प्रदेश दुईमा १५३ जना कोरोना संक्रमितको उपचार हुँदै, प्रदेशभर एउटा मात्रै प्रयाेगशाला

जनकपकुरधाम– प्रदेश २ का विभिन्न स्थानमा अहिले १५३ जना कोरोना संक्रमति उपचाररत रहेका छन्।

प्रदेश २ मा कुल १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ११ जना उपचार पश्चात आफ्नो घर फर्केका छन् भने २ जना सुरक्षाकर्मीको उपचार काठमाडौँमा भइरहेको र पाँचजना यस प्रदेशका स्थायी वासिन्दा भएपनि उनीहरु अहिले काठमाडौँमा उपचाररत छन्।

उच्च जोखिमा रहेको प्रदेश २ मा अहिलेसम्म १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।

प्रदेशमा अहिले १ सय ५३ जना उपचाररत रहेकोमा सबैभन्दा बढी पर्सा जिल्लाको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचाररत छन्। यहाँ ६२ जना उपचाररत रहेकोमा ५३ जना पुरुष र ९ महिला छन्। त्यस्तै वीरगंजकै गण्डक अस्पतालको आइशोलेसनमा १९ पुरुष र ६ महिला गरी २५ जनाको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. घिमिरेले जानकारी दिए।

त्यस्तै धनुषास्थित प्रादेशिक अस्पतालमा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा २ महिला र २२ पुरुष गरी २४ जनाको उपचार भइरहेको छ। रौतहट जिल्लाको गौर नरसिङ इन्स्टिच्युटको आइशोलेसनमा १ महिला र १७ पुरुष गरी १८ जनाको उपचार भइरहेको छ।

त्यस्तै बाराको कलैया अस्पतालको आइशोलेशनमा १ महिला र ८ पुरुष गरी ९ जनाको उपचार भइरहेको छ भने सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा २ पुरुष र सिरहाको महेन्द्रगेनाई अस्पतालमा १ पुरुषको उपचार भइरहेको सचिव डा. घिमिरेले जानकारी दिए।

प्रदेशभर एउटा मात्रै प्रयोगशाला


कोरोनाको उच्च जोखिममा रहेको प्रदेश २ मा अहिले एउटा प्रयोगशाला सञ्चालनमा रहेको छ। अहिले यस प्रदेशमा पर्साको विरगंजस्थित नारायणी अस्पतालमा मात्र एउटा पिसिआर मेसिन सञ्चालनमा रहेको छ। जनकपुरधामको प्रादेशिक अस्पतालमा दुई पटक पिसिआर मेसिन जडान गरेतापनि गलत रिपोर्ट दिएपछि यहाँ जाँचको काम बन्द रहेको छ।

यता प्रदेश सरकारले जनकपुरधामको प्रादेशिक अस्पताल र सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको लागि दुई वटा रियल टाइम पिसिआर मेसिन ल्याएपनि अहिले जडानको काम जारी रहेको छ र दुई–तीन दिनपछि सञ्चालनमा आउने प्रदेश सरकारले जनाएको छ।

प्रदेश २ मा अहिलेसम्ममा कोरोना परीक्षणको लागि ७ हजार ९ सय ४५ जनाको स्वाब संकलन गरिएको छ। जसमा ५ हजार ५ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ७१ जनाको रिपोर्ट पोजेटिभ र बाँकीको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ।।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्