सम्झनामा हल्लिरहेको प्रेमकथा

प्रिय बिजया,
सप्रेम सम्झना

आज तिमीलाई कोरोनाको छेको पारी सम्झने बाहाना खोजें । जवान हुँदै गइरहेको समय र क्लान्त हुँदै गइरहेको मेरो स्थुलकायाका कुनै बेला तिमिले काइयोको सहायताले केशराशी केलाएकी थियौ र म कलम मुखमा च्यापेर दार्शनिक पारामा गुह्गा गन्थन गरिरहेको थिए ।

जीवनको उत्तरार्धमा भेटिएकी ‘न्यू साउथ वेल्स’ स्थित युटोपिया निवासी नब्बे बर्षिय बेटिना लेडिस्माको जादुमयी हस्त ज्ञानलाई सहि मान्ने हो भने, मेरा पूर्वजीवनका किस्साहरु कम्ति रोचक छैनन् । प्रश्नको पाउँ छाम्दै हिड्ने ग्रन्थीबाट अब आइसकेको मैले जब ओशोलाई आफूअनुरुप व्याख्या गरे र ध्यानको निजित्वमा नाच्न थाले । चर्चामा आएका चाउचाउजन्य फास्टफुड रिलिजन र लाइफ कोच सबै मित्थ्या हुन् ।

उनीहरु आफ्नो मार्गमा तल्लीन् छन्, उनीहरुलाई डिस्टर्ब मैले किन गर्नु र उनीहरुलाई मेरो जीवनमा माथि दखल अन्दाजि दिनका लागि किन निम्त्याउनु भन्ने अलिखीत बुझाइमा म किनारै किनार साउती मार्दै यहाँसम्म आइपुगे । अब लाग्छ समुन्द्रको ज्वाराभाटासँग चाँडै लिन हुनेछु र गहिरो रिक्ततामा समाहित हुनेछु ।

शरिरको आकर्षमा शदियौंदेखि गोताखोरको भेषमा डुबुल्की लाइरहेको औसत मेरो शरिरका लागि दृष्यमा आउने हरेक पदार्थमा सुन्दरता खोज्नु, सुगन्ध खोज्नु एक दुर्वल कमजोरी थियो, जसलाई मैले जीवन साँधको अबेरसम्म लुकाइराखेको थिए । ती नब्बे वर्षीय सुन्दर बेटिनाले सुन्दर आवाजमा मेरा पूर्व कथाहरुबारे भनिन् । मेरो पूर्वजातक कथाका बारेमा सम्मान भइरहे पनि जान्ने उत्सुकता म भित्र कहिल्यै आएन ।

तर उनले अक्षरशं भनिन्, मैले सुनिरहे । सर्वप्रथम त उनले आफ्नो र मेरा बिचको पुलको उद्घाट्न गरीन । हामी कसरी कहिले कुन आवरणमा भेटिएका थियौ पुर्वप्रहरमा । त्यसपछि ‘चे ग्वेभारा’ को रातो तारा र म माझ समानता खोजिन् । र ठोकुवा गरिन्– ‘जुन दिन चे लाई गोली हानी मारियो त्यही दिन तिम्रो शरिरको उदय यस आलोकमा भएको थियो !’ उनले क्रसचेक गर्नका लागि ठेगाना दिइन् । मैले सुनिरहे, सुँघिरहे तिलस्मी राजका कुरा । उनले अग्नीकुण्डमा चौर सहित ताजा घिउ अर्पण गरी निकालेको धुवाँ जस्तो लाग्यो उनका कुराहरु र म सुनीमात्र रहे ।

उनले भनिन्, ‘तिमी हिब्रु साहित्यका ठूला कवि, लेखक थियौ । शिक्षक पनि थियौ । थुप्रै विद्यार्थीहरु अहिले पनि तिमीलाई सम्झन्छन् । यदी तिमी चाहन्छौ भने जाउँ त्यो पुरानो गाउँमा र खोज आफ्नो अतितलाई र डुब डेजाबुको सघन आनन्दमा ।’

