निशान छापसँगै आफ्ना मुद्दा पनि संशोधनमा पार्न समाजवादी नेताहरुको माग

काठमाडौँ – सरकारले नयाँ नक्सासहितको निशान छापका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरेसँगै जनता समाजवादी पार्टीका नेताहरुले आफूहरुले विगतदेखि उठाउँदै आएका मुद्दाबारे पनि सँगसँगै संशोधन प्रस्ताव अघि बढाउन माग गरेका छन् ।

जनता समाजवादी पार्टीका नेताहरुले आफूहरुका माग बमोजिम संविधान संशोधनको प्रस्ताव अघि बढाउनका लागि सहयोग गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई गुहारेका छन् ।

बुढानिलकण्ठस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवालाई शनिबार बिहान भेट गरी जसपाका नेताहरुले निशान छापका लागि भइरहेको संविधान संशोधनको प्रक्रिया सँगसँगै आफूहरुका मागबारे पनि संशोधन प्रक्रिया अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेशवादी दलका मागबारे संविधान संशोधनको प्रस्ताव दर्ता गरेको थियो । तर उक्त प्रस्ताव तत्कालीन एमालेको असहयोगका कारण अस्वीकृत भएको थियो ।

‘हामीले विगतमा तपाईले दर्ता गरेको प्रस्ताव अस्वीकृत भयो, अहिले उपयुक्त बेला आएको छ, हाम्रा मुद्दाबारे सहयोग गर्नुहोस् भन्यौँ’,  जसपाका नेता महेन्द्र राय यादवले भने, ‘उहाँले सल्लाह गर्छु भन्नुभएको छ ।’

नेता यादवका अनुसार यसबारे कांग्रेस सभापति देउवाले आइतबार बस्ने कांग्रेस पदाधिकारीको बैठकमा सल्लाह गर्ने जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर आफ्ना मागबारे अवगत गराउने र संविधान संशोधनका लागि आग्रह गर्ने जसपाका नेता केशव झाले बताए ।

उनले भने, ‘मुलुकले चाहेका, जनताले चाहेका विषयमा संविधान संशोधन हुनुपर्छ, संशोधनको प्रक्रिया सुरु हुँदा हाम्रा मागलाई किन छुटाउने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने आश्वासन मधेसवादी दललाई दिँदै आएका छन् ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू