एमसीसी सम्झौता अनुमोदन विवाद

कमजोरी महसुस भएको भन्दै आफैँले बोलाएको बैठकमा गएनन् ओली

काठमाडौँ- अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आफैँले अनुमोदन गरेको बैठकमा सन्चो नभएको भन्दै अनुपस्थित भएका छन्।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत अन्य शीर्ष नेताहरुले एमसीसीबारे छलफलका लागि शनिबार दिउँसो ४ बजे बैठक बोलाउन गरेको आग्रहलाई अनुमोदन गरेका ओलीले बैठक हुनुभन्दा केहीबेर अघि मात्रै आफूलाई सञ्चो नभएकाले बैठकमा उपस्थित नहुने जानकारी उनीहरुलाई गराएका थिए।

पार्टीको उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दाहाललाई फोन गरेर भनेका थिए, ‘बैठक त बोलाइयो। तर मलाई सन्चो भएन। कमजारी महसुस भयो। आराम गर्छु। तपाईहरु बालुवाटार आएर छलफल गर्दा राम्रै हुन्छ।’

ओली अनुपस्थित हुने भएपछि बैठकलाई अनौपचारिक भनिएको थियो।  बैठकमा प्रचण्डलगायत नेकपा सचिवायका सदस्यहरु, एमसीसी अध्ययन कार्यादलका सदस्य एवं भीम रावल र प्रदीप ज्ञवाली, नेकपाका प्रमुख सचेतक देव गुरुङ, लिलामणी पोखरेल, डा. विजय पौडेल, एमसीएका सीईओ, नेपाल विद्युत प्राधिकरणका सीईओलगायत सामेल भएका थिए।

छलफलका क्रममा उनीहरुले एमसीसी सम्झौतबारे आआफ्नो धारणा र अडान राखेका थिए। एमसीसी अध्ययन कार्यदलका संयोजक एवं नेकपा सचिवालयका सदस्य झलनाथ खनालले एमसीसी सम्झौता हालकै अवस्थामा संसदबाट अनुमोदन गर्दा राष्ट्रहित बिपरित हुने भन्दै त्यो सच्चिनु पर्ने आफ्नो अडान दोहोराएका थिए।

कार्यदलका सदस्य नेता रावलले पनि संयोजक खनालकै पक्षमा आफू रहेको भन्दै एमसीसी सम्झौता संशोधन गरेर मात्रै अनुमोदन गर्नुपर्नेमा जोड दिएका थिए।

तर सुरुदेखिनै फरक मतमा उभिएका कार्यदलका सदस्य एवं परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसी सम्झौत अनुमोदन गर्दा राष्ट्रलाई कुनै पनि क्षति नपुग्ने अडान दोहोराएका थिए।

स्रोतले भन्यो,‘आज छलफल भएपनि निर्णय नहुने भएकाले सबैले आआफ्नो अडान र धारणा राख्नु भयो। निर्णयका लागि अझै केही दिन लाग्ला।’

बैठकमा बजेटबारे छलफल गर्न बोलाइएका अर्थमन्त्री युवराज खतिवडाले बजेटको महत्वबारे केहीबेर जानकारी गराएका थिए।

झण्डै एक वर्षदेखि संसदमा विचाराधीन एमसीसी सम्झौता अनुमोदनका लागि प्रधानमन्त्री ओलीले आफ्ना दलका नेताहरुबीच लविङ तिब्र बनाएका बेला शनिबार नेकपाका अन्य शीर्ष नेता र सरोकारवाला व्यक्तिहरुले छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीले हालै संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जबाफ दिने क्रममा एमसीसी अनुमोदनको विकल्प नभएको सुनाएका थिए।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू