेका कतिपय असमान व्यवहार दोस्रो विश्व युद्धपछि क्रमश सुधार आए पनि कोरोना सङ्क्रमण र उपचारका क्रममा नागरिकप्रति विना कारण देखाइएको असमान व्यवहारले सेनलाई सोच्न बाध्य पारेको छ ।

यसले समस्या अझै विकराल रहेको बुझाउँछ भन्दै हामी कोरोनापछि विश्वमा भेट हुँदा अहिले जस्तो असमानता रहनु हुन्न र विकासको अभियान त्यसका निम्ति केन्द्रित हुनुपर्छ भनेर जोड दिएका छन् । सेनले सोचे जस्तो समतामुलक न्यायपूर्ण समाजको निर्माण सहज छैन । नोवेल पुरस्कारले सम्मानित ‘गरिवका अर्थशास्त्री’ जोसेफ स्टिग्लिट्जले आफ्नो पुस्तक ‘मेकिंग ग्लोबलाईजेशन वर्क’ मा भनेका छन् – अहिले लाभ
लिइरहेको वर्ग सुधारका लागि सहमत छैन ।

किनकि उनीहरू अहिले कै व्यवस्थाबाट लाभ आर्जन गर्दै आएका छन् र तिनीहरू धेरै बलिया छन् (पृष्ठ १३) । तर सहनै नसकिने आर्थिक असमानता र पर्यावरणीय सङ्कटले गर्दा ‘अर्को विश्व सम्भव छ’ भनेर पनि परिवर्तनलाई स्विकारेका छन् । दुवै विद्वानको विचार उत्तिकै यथार्थ छन् । सत्य के हो भने कोरोनाले चन्द्रमासम्म पुगेको विज्ञान, पाँचौ औद्योगिक क्रान्ति ‘फिफ्थ ईण्डष्ट्रियल रिभोल्युसन’को सङ्घारमा उभिएको सूचना प्रविधि र युद्ध जितेर फर्केका सेनापतिजस्ता सबै शक्तिलाई नियन्त्रणमा लिएर टक्क रोकिदिएको छ ।

यस सन्दर्भलाई जोडेर हेर्दा विकासको गति र मति मूल्याङ्न गर्न आवश्यक देखिएको छ । मानिस, जमिन र प्रकृतिलाई कोरोनापछि व्यवहार गर्दा पनि उस्तै प्रवृत्ति दोहोर्‍याउने हाे भने विनाश अकाट्य हुन्छ, कोरोना त शुरुवात मात्र हो । अहिले प्रयोगमा रहेको नवउदारवादको स्थापनामा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको योगदान रहेको छ । त्यसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले साथ दिएका थिए ।

पूँजीवादी आर्थिक मान्यतामा आधारित नवउदारवाद ज्यूँदो रहेको भान गर्ने देश कोरोनाको कारण सबैभन्दा धेरै प्रताडित हुन पुगेका छन् । सामरिक सामग्रीको अभाव महसुस नहुनु तर कोरोना उपचारका लागि अत्यावश्यक सामग्रीको चरम अभाव देखिनुमा नोम चोम्स्कीलगायत विद्वानले नवउदारवादको अनुदार र निर्दयी चरित्र उदाङ्गिएको भनेका छन् । माइक्रोसफ्टका खर्वपति संस्थापक वील गेटसले पनि आजसम्मको विकासले आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नसकिएको प्रतिक्रिया दिएका छन् ।

युवा पुस्ताको नेतृत्व पङ्तिमा रहेकी नोवेल पुरस्कारका लागि मनोनित वालिका ग्रेटा थुनवर्गले (नाफा र पैसाको लागि) मात्र क्रियाशील मान्यताको परिवर्तनका लागि ‘क्लाइमेट स्ट्राईक’ जस्ता अभियान संचालन गरेकी छन् । जसको समर्थनमा विश्वभर जनसागर ओर्लिएको छ । करिव २५ वर्षमुनिका यी करोडौं अभियन्ताले वर्तमान नेतृत्व पुस्तालाई भावी पुस्ताको दुःखको कारण मान्दै सुधारका लागि समयमा तयार रहन चेतावनी दिइरहेका छन् । यसरी एउटा वर्ग पर्यावरणीय सन्तुलन र समतामुलक समाजको निर्माणको पक्षमा धक्का दिँदै अगाडि बढिरहेको छ भने वर्तमान व्यवस्थाबाट लाभ लिइरहेको वर्ग परिवर्तनका लागि तयार देखिएको छैन ।

