कपिलवस्तुमा वडाध्यक्ष र पत्रकारमा कोरोना संक्रमण, संक्रमितको संख्या ७७ पुग्यो

बुटवल – कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ७७ पुगेको छ । शनिबार बिहान वाणगंगाका एकजना वडाध्यक्ष र एकजना पत्रकारसहित कपिलवस्तुका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका ८ का वर्षका २५ का एकजना पुरुष, वडा नम्बर ३ का १९ वर्षका एकजना पुरुष, वडा नम्बर ११ का ४२ वर्षका पुरुष, वडा नम्बर ५ का ४० वर्षका पुरुष, वडा नम्बर १० का ३५ वर्षका पुरुष र वडा नम्बर ६ की २७ वर्षकी एक जना महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले ८ जना नै वाणगंगा नगरपालिकाका बताए पनि अरु दुईजना भने बुद्धभूमि नगरपालिकाका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । बुद्धभूमिका संक्रमित वडा नम्बर ४ की १७ वर्षीया युवती र २२ वर्षका युवक हुन् ।

वडाध्यक्ष र पत्रकारमा समेत संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित वडाध्यक्ष क्वारेन्टाइनहरुमा जाने गरेकोले त्यहीँबाट संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । संक्रमित २७ वर्षीया पत्रकार महिला स्थानीय सञ्चारमाध्यममा कार्यरत छिन् ।

यसअघि कपिलवस्तुकै २ जना पत्रकारमा संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि सो सञ्चारमाध्यमलाई शिल गरेर सम्पर्कमा आएकाहरुको पीसीआर गर्ने तयारी भएको छ । शुक्रबार कपिलवस्तुमा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका थिए ।

जेठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्