बेटिनासँग सुन्दर हृदय थियो । सुडौल काया थियो । सुन्न सक्ने र बोल्न सक्ने सैन्दर्य शरिरमा रहिरहेसम्म लावण्य जगका शुभचिन्तकहरु म जसरी भेटिइ रहन्छन् । यस जीवनमा पनि उनले लामो अध्यात्मीक यात्रा तय गरेकी थिइन् । अध्यात्मीक जगत्का बिसौँ शताब्दीका महानतम् शिखर पात्रहरुसँग उनले शशरीर यात्रा गरेकी थिइन् ।

उनको आत्माको उडान त अर्कै कुरा भइगयो । हुनसक्छ उनमा आएको निखारीएको सख्खर जस्तो त्वचाँ जब संवादमा खस्थ्यो, म एकटकले सुनीरहन्थे । उनले मेरो बारेमा भनेका प्रशंगहरु लाग्थ्यो ती मेरो भागमा आएका पुख्र्यौली खेतबारी थिए र कहिले कुन बाली रोप्ने कहिले कुन बाली रोप्ने दाउमा म जन्म जन्मान्तर झुलीरहेको थिए । तत्वज्ञानको मिमांशामा चोबलिने अन्तिम आस भएपनि किनारै किनारको यात्राको मोहक कुलतमा जो म फसेको थिएँ ।

बिजया, म फर्कू तिम्रो मेरो यस कालखण्डको कहानीमा । जहाँ तिमी थियौ, म थिए र थिए कलेजका अग्ला सिलिंगहरु । अनि त्यसको मध्यभागमा झुण्डिएका भिमकाय पंखाका कुरुप पाताहरु । यस्तो छनक दिन्थे ति फर्सी, बोडीजस्ता लहरे बालीका फल थिए । गर्मिको लू भगाउन फनफनी घुम्थे । त्यसको पहिलो बेञ्चमा तिमी र म आसीन हुन्थ्यौं । साथमा साथीहरु थिए तर ती साथमा भएर पनि हराएका जस्ता थिए ।

तिनीहरुका गन्ति तिमीले गरीनौं, मैले तिमीमा एक संसार बुनिसकेको थिए । सम्बन्धको जाडो मौसम आउँला र मफलर पुरा होला र म लाउँला ! या तिमीले बुनिदीएको पञ्जा लगाएर तिम्रो स्पर्श कुरुशका डोबमार्फत गरिरहूँ ! मेरो अन्तरव्यञ्जना आफै–आफै हलुवा–परौठा तयार गरिरहेको थियो ।

तराईको सबै दक्षिणी भागमा गर्मि उल्का गरी आउँथ्यो र हामी कुनै एक कोणमा बसेका थियौ । हामी सम्बन्धमा बाँधिएको बेला कोक पेप्सीको जन्म भइसकेको थिएन । भएपनि हामी कहाँसम्म आइपुगेको थिएन । माटोको गाग्रीलाई चिसो पानी भरेर जमिन मुनि राखी डाँडुले दुधदही जसरी जतनसाथ निकाली पिउने याममा हाम्रो प्रेमको सोमरस छचल्कीएको थियो । हामी बस्ने नगरमा बर्फी बन्थ्यो, राबडी बन्थ्यो, उखुको रस पेल्न भक भकाइरहेका हाते मसिन चालु अवस्थामा थिए ।

तातो समोसा वा रैथाने पानीपुरीले गर्मि बिर्साउथ्यो । सम्झ हाम्रो बिहानी रानी तलाउँको बाटो हुँदै चोकमा आएर मन खोलेर सालका पातमा खाएको पुरी तरकारीको ताजा स्वाद । अनि मध्यान्हको चर्को घाममा हामीले नियमीत पिउने मलाइदार लस्सी र तीनमा मिसीएका काजु किसमिसका दाना चबाउँदै एकले अर्कोलाई हेर्दै रोकीदै रोकिदै पिइरहेको अमृतरस ग्लासबाट पग्लेर हाम्रा आँखामा हराउँथ्यो । प्रेमका सबै खित्काहरु अन्तिम समयसम्म मुखमा अडिरहन सक्दैनन् । ती भूइमा खस्न नपाउँदै हावामा बिलाएर जान्छन् ।