तिनीहरूको व्यवहारलाई अमेरिकन खर्वपति नीक हनावरले कृषक, मजदूर र श्रमजीवीहरू पिचफोर्क (दाँते सावेल) लिएर अगाडि बढिरहेका
छन् र दुर्घटना हुनु अगावै पुँजिपतिहरूलाई समय सापेक्ष परिवर्तनका लागि तयार रहन आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघद्वारा ग्रो हर्लेम ब्रुण्डट्ल्याण्डको संयोजकत्वमा गठित ‘ब्रुण्डट्ल्याण्ड कमिसन’ ले पर्यावरणीय सन्तुलनका लागि प्रकृतिको अपरिहार्यतालाई प्राथमिकतामा राखेर विकासको अवधारणा तयार हुनुपर्ने प्रतिवेदन सन् १९८७ मा बुझायो ।

त्यसपछि विकासको लक्ष आर्थिक र सामाजिक उन्नतिसँग मात्र सीमित नरहेर पर्यावरणीय उन्नति समेत थपिन गएको छ । परिणामस्वरुप आर्थिक, सामाजिक र पर्यावरणीय उन्नति नै दिगो विकास हो भन्ने मान्यता फराकिलो भएको छ । तर सोभियत संघको विघटनपछि आर्थिक वृद्धिको सपना तीव्रताका साथ पूरा गर्न सन् १९८९ मा ‘वासिंगटन कन्सेंसस’का नाममा ल्याइएको दश सूत्रीय सुधार प्याकेज (माथि भनिएको नवउदारवाद)ले कृषि र प्रकृतिको सरोकारलाई खासै मान्यता दिएन ।

मानिस, जमिन र प्राकृतिक श्रोतको निर्मम दोहनबाटै तिव्र आर्थिक बृद्धि दर हासिल गर्ने रणनीति अख्तियार गरियो । खाध्य सुरक्षाको आधार कृषिलाई महत्व दिनुकोसट्टा अनुदान समेत कटौति गरियो । कम्तिमा दैनिक तीन पटक खानाका लागि जोडिनै पर्ने किसान सबैभन्दा धेरै शोषित भए । असुरक्षाका कारण किसानका सन्तान नै कृषि पेशामा नरहने परिस्थिति बनेको छ । सहरीकरण, औद्योगिकीकरण र विकराल पूर्वाधार विस्तारमा तीव्रता दिइएको छ ।

यसबाट सीमित मुलुकले तीव्र आर्थिक वृद्धि हासिल गरे पनि प्राकृतिक सन्तुलन कायम राख्न सकेनन । स्टिग्लिट्जले भन्दै आएका छन् कि प्रचलित आर्थिक वृद्धिको मान्यताले मानवीय कल्याण सुनिश्चित गर्दैन । त्यसैगरी विल गेट्सले पनि (धन र पैसामात्र केही होईन रहेछ) भन्ने
अहिले आएर बुझेका छन् । ‘ब्रुण्डट्ल्याण्ड कमिसन’को प्रतिवेदन एकातिर, व्यवहार भने अर्कै तिर गरियो ।

आजसम्मको विकास मान्यताले मानव कल्याणसँग सम्वन्धित सबै विषय वस्तुलाई क्रमश: पछाडि धकेल्दै भौतिक वस्तु, पैसा, धन, लोभ र अस्वस्थ प्रतिस्पर्धालाई महत्व दिँदा समस्या आएको छ । होमो-सापियन मान्यता पछाडि परे । होमो-इकोनोमिकस मान्यताहरू अगाडि आए । अर्थशास्त्रको मान्यताले आर्थिक मानिसका बारेमा अध्ययन गर्ने भनेको छ । मानिसलाई आर्थिक र गैह्र-आर्थिक भनेर वर्गीकरण गर्दा १६ वर्षमुनिका, ६४ वर्षमाथिका र महिलाको निशुल्क सेवा उपेक्षित भयो । जबकि युवाहरु भविष्यका कर्णधार हुन् भने बृद्धहरुले विगतमा योगदान गरिसकेका हुन्छन् ।

नविन मान्यता राख्ने कट्रीन मर्कलले ‘एडम स्मिथको डिनर कसले पकाईदिन्थ्यो’ (हु कुक्ड एडम स्मिथ’स डिनर) भन्दै महिला श्रमको बारेमा (अर्थशास्त्रका पिता) एडम स्मिथले विचार गर्न नसकेको भनेर पुस्तक नै निकालेकी छन् ।

यसबीच सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल भएको छ, त्यसलाई जोगाउनु पर्छ तर आर्थिक असमानता र पर्यावरणीय सङ्कट पनि सहनै नसक्ने गरी चुलिएको छ । पृथ्वीको तापक्रम बढेर गएको छ । पृथ्वीको तापलाई १.५ डिग्रीमा कायम राख्नु पर्ने सर्त सहित सन २०१५ मा ‘पेरिस एग्रीमेण्ट’भयो । सहमतिमा विश्वका १९५ राष्ट्रले हस्ताक्षर गरिसकेको यो एग्रीमेण्ट प्रति आफ्नो असहमति जनाउँदै सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिर्ता लिएका छन् ।

यो परिपाटीबाट लाभान्वित वर्ग अझै प्रकृतिमाथि निर्मम दोहन गरिरहन उद्धत देखिएको छ । त्यसैले सुधारको खाँचो सर्वत्र महसुस गरिएको हो । पुँजिवादी नवउदारवादले सिर्जना गरेको समस्यालाई त्यही व्यवस्थाले समाधान गर्न सक्दैन भन्ने मान्यता अघि सारिएका छन् । कोरोना सङ्कटले समृद्धिका लागि मानवीय कल्याण, आर्थिक समानता र पर्यावरणीय सन्तुलन महत्वपूर्ण चालक हुन् भन्ने विचार झन् सशक्त गराएको छ ।

पर्यावरणीय सन्तुलन बिग्रिदै जाँदा प्राकृतिक प्रकोप र विनाशका घटना तीव्र भएका छन् । यसले सामाजिक र आर्थिक सन्तुलन समेत भत्काएको छ । आर्थिक असमानताका कारण आज पनि विश्वका आधा जनसङ्ख्या भोकभोकै सुत्न बाध्य छ । कोरोना भाईरसको सङ्कटका कारण लाखौं कामदारको रोजीरोटी खोसिएको छ। तर यस्तो दुखद घडिमा पनि धनाड्यहरू स्विमिङ्ग पुल, मिया-मिष्ठान्न, विलासी स्थान र मनमोहक जीवन बिताउँदै हिँडेका समाचार आएका छन् ।

खर्वपतिहरूको आम्दानी यही लकडाउनका बेला खरबौं डलरसम्म थप भएको समाचार थुनिएका भोका पेटले सहनु पर्र्यो । तिनै धनाढ्यहरुको व्यापार ‘रिकोभरी’का लागि राष्ट्रकोषबाट रकम छुट्याइएका छन् जहाँ मालिक र कारिन्दाबीच कैयाैँ गुणा असमान ज्याला तोकिएको छ । उद्योग ‘रिकोभरी बजेट’ र श्रमजीवीको परिश्रम राज्यका लागि आवश्यकता र दायित्व दुवै हुन् तर त्यस्तो असमान आय वितरणको औचित्य स्थापित गर्न कठिन छ ।

यता देश र जनताको सेवामा किसान, स्वास्थ्यकर्मी, कुचिकार, भरिया र परिवारको सेवामा महिलाहरू निशब्द खटिरहेका छन् । यसबाट वास्तविक सेवक र अर्थतन्त्र निर्माणका आधार के हुन् भन्ने छर्लङ् भएको छ । पूँजिवादका सुविधाभोगीहरुलाई थोमस पिकेटिले ‘सुपर म्यानेजरहरू पूँजी निर्माण गर्दैनन् तर त्यहि पूँजीवाट सबैभन्दा धेरै धन आर्जन गर्दछन् यो सरासर ठगी हो’ भनेका छन् ।

गलत कर्मको फल विनाश हो भने त्यही विनाशले असल कर्मका लागि पनि समाजलाई झक्झक्याई रहेको हुन्छ । अवसरको ढोका खुल्दै जाँदा सङ्कटको ढोका बन्द हुँदै जान्छ । यसै क्रममा सेनले स्मरण गर्दै भनेका छन् ‘विभेदको घाउ सन्चो हुन दोस्रो विश्व युद्धले सुधारको महसुस गरायो ।’ युद्धपछि सुधारहरु भए । युद्धताका वेलायतमा देखिएको खाद्यान्न सङ्कटलाई समानतामा आधारित वितरण नीति लागु गरियो । परिणामत: कुपोषणको दर कम भयो ।

बेलायतमै सन् १९४८ मा राष्ट्रिय स्वास्थ्य सेवाको गठन भएपछि आजसम्म सबै नागरिकलाई निशुल्क स्वास्थ्य सेवा समान रुपमा सम्भव भएको छ । यता बङ्गालमा देखिएको सन १९४३ को भोकमरीबाट तीस लाखभन्दा धेरै मानिसले ज्यान गुमाए, राज्यले पर्याप्त वास्ता गरेन । यो ब्रिटिसकालिन साम्राज्यको अर्को पाटो थियो र अन्याय त्यहीँ जीवित थियो । अझै पनि विभेदका किलाहरु राज्यकै उपस्थितिमा बलियोसँग गाडिएका छन् । त्यसैले स्वस्थ र स्वतन्त्र समाजका लागि विभेदको अन्त हुनुपर्छ भन्ने सेनको विचार रहेको छ ।

अमर्त्य सेनले अर्को प्रसङ्गमा भनेका छन् ‘गरिवीको बन्धनबाट मुक्त हुनु नै वास्तविक स्वतन्त्रता हो । कोरोनाकै कारण स्वतन्त्रता पनि थुनिँदै गएको ज्ञान खुलेको छ । गरिवीको बन्धनबाट त्यतिखेर मात्रै मुक्त हुन सकिन्छ जतिखेर कमजोर समुदाय एवं व्यक्तिको क्षमता (स्वास्थ्य, शिक्षा, रोजगारी, आम्दानि र सुरक्षा) को विस्तार भएको हुन्छ । प्राकृतिक श्रोत र त्यसको सन्तुलित विकासले मानिसको क्षमता वृद्धि गर्न सघाइरहेको हुन्छ । कोरोनापछि हामी भेट हुँदा सेनले भने झैं मानिसको क्षमता विस्तार होला त ? अनिकाल, मूल्य वृद्धि, मन्दी र प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने परिस्थिति नजिक रहेकोले भविष्यमा न्याय स्थापित गर्ने कार्य झन् चुनौतीपूर्ण छ ।

सेन थप्छन् ‘अमेरिकाको सिकागोमा कोरोनाको कारण मर्नेहरू ७० प्रतिशतभन्दा धेरै अश्वेत जातिका छन् जबकि त्यहाँको कुल जनसंख्याको एकतिहाइ मात्र अश्वेत जातिले ओगटेको छ । अहिले पनि भारतलगायतका मुलुकमा सीमान्तकृतहरू नै प्रताडित छन् । स्वदेश वा विदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिंदै आएका करोडौँ आप्रवासीको पनि बिचल्ली भएको छ ।

शरणार्थी, निम्न आय भएका, दैनिक ज्याला मजदूरी गरेर खानेहरू धेरै मारमा परेका छन् । विकशित भनिने एक्काइसौं शताव्दीको सभ्य समाज पनि विभेदकारी देखिएको छ । कोरोनाको संक्रमण पछि भेट हुँदा पनि यस्तै विभेद कायम रह्यो भने ठूलो अनर्थ हुनेछ । वास्तवमा हामी सङ्कटको मध्यभागतिर पनि आइसकेका छैनौं, यो त शुरुवात मात्र होस सेनको सन्देश छ ।

