काठमाडौँकी एक संक्रमणमुक्त महिलाको अनुभव

‘कोरोना भाइरसको संक्रमणभन्दा पनि फेक न्यूजको भाइरस डरलाग्दो’

‘मलाई संक्रमणले भन्दा पनि बाहिर आएका समाचारहरुले धेरै तर्सायो’, उनले भनिन्, ‘रिपोर्ट पोजेटिभ देखिए पनि मलाई केही भएको छैन चाँडै निको हुन्छु भन्ने कुरामा म ढुक्क थिएँ, तर सञ्चार माध्यममा दिन रात आउने समाचारका कारण म बेचैन भइरहेकी थिएँ।’

काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ मच्छेनारायणकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी गत वैशाख ३० गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी थिइन्।

कोरोना भाइरस संक्रमित भएकी उनी अस्पताल भर्ना भएपश्चात विभिन्न सञ्चार माध्यमले उनका बारेमा अनेक अड्कलबाजी गर्दै समाचार प्रकाशन तथा प्रसारण गरे। त्यसबेला उनलाई भनिएको थियो, ‘भारत घुमेर नेपालगञ्ज हुँदै काठमाडौँ आएकी महिला संक्रमित’, ‘चन्द्रागिरीकी कोरोना भाइरस संक्रमित महिलालाई दिएको थियो जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास।’ अर्को कुनैले लेख्यो, ‘बैंकमा पैसा झिक्न गएकी थिइन्, संक्रमित महिला’, फेरि अर्को कुनैले लेखे, ‘संक्रमित महिलाले बाहिर खाना खाएकी थिइन्।’

यस्तै समाचारका कारण कतिले उनलाई गाली गरे, कतिले बेबकुफ सम्झिए। सञ्चार माध्यमले आफ्नै तरिकाले समाचार लेखेका कारण। उनलाई सोध्नुपर्छ भन्ने कसैले ठानेन्। ‘सत्य कुरा के हो भन्ने नबुझेरै मेरो बारेमा नानाथरि लेखियो। एकपटक मलाई सोध्नु पर्छ भन्ने कसैले पनि सोचेनन् र सोधेनन् पनि’, उनले भनिन्।

उनले थपिन्, ‘म भारत गएको छैन। म बैंक पनि गएको छैन। आफ्नै घर भएको मान्छे, बाहिर खाना खान किन जानु?’

यहाँ घरमा उनका श्रीमान, छोरा र छोरी छन्। तर उनको मूल घर महेन्द्रनगर हो। चैतको १७ गते देवरको व्रतबन्ध हुने भनिएको थियो। छोरा–छोरीको वार्षिक परीक्षा चाँडै सकिएपछि उनी छोराछोरीसहित देवरको व्रतबन्धका लागि चैत ८ गते काठमाडौँबाट महेन्द्रनगरतर्फ लागिन्।

तर, सरकारले चैत ११ गतेबाट देशभर लकडाउनको घोषण गर्‍यो। न त देवरको व्रतबन्ध नै भयो, न उनी फर्केर काठमाडौँ नै फर्किन पाइन्। उनी मात्र चपेटामा परिन्।

करिब दुई महिना घरमै बसिन्। घरको यता उता काम गरिन्।

‘म भारत गएकी होइन। म घरमै बस्दा गहुँ काट्न अनि कहिलेकाहिँ घर नजिकैको पसलमा सामान तरकारी लिन गएकी थिएँ। हाम्रो घरबाट गड्डाचौकी नजिकै पर्छ। त्यही भएर भारत गएको भनेका हुन सक्छन्। तर म गड्डाचौकी गएको छैन। फेरि घर जानेबित्तिकै लकडाउन सुरु भइहाल्यो। कसरी निस्कनु बाहिर?’ उनले भनिन्।

