न्यूयोर्क टाइम्सको प्रथम पृष्ठमा कोभिड–१९ का १,००० मृत्यु सूचनाहरु

मानव जातिमाथिको अति खराब संकट कोरोना भाइरस महामारीको यो समयमा अमेरिकाको प्रमुख पत्रिका द न्यूयोर्क टाइम्सले आइतबारको आफ्नो प्रकाशनमा कोभिड–१९ बाट ज्यान गुमाएका अमेरिकीहरुको ‘मृत्यु सूचना’ प्रकाशित गरेको छ, त्यो पनि पहिलो पृष्ठमा।

कोरोना भाइरसको महामारीबाट विश्वमा सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख पुग्न थालेको छ। अहिलेसम्म अमेरिकामा कोभिड–१९ बाट अमेरिकामा ९७ हजार ८७ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ।

न्यूयोर्क टाइम्सको आइतबारको पहिलो पृष्ठमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको अमेरिकीको नाम तथा उनीहरु सम्बन्धी विशेष जानकारीहरु समेटिएको छ।

‘युएस डेथ निअर १००,०००, एन इनक्यालकुलेवल डेथ्स्’ हेडलाइन राखेर न्यूयोर्क टाइम्सले कोभिड–१९ बाट मृत्यु भएकाको नाम प्रकाशित गरेको हो। पत्रिकाले ‘दे वेर नट सिम्प्ली नेम्स अन अ लिस्ट, दे वेर अस’ सब हेडिङ्ग राखेको छ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न त्रासदी र पीडाको विविधताको सन्देश प्रेसित गर्नका लागि यस्तो निणर्य गरिएको पत्रिकाले जनाएको छ।

पत्रिकाले कोभिड–१९ बाट मृत्यु भएका मध्ये झण्डै एक हजारजनाको नाम तथा उनीहरुको विशेष पहिचान उल्लेख गरेको छ ।

सयौँ अमेरिकी पत्रपत्रिकामा प्रकाशित भएका कोभिड–१९ बाट ज्या गुमाएकाहरु सम्बन्धी जानकारी वा श्रद्धाञ्जली संकलन गरी त्यसबाट विशेष जानकारी समेटेर न्यूयोर्क टाइम्सले विशेष रुपमा प्रकाशन गरेको हो ।

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्