कोरोना सङ्कट बिग्रँदो प्राकृतिक सन्तुलनसँग पनि सम्वन्धित छ । व्यक्ति स्वस्थ रहनु वा सहज रुपमा जिउन सक्नुमा आकाश, जल, वायु, पृथ्वी र अग्नि सबै स्वस्थ्य रहँदाको परिणाम हो भन्ने तथ्यलाई मानिसले भुलेजस्तो देखिएको छ । रुख काटेर, पानीका मुहान सुकाएर पनि जिउन सकिन्छ भन्ने घमण्ड र होड पर्यावरणीय सङ्कटको जड होस विनाश तर्फको यात्रा हो । शिक्षित भनिने वर्तमान समाजले स्वस्थ्य रहने कारणसम्म नबुझेको वा बुझ पचाएको देखिनु दुखद पक्ष हो । जसले बुझेका छन् तिनीहरुलाई बाधक ठान्ने सत्ताको चरित्र सुध्रेको छैन, नीतिगत व्यवस्थाको अभाव छ ।

समानताको कुरा समाजसँगमात्र नभएर प्रकृतिको सन्तुलनसँग पनि त्यति नै अपरिहार्य छ । कोरोना पछिको समाजलाई कल्याणकारी मान्यता मार्फत राहत दिन जरुरी छ । त्यसका लागि प्रयोगमा असफल भइसकेका वादलाई ब्युताउन सकिन्न र असफलतातर्फ़ उन्मुख पुँजिवाद पनि सन्तुलित पर्यावरण र समतामुलक समाजको निर्माणमा सहायक हुन सकेन । विकासको प्रभाव, अभाव र दवाव देखिएका छन् जसले समय सापेक्ष सुधारको अपेक्षा राख्दछ ।

गरिवले उपचारको सहज सुविधा नपाउने नाफामुखी स्वास्थ्य संस्था र नीतिको औचित्यमाथि भावी पुस्ताले प्रश्न गरिरहने छ । कोरोनाका कारण तत्काल देखिएको सङ्कटभन्दा कैयाैँ गुणाा नोक्सानी आगामी पुस्ताले व्यहोर्नु पर्नेछ । शरणार्थीहरुस रोहिंगा वा सिरियनहरु जो सुकै हुन् त्यो राज्यले सिर्जना गरेको समस्या हो । नियमत: अप्राकृतिक असमानता वर्जियत भए पनि व्यवहारमा आर्थिक, सामाजिक र लैंगिक असमानता प्रष्ट
देखिएका छन् ।

शरणार्थी र वैदेशिक रोजगारीमा जानेहरू अझै पक्षपातको शिकार भएका छन् । यिनीहरुको राजनैतिक अधिकार पनि कमजोर छ । सम्बोधन हुन नसकेका धेरै विषयले प्रजातन्त्रलाई पूँजिवादले कसरि प्रयोग गरेको छ भन्ने विषयमा समेत अनुसन्धान गर्न दवाव सिर्जना गरेको छ ।

जोसेफ स्टीग्लिट्जले भने झैं समानताको अभियान पुरा गर्न कठिन हुन सक्छ तर विजय यसकै नजिक छ । तब मात्रै अमरत्य सेनले परिकल्पना गरेझैँ समतामुलक समाज निर्माणका निम्ति कोरोनापछिको भेटमा एक भएर उभिन सकिने छ । कोरोना भूमध्य रेखा पनि हो । असमानता अनि प्राकृतिक श्रोतको विनाशमा आधारित विगतको विकास मान्यता र भविष्यका लागि मानवीयतामा आधारित होमो-सापियन, प्रकृतिको स्वभाव अनुकूल चल्ने विकासबीचकाे अन्तरलाई त्यही भूमध्यरेखाले छुट्याउन मद्दत गर्ने छ, कोरोना अघि र पछिको विकास भनेर ।

प्रयोगमा असफल भईसकेका वादहरूलाई अँगालीरहनुभन्दा (सर्वहिताय) निम्ति गरिने सङ्कल्पले समानतालाई प्रवर्धन गर्न सक्ने विश्वास लिन सकिन्छ । सबैका लागि आउने शुभदिन, शुभबिहानी त्यही हो ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्