हाम्रो प्रेमनगरका उच्छवासहरु तिमी र मैले बसाई सरेपछि एकादेशको कथा भएँ । तिमी कहि जम्यौ, म कहि बहे । नियती सिमावद्ध भएर बर्तमानमा टल्कीए देखी प्रेमको त्यो प्रथम नमूना निसान त्यही नगरमा गाँडिएर बस्यो । सायद हामीले ती हाम्रो पारीला प्रेमका गुम्फनहरु त्यही नगरको सिमसारमा छोडेर आयौं र त नयाँ संसारसँग रित मिलाउँन सक्यौ ।

नयाँ सम्बन्धको साजमा पुरानो धुन नआउँनु अर्को नविन आश्चर्य थियो जुन मैले आलो अनुभव गरेको थिएँ । म मेरी श्रीमती र सृजित सन्तानका साथ आलोकनगरको रागमा जलिइ रहेकोछु । कुनै बेला कमल फुल्ने यो चिस्यानमा हामी बाँचेको गर्मिभन्दा शितलता प्रदान गर्ने प्रकृती त छ तर जड रुपि मान्छेको सञ्जालले विद्युतिय प्रशारणको झट्का दिएका छन् । मान्छेको असली चरित्र तिमी यो नगरमा भेट्न सक्छ्यौ यदी कहिले यहाँ आयौ भने ।

मलाई थाहा छैन तिम्रो सेरोफेरो कस्तो छ? अनुमान गर्न सक्छु तिमीजस्तै निखारपूर्ण लावण्य त पक्कै छैन, वा गर्मि यामको अर्को फलैचामा तिम्रो पारीवारिक संसार सुतेको छ र तिमी ब्युझिरहेकी छौं । यस्तो कोखमा बास गरीरहेको छु म आवश्यक सबै कुराको उचित योजन भएर पनि सन्तुष्टीको कर्क लागेको छैन, कसीन मानेको छैन र म प्रयास गरीरहेको छु, कसीकसाउ सानो संसारमा चोरआँखा नलागुन भनेर ।

अहिले संसार महामारीको कोलाहलमा उम्लिइरहेको छ । अस्तित्वले पासा खेलीरहेको जस्तो, हामी दाउमा हरेक दिन उठ्ने र अनिश्चित निन्द्रा लिएर ओछ्यानमा पल्टन बाध्य छौं । यही मेसोमा म सम्झनाको रसतालमा डुँबे र त्यो नूनत नगरमा पुँगे जहाँ हामीले प्रेमका गुच्छाहरु बेरेर छाडेका थियौ । मृत्युले हरेकलाई नजानिदो किसीमले भय दिएर जान्छ, मानवीय स्वभाव मानौ या काँतर कमजोरीको नमूना हो यो ।

सबै हातमा भएर पनि हात हलुको छ, सबैजना घरमा छन् र पनि घर शुन्य छ, स्वस्थ शरिरमा केवल श्वासप्रश्वास चलिरहेको छ पनि दमको बिरामीको भ्रम भइरहछ । सबै प्राप्य हुनुपनि अर्को संदेह युक्त गडबडी जीवनमा निम्त्याउनु रहेछ । अंहकार रुपि अलंकार कहिल्यै हराइ सकेको हो यद्यपि अपजस र अयोग्य भनाइले मलाई घेरीरहेका हुन्छन् ।

अहिले संसार महामारीको कोलाहलमा उम्लिइरहेको छ । अस्तित्वले पासा खेलीरहेको जस्तो, हामी दाउमा हरेक दिन उठ्ने र अनिश्चित निन्द्रा लिएर ओछ्यानमा पल्टन बाध्य छौं । यही मेसोमा म सम्झनाको रसतालमा डुँबे र त्यो नूनत नगरमा पुँगे जहाँ हामीले प्रेमका गुच्छाहरु बेरेर छाडेका थियौ । मृत्युले हरेकलाई नजानिदो किसीमले भय दिएर जान्छ, मानवीय स्वभाव मानौ या काँतर कमजोरीको नमूना हो यो ।

