हाम्रो आवाज पनि सुन्नुहोस्- २

कसले सुन्छ हाम्रो आवाज? कसले बुझ्छ हाम्रो पीडा?

न बोलेको सुन्न सकिन्छ, न सांकेतिक गरेको बुझिने- कस्तो दोधारको जिन्दगी। श्रवण यन्त्रको प्रयोगबाट केही सुन्न सकिन्थ्यो, त्यो पनि ब्याट्री सकिएर थन्किएको छ। यो लकडाउनको साथमा कहाँबाट पाउने? अर्कोतिर अपरेसन गरेको कानमा फेरि इन्फेक्सन सुरु भएको छ, हस्पिटल कसरी जाने?

साथीहरुसँग अनलाइन कुरा गरौं, सबैका समस्या उस्तै छन्। कसैसँग श्रवण यन्त्रको ब्याट्री छैन भन्छन्। कसैले भर्खर इम्प्लान्ट गरेको, म्यापिङ गर्न पाएको छैन भन्छन्। कोही श्रवण यन्त्र बिग्रिएर बनाउन पाएको छैन भन्छन्। कसैकसैले कोठामा थुनिएको दुई महिना भइसक्यो, पैसा पनि सकिएकाले खान पाएको छैन, खोई, कतातिर राहत बाँडेको छ… भन्ने सुनिन्छ। हो कि होइन, थाहा छैन भन्छन्। आफूले देखेको संसार सबैतिर उस्तै देखिन्छ।

कोरोनाको महामारीले विश्व नै अलमल परेको बेलामा हाम्रो देश पनि अछुतो रहन सकेको छैन। कोरोनाका सचेतनाका सूचनाहरू बजिरहेका छन्। चुप लाग न एकछिन्… भन्नेहरु मात्रै हुन्छन्। ती सूचनाको बारेमा भनिदिने कोही हुँदैनन्। नेपालमा दिनदिनै कोरोना संक्रमित यति बढ्दै गए, यतिमा खोइ के- के हो, पिसिआर, आरडिटी परीक्षण भयो भनेर विभिन्न सञ्चार माध्यमहरु, रेडियो, टेलिभिजनहरूमा आउँछन्, तर ती सबै हामी सुस्त श्रवणहरूको पहुँचमा हुँदैन। त्यसैले सोसल मिडियाका सूचनाहरूमा भरपर्नु पर्ने हुन्छ, तर ति सबै सूचनाहरु आधिकारिक र भरपर्दो भए नभएको थाहा हुँदैन। एउटाले एकथरि लेख्छ, अर्कोले अर्कै थरि लेख्छ।

कुन ठिक हो भनेर परिवारसँग कुरा गरुँ, श्रवणयन्त्रको ब्याट्री सकिएकोले कुरा गर्न गाह्रो। छरछिमेकीहरू सँग बुझुँ भने पनि सोसल डिस्टान्स राख्नुपर्ने। हामीहरू ओठको चाल पनि हेरेर सञ्चार गरिरहेकोमा, फेरि मास्क प्रयोगले, ओठ पनि छोपिएको अवस्था छ। कसरी बुझुँ मैले?

यसरी हेर्दा लाग्छ कतै कतै यो अन्योलमा अनि शून्यतामा हराउँदै गएझैँ लाग्छ र मनमस्तिष्क सबै भावना शून्य हुँदै गएझैँ लाग्छ। सरकारले यो अवस्थामा पनि हामी सुस्त श्रवणहरुलाई सूचनाको पहुँचबाट बञ्चित गराएको जस्तो लाग्छ। यो मानसिक तनावबाट मुक्त हुन, अब त आफ्ना आवाजहरु लेखुँ कि भनेर आँटेको छु। केही समय आफ्नै गाउँ घरको प्रकृतिको स्वच्छन्द स्पर्शमा आफूलाई बिर्साईदिऊँ, आजभोलि यसै गरी बितिरहेछ दैनिकीहरु।

(लेखिका श्रुति संस्थाको महासचिव हुन्)

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्