तीन दिनपछि खुल्यो मैतीदेवीको सिल, कसैको परीक्षण भने भएको छैन

मैतीदेवी क्षेत्र। तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – एक युवामा कोरोना भाइरसको संक्रमणदेखिपछि वडा कार्यालयको अगुवाइमा सावधानीका लागि सिल गरिएको काठमाडौँको मैतीदेवी क्षेत्रको सिल हटाइएको छ।

गएको बुधबार (चार दिनअघि) रामेछाप स्थायी घर भई मैतीदेवी बस्दै आएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यसलगत्तै वडा कार्यालयको अगुवाइमा गरिएको सिल शुक्रबार दिउँसोदेखि हटाइएको हो। संक्रमित युवा बस्दै आएको घरका मानिसलाई होम क्वारेन्टिनमा राखिएको छ। संक्रमित युवा हाल पाटन अस्पतालको आइसोलेसनमा छन्।

तर अझैसम्म पनि संक्रमित युवाको बस्दै आएको घरका बासिन्दा र उनको सम्पर्कमा आएका अरुहरुको परीक्षण भएको छैन। तीन दिनपछि शुक्रबार टेकू अस्पतालबाट स्वास्थ्यकर्मीको टोली मैतीदेवी आएर निरीक्षण गरेको थियो।

काठमाडौँ महानगरपालिका ३० का वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘अहिलेसम्म कसैको पनि परीक्षण भएको छैन। शुक्रबार दिउँसो टेकू अस्पतालबाट स्वाथ्यकर्मी आएर अब सिल हटाए हुन्छ भन्नु भयो। त्यसपछि हटाएका हौँ।’

संक्रमित युवाका भाइको रिपोर्ट नेगेटिभ आएको भए पनि आइतबार उनीसहित सो घरमा बस्नेहरुको परीक्षण गर्ने तयारी रहेको छ। पहिले आरडिटी परीक्षण गर्ने र त्यसमा पोजेटिभ देखिएमा पीसीआरका लागि स्वाब संकलन गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

संक्रमण पुष्टि भएको चार दिन हुँदा पनि ती संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी परीक्षण नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।

यता कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएका रामेछाप स्थायी घर भई काठमाडौँको मैतीदेवी बस्दै आएका युवकले खासै डर पनि नलागेको र गाह्रो पनि नभएको बताएका छन्।

रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण पुष्टि भएपछि बुधबार पाटन अस्पतालको आइसोलेसनमा राखिएको हो।

जुम्ल्याहा भाइसँगै उनले टेकू अस्पतालमा गएर जेठ २ गते स्वाब दिएका थिए।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्