एमसीसी अनुमोदनका लागि छलफल तीव्र, भीम रावलसहित नेकपाका नेताहरु बालुवाटारमा

काठमाडौँ- अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) सम्झौता अनुमोदनलगायत समसामयिक विषयमा छलफल गर्न नेकपाका सचिवालय सदस्य एवं स्थायी कमिटीका सदस्यहरु बालुवाटार पुगेका छन्।

शनिबार दिउँसो अनौपचारिक छलफल भन्दै  नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सचिवालयका सदस्य र  एमसीसी अध्ययन कार्यदलका सदस्यहरु सदस्य  भीम रावल र  प्रदीप ज्ञवाली बालुवाटार पुगेका हुन्।

छलफलमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सामेल भएका छैनन्।

झण्डै एक वर्षदेखि संसदमा विचाराधीन एमसीसी सम्झौता अनुमोदनका लागि  ओलीले आफ्ना दलका नेताहरुबीच लविङ तिब्र बनाएका बेला शनिबार कार्यदलका संयोजक झलनाथ खनाल र सदस्यहरु रावल तथा ज्ञवालीबीच छलफल भएकाे हाे।

कार्यदलका संयोजक खनाल र सदस्य रावलले कार्यदलले मुलुकको राष्ट्रिय हित, स्वाधिनता र स्वतन्त्रताविपरित रहेकाले एमसीसी सम्झौता संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने सुझाव पेश गरेका थिए भने अर्का सदस्य ज्ञवालीले जस्ताको त्यस्तै सम्झौता पारित गर्नुपर्ने पक्षमा उभिएका छन्।

प्रधानमन्त्री ओलीले हालै संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जबाफ दिने क्रममा एमसीसी अनुमोदनको विकल्प नभएको सुनाएका थिए।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू