भगवान् यदि तँ छस् भने…

भगवान तँ छस् यदि भूगोलमा भने
मेरो छोरोलाई मेरो आँखामा बिझाइरहन दे
एक्लोपनमा मर्नुभन्दा उसको चिड्चिडाहट निको लाग्छ
म आँसु बगाइरहन्छु
उ झर्कियोस्
मेरो मन दुखाओस्
तर उसलाई ओझेल पार्ने वातावरण मेरो मृत्यु अघि नदे
अब बूढो आँतलाई कँपकँपाहटबाट जोगाइदे
लकडाउन भन्ने कुरा जारी राख।
सरकार तँ छस यदि भोकमा भने
मेरो भोकलाई बुझिदे
चुल्हो नबलेको मेरो सन्तानको पेट काटिएको कति भो
तेरो खाताबहीमा हिसाब अटाउँछ भने मलाई चितामा लडाइदे
नभए परिवारको मृत्यु मलाई नदेखा
खोलिदे कामको ढोका नत्र आँत झिकिदे
पसिनाले जलेको गन्धमा अत्तरको खुश्बु भेटिन्छ
चाँडो गरी यो बिश्रामको गोडा भाँचिदे
म सरिसृप प्राणी अब बन्न सक्दिन।
यदि म तिम्रो पुर्खाको खुन पसिनाले अर्ज्याको मुलुक हो भने
लिपुमा खनेको सडकमा दुईचार जगंबहादुर खडा गर
कालापानीमा तैनाथ सत्रु बल हटा
साँधमा पिलर गन्ती गर्नुभन्दा सुरक्षात्मक पर्खाल उठाइदे
कांग्रेस नभन, कम्युनिस्ट नबन
सक्छस नेपाली बन
सक्दैनस मेरो लागि प्राण त्यागेर हेर
तेरो सन्तानको लागि म इन्द्रको साम्राज्य भन्दा सुन्दर बन्नेछु।
-गौरादह -१ , झापा 
जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्