धमाधम फर्किँदैछन् भारतबाट, कोरोनाले फैलाउँदै छ ‘एरिया’

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाका १८ वर्षीय युवा जेठ ७ गते नेपालगञ्ज नाकाबाट भित्रिए । आएकै दिन उनलाई ज्वरो देखियो । भोलिपल्ट एम्बुलेन्समा हालेर नेपालगञ्ज ल्याइयो । परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो ।

ठूलोमध्येको राप्तीसोनारी गाउँपालिकामा कोरोना देखिने उनी पहिलो व्यक्ति हुन् । राप्ती सोनारीमा भारतबाट आएका एक सय ४० जना सात वटा क्वारेन्टाइनमा बसिरहेका छन् ।  खजुरा गाउँपालिका–५ मा हालसालै भारतबाट आएका व्यक्तिमा कोरोना पुष्टि भयो । खजुरामा एकजना स्वास्थ्यकर्मी पनि संक्रमित भइसकेकी छन् ।

यी दुई गाउँपालिकामा केही दिनयता कोरोना पोजिटिभ देखिएका छन् । बाँकेमा शुरुमा नेपालगञ्जमा २५ जना संक्रमित भेटिए । शुरुमा कोरोना देखिएका ६० वर्षीय व्यक्तिको सम्पर्कमा रहेकाहरु खोज्दै जादा २५ जना फेला परेका थिए । ती ६० वर्षीय बिरामी आफन्तीलाई भेटेर चैत्र १० गते नेपालगञ्ज आएका थिए । उनमा बैशाख १९ गते संक्रमण देखिएको थियो । यद्यपि, ६० वर्षीयसहित पहिला देखिएका २१ जना कोरोना जितेर फर्किसकेका छन् ।

बाँकेमा भारतबाट आएका व्यक्तिले कोरोना फैलाइरहेका छन् । नेपालगञ्जबाट देखिन शुरु गरेको कोरोना नरैनापुर, खजुरा हुँदै राप्तीसोनारी गाउँपालिकामा पुगिसकेको छ । जिल्लाको आठ वटा पालिकामध्येमा चार वटामा कोरोना देखिसकेको छ ।

भारतबाट फर्किनेको संख्या बढ्दै जादा कोरोनाले पनि आफ्नो ‘एरिया’ बढाइरहेको छ । भारतबाट हुलका हुल नेपाली फर्किरहदा गाउँगाउँमा कोरोनाको जोखिम बढेको छ । नेपालगञ्ज नाकामा आइपुगेका नेपालीलाई सम्बन्धित जिल्ला, पालिकाको गाडीमा पठाउने गरिएको छ । दुई/चार दिनको बिराएर नाकाबाट नेपालीलाई आउन दिंदा दुई हजार बढी भित्रिने गरेका छन् ।

नाकामा रहेको जमुनाहा प्रहरीका अनुसार, यही महिनामात्रै पाँच हजार बढी भित्रिसकेका छन् । सत्ताइस सय, आठ सय, उन्नाइस सय, शनिबार एक हजार बढी भित्रिएका छन् । नाकाबाट भित्रिनेलाई एक एक गरेर गन्न पनि छोडिएको छ । बसमा बसाउने र त्यसको सीट गन्ने गरिएको छ ।

जतिजति भारतबाट भित्रिएका नेपालीको संख्या बढ्दैछ, त्यति नै जिल्लामा कोरोना संक्रमित बढिरहेका छन् । लकडाउनले गर्दा भारतमा दुःख पाएर आएका नेपालीलाई भित्रिन नदिन पनि भएन । भित्रिन दिँदा कोरोना संक्रमण बढिरहेको छ ।

नरैनापुर अगाडि

बाँकेमा शनिबार २७ जना कोरोना संक्रमित बढे । उनीहरु केही दिनअघि मात्रै भारतबाट आएर तीन वटा क्वारेन्टाइनमा बसेका थिए । संक्रमित सबै नरैनापुर गाउँपालिकाका हुन् । योसँगै नरैनापुरमा कोरोना संक्रमितको संख्या एक सय १४ जना पुग्यो ।

नेपालगञ्जको भेरी अस्पतालमा चाप बढेपछि जेठ ७ गते दाङ पठाइएको दुई सय २६ वटा स्याम्पलमध्ये एक सय ७७ वटाको जाँच गर्दा २७ जना पोजिटिभ भेटिए । एक सय ५० को नेगेटिभ रिपोर्ट आयो । अब दाङ पठाइएको बाँकेको ७ गतेकोे ४९ र ८ गते पठाइएको १ सय २६ वटाको रिजल्ट आउन बाँकी रहेको छ ।

बाँकेको नरैनापुरमा कोरोनाको केन्द्रविन्दुजस्तै भएको छ । जिल्लामा दुई सय ४२ जनामा कोरोना देखिएको छ । त्यसमध्येमा २१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । अरु संक्रमित नेपालगञ्ज, खजुरा र राप्तीसोनारीका छन् ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्