ब्लग

निशान छापमा यो पनि फेरौँ

कहिलेकाहीँ मनमा भूत चढ्छ भन्ने पनि गरिन्छ । भूत सवार भएको बेला ! फेरि भूतभन्ने बित्तिकै नकारात्मक मात्रै हुन्न । ‘सेतो भूत देख्यो भने राम्रो हुन्छ’, बाआमाले भन्नुहुन्थ्यो ।

लकडाउनको पहिलो हप्ता थियो । जताततै देश विदेशमा ‘हात मिलाउनु हुन्न, अंकमाल गर्नुहुन्न, टाँसिन जान हुन्न, कोरोना भाइरस सर्छ’ भन्ने प्रचार प्रसार भइरहेको थियो ।

कोरानाबाट बच्न विश्व स्वास्थ्य संगठनले जारी गरेको सुझावमै पर्दछन् यी गर्न नहुने क्रियाकलापहरु । त्यसैले हात मिलाउनुको सट्टा नमस्ते गर्न सुझाव आउन थाले । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायतका युवराज चाल्र्स लगायतले नमस्ते गरेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बन्यो ।

कोराना भाइरसकै कारण कहिल्यै नसुनेको वा प्रयोगमा नआएको सायद पहिलो पटक प्रयोगमा आएको ‘सोसियल डिस्टान्सिङ’ वाक्यांश सबैतिर चले । नेपालमा पनि त्यसैको दुरुस्त ‘सामाजिक दूरी’ को जन्म भयो । पछि त्यसको सट्टा वा सँगसँगै ‘फिजिकल डिस्टान्सिङ’ अर्थात भौतिक दूरी हुनुपर्छ भन्ने कुरा आयो र यो पनि केही हदसम्म प्रयोग भइरहेको छ ।

यही क्रममा मेरो दिमागमा कताबाट छिरेछ, हाम्रो निशान छापमा केटा मान्छे र केटी मान्छेले हात मिलाएको । यो त पक्कै भएन भन्ने लाग्यो र तलको छोटो स्टाटस लेखेर फेसबुकमा पोस्ट गरेँ, गएको मार्च २८ तदनुरुप गएको चैत्र १५ का दिन ।

त्यो यसप्रकार थियो – ‘नेपालको निशान छापमा केटा मान्छे र केटी मान्छेबीच ‘हात मिलाएको’ अंश हटाएर ’नमस्कार’ गरेको राखौँ। यसलाई तुरुन्तै फेरौँ। कोरोनाभाइरसले विश्वलाई हाम्रै संस्कृतिको पक्षमा सिकाएको पाठबाट हामी आफैले सिकौँ । खासमा यो महिला–पुरुष समान देखाउन विदेशबाट आयातित संस्कृति हो। त्यसको सट्टा महिला र पुरुषले एक आपसबीच नमस्कार गरेको देखाऔँ। त्यसले समानता र आदर दुवै झल्काउँछ।’

तुरन्तै लाइक आउन सुरु भइगो । लाइक २३३ पुग्यो । तीमध्ये २०९ वटा लाइक चिन्ह, १४ वटा प्यार (मुटु) चिन्ह, ६ वटा मुस्कान (हँसिलो) चिन्ह र ४ वटा आश्चर्य (अचम्मित) चिन्ह थिए । कमेन्ट पनि ५८ वटा आए । तीमध्ये अधिकांश सकारात्मक थिए । प्रतिक्रिया दिनुहुनेहरु अधिकांशले दिल खोलेर राम्रो, धेरै राम्रो, राम्रो सल्लाह, सहमति छ, समर्थन, १०० प्रतिशत समर्थन, पूर्ण सहमत, सिर्जनात्मक, ठिक, एकदम ठिक, एकदम मन पर्‍यो, एकदम सही, सही सुझाव दिएको पाएँ । शेयर चाहिँ जम्मा ४ वटा मात्रै भयो ।

तीमध्ये पहिलो दुईवटा र अरु केहीप्रतिक्रियाहरु जस्ताको तस्तै तल उतार्नचाहेँ –

श्री नजिम सेख –एकदम सही विश्लेषण सरको । (पहिलो प्रतिक्रिया)

श्री चेत राज जोशी – अरुलाई अरु धन्दा, घरज्वाईँलाई खानाको धन्दा भने जस्तै छन् हाम्रा बुद्धिजीवि भनाउँदाहरु । (दोस्रो प्रतिक्रिया)

श्री शशि शेखर विष्ट – १०० प्रतिशत सहमत । नमस्तेको साइनले विश्वभरी नेपाली संस्कृतिको पहिचान गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यदि समयमै ध्यान पुर्‍याइएन भने अरु देशले आफ्नो संस्कृति हो भनेर दाबी गर्न बेर छैन ।

श्री लक्ष्मी प्रसाद सुवेदी – यो गुराँसको सट्टा यो नकुहुने र धेरै फल्ने मकै राखौँ, अझ मेडिसिलन मेज टियोसिन्टे हाइब्रिड भएझन राम्रो । (तस्बिरसहित)

श्री दुर्गा ढकाल – नेपालको निशान छाप धेरै भद्दा छ । ह्यान्सेक मात्र होइन गुराँसको फूल र नक्सा पनि हटाए हुन्छ ।

श्री दीक्षान्त काफ्ले – एउटा चुरा लगाएका हात, एउटा नलगाएको हात मिलेर नमस्कार गर्दा अलिक नमिल्ने हो कि सर !

