दी प्लेटफर्मस्: अहिलेको समयको कथा

सन् २०१९ को सेप्टेम्बरमा रिलिज भए पनि गत हप्ता ‘नेटफ्लिक्स’ मार्फत इन्टरनेटमा विश्वव्यापी रिलिज भएपछि स्पेनी सिनेमा ‘दी प्लेटफर्म’ ले धेरैको ध्यान तानेको छ।

‘दी प्लेटफर्म’ नेटफ्लिक्समा यस्तो बेला रिलिज भएको छ, जतिबेला विश्व कोरोना भाइरससँग जुझिरहेको छ। ‘द न्युयोर्क टाइम्स’ ले यसलाई ‘दुर्घटनाबस मिलेको संयोग’ भनेको छ। महामारीसँग जुध्न नेपाल लगायत विश्वका सबैजसो देशले लकडाउन गरेका छन्। पसल, कार्यालय, यातायात सबै बन्द गरेर मानिसहरुलाई एकअर्कासँग दुरी कायम राख्न घरभित्रै बस्न भनिएको छ।

कुनै औषधी पत्ता नलागेको यो रोगसँग लड्नलकडाउनलाई नै सर्वोत्तम उपाय मानिएको छ। यसरी मानिसले रोगसँग त ढिलो चाँडो विजय प्राप्त गर्ला तर यसले विश्वभरी नै दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन कष्टकर बनाउँदै गएका खबरहरु आइरहेका छन्।

‘दी प्लेटफर्म’ को कथा सयौं तला अग्लो एउटा जेलको कथा हो। हरेक तलामा एउटा मात्र सानो कोठा छ, जहाँ दुई जना कैदीलाई राखिएको छ । बीचमा एउटा ठुलो खाली ठाउँ छ, त्यहीँबाट कैदीहरु आफू भन्दा माथी र तल्लो तलाका मान्छेलाई देख्न र बोल्न सक्छन् तर उनीहरु बीच संवाद विरलै हुने गर्दछ।

प्रत्येक दिन केही समयको लागि त्यो खाली ठाउँमा खाना भरिएको एउटा ठूलो तख्ता आउँछ जसलाई ‘प्लेटफर्म’ भनिन्छ।

सबै भन्दा माथिल्लो तलाबाट प्रत्येक तलामा केही मिनेटको लागि रोकिदैं ‘प्लेटफर्म’ तल झर्छ। निश्चित समय भित्र माथिल्लो तलाका मान्छेले खान सक्ने जति खान्छन् अनि बचेको खाना क्रमशः तल झर्दै जान्छ। न कसैले खाना चोर्न सक्छ न लुकाउन नै। प्लेटफर्म जति तल जान्छ, खाना सकिंदै जान्छ। अनि सुरु हुन्छ खानाको लागी युद्ध।

तल्लो तलामा हुने कैदीहरु खान नपाएर एक अर्काको मासु सम्म खान्छन्। नियम अनुसार कैदीहरु प्रत्येक तलामा एक महिना सम्म रहनुपर्ने हुन्छ। महिना दिनपछि कि अझै तल झर्न सक्छन् वा माथी जान सक्छन्।

‘दी प्लेटफर्म’ नेटफ्लिक्समा यस्तो बेला रिलिज भएको छ, जतिबेला विश्व कोरोना भाइरससँग जुझिरहेको छ। ‘द न्युयोर्क टाइम्स’ ले यसलाई ‘दुर्घटनाबस मिलेको संयोग’ भनेको छ। महामारीसँग जुध्न नेपाल लगायत विश्वका सबैजसो देशले लकडाउन गरेका छन्। पसल, कार्यालय, यातायात सबै बन्द गरेर मानिसहरुलाई एकअर्कासँग दुरी कायम राख्न घरभित्रै बस्न भनिएको छ।

एक महिनामा तल्लो तलामा रहेको कैदी माथीकाले केही खाना छोड्लान् भन्ने आशामा हुन्छ तर ऊ आफै माथील्लो तलामा पुग्दा भने अरुको लागी नसोची चाहिने भन्दा बढी खान उद्धत हुने गर्छ। एउटा डिग्री पाउने शर्तमा ६ महिनाको लागि जेलमा स्वेच्छाले आएको नवयुवक ‘गोरेङ’ लेत्यो व्यवस्थाको अन्त्य गर्ने प्रयास गर्छ। भन्छ, ‘यदि सबै तलाका कैदीहरुले आफुलाई चाहिने जतिमात्र खाने हो भने ‘प्लेटफर्म’ मा सबैभन्दा तल्लो तलासम्मको कैदीलाई पुग्ने खाना हुन्छ।’