तर मान हामी सबै डराएका छौं, आजभोली वा पर्सी त केही हुन्छ कि ! उपायहिन भइ असरल्ल भइ रुँगीरहन बाध्य छौं । जब मान्छेलाई मृत्युको आभाष हुन्छ तब प्रेमको पहीलो पृष्ठ सम्झनाको कोखबाट झरेर वर्तमानको सम्मुखमा आउँछ । यही दशा मेरो भएको छ अहिले र पुरानो मसिदानीमा चोब्दै लेखिरहेको छु जीवनको नयाँ पृष्ठमा । आउँ सुन र सुस्ताउँ हाम्रो अतीतको झरी ओढेर ।

जगतका दार्शनिकहरुका तत्व ज्ञानले शरीरमा डस्न पाएका थिएनन् र यौवनको पिरामिड निर्माण हुने र भत्कने क्रम जारी थियो । त्यसबखत तिम्रो संग्लो गोलो अनुहारको आभावबाट निस्कने मादकता पूर्ण आवाजले लट्ठीएको मेरो उर्वर तापलाई संचित गरेर सौर्य उर्जा निकाल्ने ध्येय धेरै नभएका होइनन् । ती उपायहिन् दिनको सम्झनालाई पोखरीले पिधमा जम्मा गरीराखेका छन् सायद, चिस्यान ओढाएर आउने समयका लागि सुरक्षित राखी राखेका छन् ।

अन्यथा बाहिरी मौसम तातो थियो र हामी एकले अर्कोलाई सम्हाल्न सक्ने अनुकुल वातावरण थिएन । हामीलाई एकाबिहानै उठाउँने मस्जिदका लाउडस्पिकरबाट निस्कने कर्कश आवाज पनि धेरैपल्ट सुनेर होला प्रितीकर लाग्न थालेको थियो । वर्षौ पुरानो शिव मन्दिरका जुगे पुजारी रुष्ट छन् सायद, यसरी एकाबिहानै ब्रह्ममुर्हत ध्वस्त हुनेगरी भाइलालहरुले नगरको शोभा भत्काएकोमा । तर उनको असन्तुष्टी बाहिर आएको छैन, ढोकामा बसेको गणेशले सम्हाली दिएको हुनुपर्छ ।

दशगजामा लाग्ने हाटबजारमा हामीले खेलेको लालगुलाब खेलले कसरी मलाई रातो पिरो बनाएको थियो ? सम्झ त गर्मिमा बलेको त्यो मेरो अनुहार र तिम्रो शितल ढाडस कसरी मेरो ढाडमा अवतरण गरेको थियो । साइकलमा केरा लिएर हिँडिरहेको, घोडालाई सास्ती होला भनि उच्चीदै बसेको, बुज्रुक व्यक्तिले गम्छा हम्केर चलाइरहेको रिक्सा मुन्तिर बजिइरहेको आइटम संगितले पसिना सोस्ने काम गरेको थियो र बरफ चुस्दै हामी स्वदेशतर्फ फर्केका थियौ ।

बेटिनाले भने जसरी म फेरि शरीरमा आउँनेछु र सम्झनाको अमर गीत गाउँने छ । थाहा छैन तिमी त्यसबेला मलाई ठम्याउन सक्नेछौ वा छैनौ । तर म हरेक तहका जीवन लिलालाई जीवन गीत बनाएर गाइनेको भेषमा गाइ रहनेछु । सुन्नेहरु भए भने तिनीहरुको भाग्य, भएनन् भने मेरो आफ्नै भाग्य । म आफ्ना लागि निजी गीत गाउँदै नाच्दै अस्तित्वको पाश्र्व छाँयामा हल्ली रहनेछु ।

अलौकिक चुम्बन सहीत बिदा हुन्छु ।

उही तिम्रो नोबल प्रेमी
डाइनामाइट

जेठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्