श्री धिरज भट्ट – यो पोस्टलाई बुस्ट गरौँ सबैले ।

श्री मोहन मानन्धर – फुर्सदको कुरा ।

श्री सुरथ प्रधान – आइएग्री सर । तपाईं नोटिस गर्नु भएको रहेछ ।

श्री दुर्गागौतम – भेरी गुड सजेस्चन । आइ सपोर्ट योर आइडिया ।

श्री देवेन्द्र गौचन – आइ सी हान्डशेक सीम्स् बिटविन मेन एन्ड ओमेन । डिस इज नट आवर कल्चर ।

श्री दैनिककार्की – मेरो राय तपाईंको भन्दा भिन्न छैन ।

श्री राम मुनन्कर्मी– क्या समयको आवश्यकतामा पुगेको विचार सराहनीय छ ! यसमा सम्बन्धित निकायको ध्यान जावस् ।

श्री शम्भु कटेल– निशानमा फल्टी नक्सा राख्नाले कत्रो विवाद गराएको छ !

श्रीमती लक्ष्मी मानन्धर – इट इज हेल्थी कल्चर डा. साब।

श्री सुरेश राई – डा. साबको दिमागमा पनि ।

किन हो कुन्नि, यो मेरो सुझाव म आफैलाई अलि राम्रै लाग्यो । त्यसैले कतै सुनुवाइ हुन्छ कि भनेर केही प्रमुख नेताहरुको फेसबुक पेज खोजेर राखिदिएँ । तर कतैबाट रेस्पोन्स आएको छैन । कुनै पनि मुलुकको निशान छाप भनेको त्यो मुलुकको ऐतिहासिक, सांस्कृतिक र मौलिक कुरा झल्काउने हुनुपर्छ । केटा मान्छे र केटी मान्छेले हात मिलाउनु हुन्न भन्ने होइन । तर त्यो हाम्रो संस्कृति होइन र भन्नै पर्दा अहिले पनि हाम्रो प्रचलनमा छैन । नभएको र आफ्नो नभएकोलाई किन प्रवर्द्धन गर्नुपर्‍यो?

हात मिलाउँदैमा समान हुने होइन, देखाउने मात्र हो । समान हुनु र देखाइनु बिलकुल फरक कुरा हुन् । एक आपसको भेटमा आदर भावसहित एकले अर्कालाई स्वागत गर्ने त्यो  भन्दा उत्कृष्ट तरिका ‘नमस्ते‘, ‘नमस्कार’ हाम्रो आफ्नै छ । त्यसैलाई प्रयोग गरौँ । म त सामान्यतया के गर्ने गरेको छु भने विदेशी हुन् या स्वदेशी जो कसैलाई पहिला नमस्ते वा नमस्कार गर्छु र त्यसपछि मात्र हात मिलाउँछु, आवश्यकताअनुसार ।

अर्कोले हात बढाएपछि आफूले नि हात दिनै पर्‍यो। तर आजभोलि हात चाहिँ नमिलाउँ है भन्ने पनि गर्न थालेका छन् । यो अहिले कोरोनाभाइरस आएपछि मात्र होइन, यसअघि बर्ड फ्लू, स्वाइन फ्लू आएदेखि नै सुरु भएको हो । अहिले अपर्झट निशान छापकै लागि संविधान संशोधन गर्नुपर्ने बाध्यता सरकारलाई आयो । यसलाई बाध्यतै नभनुँ, नगरी नहुने काम हो ।

नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको जुन नयाँ नक्सा पारित भएको छ त्यो अत्यन्त स्वागतयोग्य मात्र नभई ऐतिहासिक पनि छ । यही बेला माथि उल्लेखित केटा मान्छे र केटी मान्छेले हात मिलाएको ठाउँमा एकले अर्कोलाई नमस्ते गरेको चिन्ह वा अरु कुनै जस्तै केटा मान्छे र केटी मान्छे दुवैले नमस्ते गरिरहेको चिन्ह राखेर एक पन्थ दो काज हुने गरी निशान छाप संशोधन हुन सके सुनमाथि सुगन्ध हुने थियो । यदि नमस्ते अंकित चिन्ह नै नराख्ने भए पनि निशान छापबाट हात मिलाएको चाहिँ झिक्नु बाञ्छनिय हुनेछ । यसतर्फ सम्बन्धित सबैको ध्यान जाओस् ।

गएको हप्ता नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका राजदूत  विनय मोहनक्वात्रा परराष्ट्र मन्त्रालयमा भेट हुँदा बिर्सेछन् कि क्या हो हात मिलाएछन् । सायद हात मिलाउनुअघि सानिटाइजर प्रयोग गरेका थिए होलान् । वा दुई मध्ये एकले पहिला हात दिएपछि अर्कोले पनि हात बढाउन बाध्य भयो होला ।

आ–आफ्नो व्यक्तिगत स्वतन्त्रता र जोखिम उठाउने कुरा हो त्यसमा भन्नु केही छैन । तर दुवैजना सार्वजनिक पद ओगटेका पदाधिकारीहरु भएकाले तिनले गर्ने क्रियाकलापले सर्वसाधारणमा छाप पर्छ । ए ! हात त मिलाउन हुने रहेछ भन्ने हुन्छ । अरुलाई देखाउन पनि हात नमिलाएर नमस्ते गरेको भए राम्रो सन्देश जान्थ्यो । फेरि दुवैको संस्कृति (देश भिन्दाभिन्दै भए पनि) नमस्ते गर्ने नै हो । माफ गर्नुहोला मैले यसमा बढी शब्द खर्च गरेँ ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्