लकडाउन खुल्ने अत्तोपत्तो थिएन। अब खुल्ला भन्दाभन्दै अझ झन् लम्बिरहेको थियो। श्रीमानलाई एक्लै काठमाडौँ छोडेर छोराछोरीसँग घर गएकी उनी काठमाडौँ फर्किने विकल्प खोज्न थालिन्।
चिनजानका एक जना दाइको गाडी काठमाडौँ आउने कुरा आफूले थाहा पाएको उनले बताइन्। उनले भनिन्, ‘हाम्रो घरबाट यहाँ आउन २२/२३ घण्टा लाग्छ। दाइको गाडी २८ गते जाने भनेपछि हामी (तीन आमा छोराछोरी) दाइको गाडीमा आयौँ। २८ गते हिँडेका हामी २९ गते काठमाडौँ पुग्यौँ। त्यही साँझ ६ बजेतिर स्वाब दियौँ।’

काठमाडौँ फर्किदै गर्दा संक्रमण फैलिएका जिल्ला छिचोल्दै आएका उनीहरुले बिचमा केही ठाउँमा झरेर चाउचाउ किनेर खाएका थिए। सावधानी अपनाउँदै उनी एपीएफ अस्पताल गइन् र स्वाब संकलन गर्न पठाइन्। परीक्षणका लागि स्वाब संकलन गरिसकेपनि आफूमा कुनै पनि लक्षण नदेखिएका कारण डाक्टरले उनलाई घरमै बस्न अनुमति दिए।

खुसीखुसी छोराछोरीसहित उनी चन्द्रागिरीस्थित घर फर्किइन्।

‘पोजेटिभ’ भन्ने शब्द सुन्नेबित्तिकै आफू छाँगाबाट खसेझैँ भएको उनले बताइन्। ‘ला छोराछोरीको रिपोर्ट के भयो’, उनले सोधिन्। तर उनको रिपोर्ट पोजेटिभ भए पनि उनीसँगै आएका छोराछोरीको रिपोर्ट नेगेटिभ थियो।

३० गते राति साढे १० बजेतिर अस्पतालबाट फोन आयो। त्यही फोन मार्फत उनले एउटा अप्रत्यासित खबर सुनिन्, ‘तपाईँको रिपोर्ट पोजेटिभ आएको छ।’

‘पोजेटिभ’ भन्ने शब्द सुन्नेबित्तिकै आफू छाँगाबाट खसेझैँ भएको उनले बताइन्। ‘ला छोराछोरीको रिपोर्ट के भयो’, उनले सोधिन्। तर उनको रिपोर्ट पोजेटिभ भए पनि उनीसँगै आएका छोराछोरीको रिपोर्ट नेगेटिभ थियो। उनले भनिन्, ‘म सत प्रतिशत ढुक्क थिएँ, मेरो रिपोर्ट नेगटिभ आउँछ भनेर। धन्न केटाकेटीको रिपोर्ट नेगेटिभ आएछ। तर म विज्ञानलाई नकार्न सक्दिन। संक्रमित भइसकेपछि एक्बुलेन्स कुरेर अस्पताल जानलाई तयार भएर बसेँ।’

नसोचेको कुरालाई उनी स्वीकार्दै टेकु अस्पताल पुगिन्।

अस्पताल भर्ना भएको भन्दा पनि सामाजिक सञ्जालमा आएका कुराले आफूलाई दुःखी बनाएको उनले बताइन्। ‘संक्रमित हुनुमा मेरो के गल्ती थियो र? मसँगै आएका बाबु–नानीलाई संक्रमण देखिएन। घर परिवारलाई देखिएन। तर सबैले मलाई दोषी ठहर्‍याए,’ उनले भनिन्।

अनावश्यक समाचारका कारण उनले धेरै चित्त दुखाउनु पर्‍यो।

तर त्यही दुखेको उनको मनलाई राहत दिने काम गरे अस्पतालका डाक्टर र नर्सले। घरभन्दा फरक अनुभव गर्न पाइन्। दैनिकीका लागि तालिका बन्यो। खाना खाने, खाजा खाने, सुत्ने, मोबाइल चलाउने, परिवारसँग कुरा गर्ने सबै कुरा उनी तालिकाअनुसार नै गर्न थालिन्।

