भारतबाटै आएका थिए बाराका ६ जना संक्रमित

वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिकामा भेटिएका ६ जना संक्रमितहरु पनि भारतबाट लकडाउनकै बेलामा फर्किएको खुलेको छ ।

सिम्रौनगढ नगरपालिकामा शुक्रबार बेलुका पुष्टि भएका संक्रमितहरु भारतको दिल्ली, मुम्बई र गुरुग्रामबाट फर्किएको नगरपालिका स्थित क्वारेन्टाईनका चिकित्सक जितेन्द्र यादवले जानकारी दिए । संक्रमित ६ जना मध्ये एक जना जेठ १ गते भारतबाट फर्किएको र पाँच जना ३ गते फर्किएर नगरपालिकाको क्वारेन्टाईनमा बसेको यादवले बताए ।

उनीहरुको गत जेठ ७ गते स्वाब संकलन गरि कोरोना परीक्षणको लागि हेटौंडा पठाइएको थियो । हेटौंडा स्थित किट जन्य अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितहरुमा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरुष छन् ।

उनीहरुलाई शुक्रबार राति नै कलैया अस्पतालमा बनाइएको आईसोलेशनमा उपचारको लागि भर्ना गरिएको छ । यो सँगै बारा जिल्लामा संक्रमितहरुको संख्या ११ पुगेको छ ।

यसअघि जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका र सिम्रौनगढकै एक जना जमाती, बिश्रामपुर गाउँपालिका बलिरामपुरका १४ वर्षीय बालक, करैयामाई गाउँपालिकाका एक जना पत्रकारलाई समेत कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्