सुदूरपश्चिममा दैनिक पाँच हजार नेपाली भारतबाट असुरक्षित तरिकाले भित्रिँदै

कोरोना महामारीकाबीच भारतबाट फर्केकाहरु गौरीफन्टा सीमानाकामा । फाइल तस्बिर

धनगढी – पछिल्ला केही दिन यता सुदूरपश्चिमका विभिन्न नाकाबाट गरि दैनिक पाँच हजारको सेरोफेरोमा भारतबाट नेपालीहरु भित्रिरहेका छन् । दैनिक ठूलो संख्यामा भित्रिने नेपालीहरुको सामान्य चेकजाँच मात्र गर्ने गरिएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । त्यही बिचमा दैनिक ठूलो संख्यामा नेपालीहरु अस्तव्यस्त तरिकाले सुदूरपश्चिममा भित्रिँदा कोरोना संक्रमणको जोखिम उच्च रहेको स्वास्थ्यकर्मीहरु बताउँछन । पाँच दिनदेखि भारतका विभिन्न शहरबाट दिनहुँ ठूलो संख्यामा नेपाल आइरहेका नेपालीहरूलाई स्वास्थ्य परीक्षण नै नगरी पठाइएको छ ।

कैलालीको गौरिफण्टा भन्सार नाका भएर मात्र भारतबाट पाँच दिनदेखि दैनिक दुई हजारभन्दा बढीको संख्यामा नेपाली भित्रिरहेका छन् । यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट पछिल्ला पाँच दिन यता दैनिक १५ सय भन्दा बढी नेपाली नेपाल भित्रिएको तथ्यांक छ । यी बाहेक दार्चुला र बैतडीका नाकाबाट पनि दैनिक ४–५ सयको सेरोफेरोमा भारतबाट नेपालीहरु भित्रिरहेका स्थानीय प्रशासनले जानकारी दिएको छ ।

यि मुख्य नाका वाहेक अन्य नाकाहरुबाट पनि लुकिछिपी दैनिक ठूलो संखयामा नेपालीहरु भित्रिरहेका छन् । भारतका विभिन्न शहरबाट विभिन्न नाका हुँदै आएका नेपालीहरूलाई स्वास्थ्य परीक्षण नै नगरी सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने गरिएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को जोखिम ह्वात्तै बढेको छ ।

‘शुक्रबार कैलाली, बैतडी र डडेल्धुरामा गरी पाँच जनामा कोभिड–१९ संक्रमण पोजिटिभको पुष्टि भइसकेको छ’ सेती प्रादेशीक अस्पतालमा कोरोना उपचारमा खटिएका डाक्टर शेरबहादुर कमरले भने, ‘अस्तव्यस्त तरिकाले दैनिक ठूलो संख्यामा भारतबाट नेपाली भित्रिँदा एकदमै चुनौति थपिएको छ ।’

भारतबाट आउनेहरु समूहमा आएकाले एक जनामा कोरोना संक्रमण हुने बित्तीकै अन्यलाई सर्ने सम्भावना धेरै रहेको डाक्टर कमरले बताए । ‘भारतबाट फर्कनेहरुमा त कोरोनाको जोखिम छ नै’ डाक्टर कमरले भने ‘सीमामा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई पनि उच्च जोखिम छ ।’

सुदूरपश्चिमा तयार गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार नभएकाले क्वारेन्टाइनमा बस्दा पनि कोरोनाको जोखिम रहेको डाक्टर कमरले बताए । ‘अहिलेको अबस्था हेर्दा सुदूरपश्चिममा लुकेर बसेका कोरोनाका केस धेरै हुन सक्छन’ डाक्टर कमरले भने, ‘समयमै पर्याप्त सर्तकता अपनाउन नसके यहाँको अवस्था भयावह हुन सक्छ ।’

शुक्रबारमात्र भारतबाट आएका एक हजार ८ सय नेपाली कैलाली भन्सार नाका हुँदै नेपाल भित्रिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले आरडीटी किट नभएका कारण शुक्रबार नेपाल भित्रिएका नेपालीमध्ये कसैको पनि स्वास्थ्य परीक्षण गर्न नसकिएको बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एकैपटक ठूलो संख्यामा भारतबाट समूमा नेपाली आईरहेका कारण व्यवस्थापन गर्न कठिनाई भइरहेको बताए । उनले भारतबाट आउनेहरूको पूर्वजानकारी नहुँदा परीक्षण किट र यातायात व्यवस्थापनमा निकै कठिनाइ भएको बताए ।

यसअघि बिहीबार र बुधबार गौरिफण्टा नाकाबाट मात्र तीन हजार २ सय ५५ नेपाली नेपाल प्रवेश गरेकोमा आरडिटी किटको अभावमा ६ सय ७० जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १५ जनामा आरडिटी पोजेटिभ देखिएको कैलाली स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालसिंह धामीले जानकारी दिए ।

पोजेटिभ देखिएका व्यक्तिहरूको पीसीआर चेकजाँच भईरहेको र अहिले उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको निमित्त प्रमुख धामीले बताए । रोजगारीका लागि भारतका विभिन्न शहरबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालका ३४ जिल्लाका नेपालीलाई गौरिफण्टा नाकाबाट स्वदेश ल्याइएको कैलाली जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबिच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले मुम्बईमा रहेका नेपालीहरूलाई मे १८ मा फोन गरेर ‘सरकारले भारतमा रहेका नेपालीलाई आउनु भनेको’ भनेर भनेको फोन टेप सार्वजनिक भएको छ । तर, सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुवेदीले प्रदेश सरकारले यस्तो कुनै आह्वान नगरेको बताए ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भारतका विभिन्न शहरबाट कैलाली भन्सार नाका हुँदै दिनहुँ ठुलो संख्यामा नेपाली ओइरिन थालेपछि व्यवस्थापनमा निकै कठिनाइ थपिएको बताए ।

‘अहिले दैनिक आइरहेका यति धेरै मानिसको उपमहानगरपालिका एक्लैले व्यवस्थापन गर्न सक्दैन’ उनले भने– ‘त्यसैले अब नेपाल आउनेहरूलाई सम्बन्धित जिल्ला वा स्थानीय तहको जिम्मा लगाउने बाहेक अरु विकल्प छैन ।’

गौरीफण्टा नाकाबाट मात्र केही दिन यता ६ हजार तीन सय बढिको उद्धार भएपनि कोरोना परीक्षण भने हुन सकेको छैन । स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भने र्‍यापिड टेस्ट गरिएको थियो । ७ गते आएका ८ सय ५८ जनालाई र्‍यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको हो भने ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।

यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण नगरेरै नेपाल भित्रयाईएको हो । सुदूरपश्चिम प्रदेश सरकारले कीटको अभाव रहेको जनाएको छ । नौँ वटा जिल्लामा झण्डै तीन हजार र्‍यापिड कीट मौज्दात रहेपनि प्रदेश सरकारसँग भने मौज्दात नरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । उनले कीट अभाव रहेको र र्‍यापिड कीटका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय भईरहेको बताए ।

४० दिन सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखिएका थिएनन् । शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका छन् ।

जेठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्