कृषि क्षेत्रका समस्या समाधान गर्न मोरङका राजनीतिक दलहरुको माग

माेरङ– लकडाउनका कारण ठप्प रहेको बजारमा खाद्यान्न सम्बन्धित सबै उद्योग सञ्चालनमा ल्याउन मोरङका राजनीतिक दलहरुले माग गरेका छन्।

शनिबार विराटनगरस्थित नेपाली कांग्रेस मोरङको कार्यालयमा सत्तारुढ दल नेकपासहित, कांग्रेस, समाजवादी, राप्रपा नेपाल र राजपाबीच सम्पन्न बैठकले कृषिक्षेत्र तथा उत्पादनसँग सम्बन्धित समस्यालाई समाधान र व्यवस्थापन गर्न सरकारसँग माग गरेका हुन्।

जारी लकडाउनका कारण सो क्षेत्रमा समस्या परेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष दलहरुले माग गर्दै कृषि क्षेत्रको सहज सञ्चालन गर्न जोड दिए। बैठकमा दलले उत्पादित कृषिवस्तुको खरिद बिक्री र मूल्यको लागि पहल गर्न सरकारलाई सुझाव दिएका छन्।

बैठकपछि कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले खाद्यान्नसँग सम्बन्धित सबै उद्योग संचालन गर्ने प्रबन्ध गर्नुपर्ने, स्थानीय तहमा उत्पादित तकारीजन्य वस्तु उपभोक्तासम्म पुर्‍याउन र आयातलाई रोक्न आवश्यक पहल गर्नुपर्नेमा जाेड दिएको बताए।

सभापति लिम्बुले स्थानीय पालिकाहरुले आफ्नो पालिकालाई आवश्यक पर्ने मल, बीउ लगायतको व्यवस्था मिलाउन आग्रह गर्ने, सबै स्थानीय तहलाई आफ्नो पालिकाभित्र रहेका बाँझो जमिनलाई अनिवार्य बाली लगाउन कार्ययोजना बनाउन आग्रह गरिएको उल्लेख गरे।

त्यसैगरि बैठकमा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले विदेशमा रहेका परिवारका सदस्यहरुलाई घर फर्किने व्यवस्था मिलाउन स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश/स्थानीय सरकारमा आग्रह गरिएको बताए।

बैठकमा केही दिनदेखि विभिन्न स्थानमा सामाजिक सद्भाव बिगार्ने नियतले गरिएका प्रयत्नहरुलाई दलले नजिकबाट नियालिरहेको र यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दलले खेद व्यक्त गरेका छन्। सोही क्रममा दलहरुले संयुक्त रुपमा ईद पर्वको उपलक्ष्यमा मुस्लिम समुदायलाई शुभकामना दिएका छन्।

बैठकपछि दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बू, नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, राजपा नेपाल मोरङ अध्यक्ष मोहम्मद कादिर,समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव र राप्रपा नेपालका मोरङ अध्यक्ष माधव आचार्यले हस्ताक्षर गरेका छन्।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्