यो कुरा बुझेको गोरङले अरु कैदीलाई बुझाउन प्रयास गर्छ। तर ऊ भन्दा तलकाले माने पनि उ भन्दा माथीकाले आफुलाई चाहिए जतिमात्र खानेकुरा स्विकार्दैनन्। अर्को महिना १७२ औं तलामा झरेपछि १७१ औं तलाका कैदीहरुले चाहिने भन्दा बढी खाएकोले उनीहरुसम्म पुग्दा ‘प्लेटफर्म’ मा खाली भाँडा मात्र हुन्छन् अनि गोरेङलाई पहिले मित्रवत व्यवहार गरेको उसको रुम मेट ‘ट्रामागासी’ ले मारेर खान खोज्छ तर आफ्नी छोरी खोज्दै हिंडेकी ‘मिहारु’ ले माथिल्लो तलाबाट आएर ‘ट्रामागासी’ लाई मारि दिन्छे र उसको मासु खाएर ऊ र गोरेङ बाँच्न सफल हुन्छन्।

अर्को महिना छैटौं तलामा पुगेको ‘गोरेङ’ ले त्यहाँ आवश्यकता भन्दा बढी नखाने मात्रै होइन की नयाँ रुम मेट ‘बहारत’ सँग मिलेर प्लेटफर्ममा चढेर तल्लो तलासम्म पुग्ने र मान्छेहरुलाई आफ्नो आवश्यकता अनुसार मात्रै खानदिई सबैलाई समान रुपमा खाना वितरण गर्ने सल्लाह गर्छ ।

नेपाल पनि विगत ५५ दिन देखि बन्द छ। यो पढि रहँदा आफैलाई एउटा प्रश्न गर्नु होस त, देश ‘लकडाउन’ हुने भन्ने भएपछि कतिले आफुले प्रयोग गर्ने भन्दा बढी ग्याँस सिलिण्डर लिएर आयौं ?कतिले चामल, नुनतेल र अन्य खाद्यान्न सामग्री आफ्नो परिवारलाई चाहिने भन्दा बढी थुपार्यौ, आफुभन्दा पछि आउने व्यक्तिको आवश्यकता नहेरी स्यानिटाइजर र मास्क पाए जति किनेर कतिले लग्यौं? बजारमा माथि उल्लेखित सबै नभएपनि धेरै जसो सामानको अभाव हुन थालेबाट थाहा हुन्छ कि हामी मध्ये धेरैले आफ्नो आवश्यकता हेरेर हैन, साधन र स्रोतमा आफ्नो पहुँच अनुसार यी सामानहरु सकेसम्म बढी किनेर थुपार्यौं।

यो हाम्रो मात्र होइन, समग्र विश्वकै समस्या हो। महामारीको संकट बीच पश्चिमा मुलुकहरुमा ट्वाइलेट पेपरको अभाव यसै भएको हैन। अहिले केही प्रष्ट रुपमा देखिएको जस्तो लागे पनि यो समस्या वर्गीय हो र यो धेरै पहिले देखि हामी बीच रहि आएको थियो। के हामी यो अवस्थाबाट माथी उठ्न सक्छौं ? के हामीसँग भएका सिमित स्रोधसाधन र हाम्रो असिमित चाहनाहरु बीच सामञ्जस्यता कायम गर्दै समाजका तल्लो तहमा रहेको वर्गसम्म तिनको पहुँच स्थापित गर्न सक्छौरु समस्याको यो दलदलबाट निस्कने उपाय हिंसात्मक हुन जरुरी छ वा परिवर्तन आफसे आफ हुन्छ। ‘दी प्लेटफर्म’ ले जेलमा रहेका कैदी र तिनलाई ‘प्लेटफर्म’ मा राखेर दिइने खानाको बिम्ब प्रयोग गरी यी नै प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ।

(लेखक खनिया सामाजिक अभियन्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन्।)

जेष्ठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू