नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगञ्ज– वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत नौ जना कोरोना संक्रमित निको भएर शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका ७१ जना संक्रमित मध्ये ९ जना निको भएर डिस्चार्ज भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

डिस्चार्ज गरिएका ९ जनाको परीक्षण गर्दा लागातार दोस्रो रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको डा. सिंहले बताए। डिस्चार्ज हुनेहरुमा एक जना भारतीय नागरिक पनि रहेका छन्।

भारतीय नागरिकका साथै पर्सा वीरगञ्ज महानगरपालिकाका ३ जना पुरुष, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का र सिम्रौनगढ–१ का दुई जना पुरुष र रौतहट जिल्लाका तीन जना पुरुष रहेका छन्।

अब नारायणी अस्पतालमा बाँकी ६२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

शनिबार नारायणी अस्पतालबाट डिस्चार्ज गरिएका ९ जना मध्ये दुई जना फेरि भर्ना भएर दोस्रो पटक डिस्चार्ज भएका हुन्।

शनिबार डिस्चार्ज भएका भारतीय नागरिक र रौतहटका एक युवक यसअघि नै अस्पतालबाट डिस्चार्ज भएका थिए। तर निको भएर डिस्चार्ज भएका उनीहरुमा फेरि संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

‘भारतीय पुरुष र रौतहटका युवक दोस्रो पटक डिस्चार्ज भएका हुन्’, डाक्टर सिंहले भने, ‘उहाँहरु यसअघि पनि उपचारपछि निको भएर पुनः अस्पतालमा भर्ना हुनुभएको थियो।’

उनीहरु दुबैजनालाई यसअघि पहिलो पटक वैशाख १४ गते डिस्चार्ज गरिएको थियो। तर त्यसको एक हप्तापछि दुबै जनाको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्