उनको रेखदेखमा खटिएका डाक्टर र नर्सहरुले हौसला दिन गरेको उनले बताइन्। ‘केही हुन्न, नआत्तिनुस् भन्नुहुन्थ्यो। उहाँहरु बेला बेलामा एक्सरे गर्न, रगत निकाल्न, स्वाब निकाल्न आउनुहुन्थ्यो। कसैले पनि नराम्रो व्यवहार गर्नु भएन’, उनले थपिन्, ‘मलाई त घरमा भन्दा पनि अस्पतालमा बस्न आनन्द भयो। ९ दिन कसरी कटे थाहा पाइन। सायद सुविधा राम्रो भएर होला। हुन पनि अस्पतालमा घर भन्दा राम्रो सुविधा थियो।’

उनलाई अस्पतालका डाक्टर र नर्सले पटकपटक सम्झाउने गरेका थिए। जथाभावी समाचार पढेर मन नदुखाउनु होला। त्यो बेला आफूलाई जथाभावी लेख्नेहरुप्रति जति रिस उठे पनि चुपचाप सहनुको विकल्प नभएको उनी बताउँछिन्। ‘लेख्नु भन्दा अगाडि सम्बन्धित व्यक्तिसँग बुझेर लेख्दा सत्य कुरा थाहा हुन्छ। मेरो अनुरोध सबैलाई यही छ, सम्बन्धित व्यक्तिको बारेमा बुझेर मात्र समाचार लेखिदिनु होला।’

तर खिन्न भएको उनको मन खुसीले दङ्ग भयो। जेठ ४ गते दोस्रो परीक्षणका लागि स्वाब संकलन गरियो। रिपोर्ट नेगेटिभ आयो। योसँगै अस्पताल ९ दिनको बसाइमा उनको तीनपटक नमूना परीक्षण गरिएको थियो। रिपोर्ट तीनैपटक नेगेटिभ आयो।

अहिले पनि उनलाई शंका लाग्छ, कसरी संक्रमित भइयो। ४/५ दिनमै रिपोर्ट कसरी नेगेटिभ आयो? कतै नमूना परीक्षण गर्दा गलत त भएको होइन? ‘मलाई लाग्छ, कतै मेरो पहिलो रिपोर्ट पनि नेगेटिभ पो थियो कि? ३० गते पोजेटिभ रिपोर्ट आएको थियो। आजका दिनसम्म मलाई कुनै पनि लक्षण देखिएको छैन। एउटा लक्षण त देखिनु पर्ने होइन र?’

अन्ततः उनी जेठ ८ गते अस्पतालबाट डिस्चार्ज भइन्।

अहिले पनि उनलाई शंका लाग्छ, कसरी संक्रमित भइयो। ४/५ दिनमै रिपोर्ट कसरी नेगेटिभ आयो? कतै नमूना परीक्षण गर्दा गलत त भएको होइन? ‘मलाई लाग्छ, कतै मेरो पहिलो रिपोर्ट पनि नेगेटिभ पो थियो कि? ३० गते पोजेटिभ रिपोर्ट आएको थियो। आजका दिनसम्म मलाई कुनै पनि लक्षण देखिएको छैन। एउटा लक्षण त देखिनु पर्ने होइन र?’

अहिले उनी आफ्नै घरमा १४ दिनका लागि सेल्फ क्वारेन्टाइनमा बसेकी छन्। त्यस पछि फेरि उनको नमूना परीक्षण हुने छ। परीक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो परिवारका सदस्यसँग घुलमिल हुन पाउनेछिन्।

संक्रमित भएपछि आफूले नयाँ अनुभव बटुलेको उनी बताउँछिन्।

तर यही समयमा आफ्नो परिवारबाट टाढा बस्नु परेको भन्दै उनले भनिन्, ‘१४ दिनपछि छोराछारीलाई काखमा राखेर अँगालोमा बाँध्न मन लागेको छ। एउटा बच्चाको आमालाई यो भन्दा अरु के चाहिन्छ र?’

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्